~डा. कपिलदेव लामिछाने~
बनारसमा पढ्दा ठूलो घरमा बस्थेँ । दसैँको अवसर थियो । घरमा बस्नेहरू घर गएका थिए । तेस्रो तलामा एक साधु बस्थे । भुइँ तलामा म । त्यत्रोमा जम्मा हामी दुई !
एक रात ! छतमा डङ्ङ कोही हाम फाले जस्तो लाग्यो । साधु कोठाबाट बरन्डामा निक्ले । उनको हातमा कठबाँसको लठ्ठी थियो । ठक्ठक् पारे ।
चर्को डाँकोले बोले – ए बालकृष्ण ! कठबाँस लिएर निक्ल ।
ए घनश्याम ! उठ !!
ए कन्हैया ! ए पहलमान । भरुवा ल्याओ ।
ए बहादुर । खुकुरी ले’र आऊ ।
ए बहादुर ! ए नेपाली ! जाग जाग ! जाग्नु पर्ने भयो ।
…….
हामी दुवै भेटियौँ । खासखुस गर्दै माथिल्लो तलामा पुग्यौँ । बाहिरका बत्ती बाल्यौँ । झ्यालका कापबाट हेर्यौँ । छतमा कोही थिएन । ध्यान दिएर सुन्यौँ । कुनै आवाज थिएन ।
पछि तल झ¥यौँ । भित्रपट्टिका बत्ती बाल्यौँ । बाहिरका निभायौँ ।
मैले भनेँ – यहाँ तपाईं र म मात्र छौँ । म बालकृष्ण, घनश्याम, कन्हैया, पहलमान, बहादुर, नेपाली यी कहाँबाट आए ?
उनले भनेँ – ट्रिक ! ट्रिक !! ती सबै तिमी नै हौ ! यति धेरैको नाम लिएर होहल्ला गरेपछि चोरको सातो गइहाल्यो र त भाग्यो । देखेनौ ? अकल बढी कि भैँस ?
भोलिपल्ट उज्यालोमा छतमा गएर हे¥यौँ । त्यहाँ बाँदरको बिष्टा थियो । अचारको भाँडो पल्टाइदिएछ मोराले ।
लेखकको ‘बोन्साइ’ लघुकथा सङ्ग्रह (२०६८) बाट
डा. कपिल लामिछाने,
भैरहवा ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )