~विनोद भण्डारी~
“आमा जाडो भयो।”
“ला यो ओड्” भनेर धनमायाले आफूले घाटीमा वेरेको पूरानो पछ्यौराले छोरालाई छोपिदिइन् ।
“कत्ति चिसो बढेकोरु” भन्दै उनले माटाले बनाएको चुलोमा केही स साना दाउरा झोसिन् अनि सलाइ कोरिन् । तर सलाइ कोरिएन । चिसोले सलाई पनि ओसिएछ क्यारे । एकछिन पछि मात्र कोरियो र चुलो सल्काइन् ।
“ल लाइज बावु आगो ताप”
एउटा पूरानो वोरामाथि ओछ्याइएको डस्नामा बसिराखेको छोरो उठेर अगेनु नजिकै आयो र ठुस्स बस्यो ।
“आमा हामीले पहिलेजस्तो घरमा कहिले बस्ने हो अब ?” हल्का काप्दै गरेको सात आठ वर्षको उनको छोराले भन्यो,
“खै बावु ! भुइचालाले भत्काइहाल्यो घर ।”
“अनि आमा मेरो बाबा कहिले आउनहुन्छ काठमाडौंवाट ?”
“आउनुहुन्छ बावु, छिट्टै” भन्दै धनमायाले छोराले नदेख्नेगरि आँशु पुछिन् ।
“के भयो आमा ?”
“केही होइन बावु, धुवाँले आँखा विझायो ।” उनले ढाटिन् ।
बास्तवमा उनका श्रीमान त्यही भुइँचालोले गर्दा वितेका थिए । तर आफ्नो छोरालाई काठमाडौ जानुभएकोछ भनेर ढाट्दै आएकी छन् । र छोराको लागि भएपनि बल्लतल्ल आफ्नो मन सम्हालेकी छन् ।
“आमा म फेरि स्कूल कहिलेदेखि जाने ?”
“तँ जाने हाम्रो गाउँको स्कूल त भत्किहाल्यो । अर्को गाउँको स्कूलमा जान टाढापर्छ । सरकारले अर्को महिनासम्ममा भत्केको स्कूलको लागि अरु कतै पढाउने व्यवस्था गर्छु भनेको पनि ६ महिना भन्दा धेरै भयो । खै हेरुम् ।”
आमाको कुरा बुझेजस्तो गरि उसले टाउको हल्लायो ।
“आमा भोक लाग्यो।”
“पख्, अब खाना बसाल्छु” भन्दै धनमायाले चामल पखाल्न थालिन् ।
गाउँ नजिकैको जंगलबाट ल्याएका केही दाउरा , माटो र ढुंगाले जसोतसो बनाएको झुप्रोको ढोकावाट चिसो बतास छिर्यो । धनमाया ढोका वाहिर निस्किइन् र पखालेको चामलको पानी बाहिर फालिन् । भित्र आउदा उनको जिउ लगलग कामेको छोरोले देख्यो ।
“आमा तपाईलाई जाडो भयो ?”
“अँ बावु जाडो छ वेसरी वाहिर” भन्दै ढोकाको चरवाट आइरहेको चिसो छेक्न आफ्ना केही पूराना फरिया ढोकावरिपरि झुल्लाइन् ।
“चामल पनि अर्को महिनालाई पुग्दैन होला !” धनमायाले मनमनै सोचिन् ।
“के गरेर बाँच्ने हो अब ,अझ यो जाडो के गरि काट्ने हो” लामो सासफेरिन् र कुक्करलाई चुलामाथि राखिन् । उनी उठेर लुगाफाटा मिलाउन थालिन् ।
त्यो झुप्रोको एक कुनामा रहेको केही ठाउँमा अलिअलि फाटेको कालो कम्मल छामिन् र भनिन्,
“ओहो एकापट्टी अलिअलि चिसै रहेछ, पूरा सुकेनछ ।”
“आमा सुत्दाखेरी त जाडो हुनेभयो तेसो भए ।” छोराले आमाको कुरा सुनेर भन्यो ।
“हुदैन तँ न्यानोतिरको भाग ओढ्लास्।”
“अनि तपाई ?”
“मलाई जसरी भएपनि हुन्छ ।”
त्यसपछि छोरो केही वोलेन। सायद उसले आमाले बोलेको कुराको अर्थ ठूलोभएपछि वुझ्नेछ ।
चिसो कम्मल आफूले आढेर भएपनि छोरो न्यानोगरि निदाओस्, अहो ! आमाको त्याग, कति महान् हुन्छन् आमाहरु !
छोरोले भित्तामा कोतरिएको भागहेर्दै आफ्नो पूरानो घर सम्झिदै भन्यो,
“आमा भुइचालो किन जान्छ ?”
“खै ?”
“भन्नुन”
“खै के थाहा मलाई, तँ पढेर ठूलो भएसी जान्लास्”
“तर आमा मेरो त अहिले स्कुलै बन्द छ, कहिलेदेखि पढ्न पाउछु मैंले ?”
“पाउलास् नि चाँडै, सरकारले नयाँ स्कूल बनाइदिएसी ।”
कुक्करमा सिठी लाग्यो । छोरोले अगेनुको आगो खेलाउन थाल्यो ।
“नचला आगो, चलाउनुहुन्न, पोल्छ । थुपुक्क बस् ।”
धनमायाले कुकर उतारिन् अनि कराइ बसालिन् र आलु काट्न थालिन् ।
“आमा मलाई ज्याकेट ल्याइदिनु न ।”
“तेरो सुइटर छदै छ नि ।”
“यो एउटा मात्र छ, त्यो नि कति पूरानो।”
“सरकारले जाडोको लागि कम्मल, डस्ना दिने भनेको छ भन्न त ! तलाई ज्याकेट पनि दिन्छ कि !”
“आमा सरकार भनेको को हो ?”
“देशका ठूला मान्छेहरु।।।”
“कत्ति जाडो भैसक्यो, किन अझै नदिएका हुन् है ? सरकारलाई जाडो हुदैन र आमा ?”
(स्रोत : ज्वाला अनलाईन)