~अमृत शर्मा ‘ढकाल’~
व्यवस्थाको घामले पखाल्न नसकेको एउटा गहिरो रात भोग्नु
जस्तो रहेछ अरुको सपना अपनाउनु पनि
सौताको घरमा सुत्केरी बनेर छोरा जन्माउनु
जस्तो आफ्नै आधा आङ खाएर डकार्ने
बाघको बहादुरीमा ताली पिटनु जस्तो
बारीमा उम्रदै गरेको दुई पाते
पसिना बगाएर भोको पारिजाने बाढीको यौवन गाउनु
जस्तो मलाई यो कविता निक्कै अप्ठयारो लाग्छ सर !
नैसर्गिक कमैया बनाइएका मेरा मामा
बाउन्ने सर्पहरुको खटिया बुनेर कम्दा कुरिरहेका हुन्थे
खलिहानमा कौडा फुराउँदै फुला जति पर्वतीया रजुवालाई
ठेटना जति मालिकको भैंसालाई बचेको कुनाउडोको
खरानी रङ मेरो अनुहारमा पोतेर
भेगुवाको टुप्पो कन्ननी भित्र घुसार्दै उठने
मेरा मामा ‘घोडामा चढेर’
मलाई भेटन आएको परदेशी कविता
म कसरी पढुँ ?
आफ्नै छोराको हातमा भरी
दधदानी पानी थमाएर
मालिकको लैनो भैसीलाई
छिटुवाका छिटुवा घाँस काटनु पर्ने
मेरी बोग्रै माइजले च्यातिएको लेहेङ
गाको अनुहार तुन्नसम्म
नभ्याएको साक्षी यिनै आँखा छन ।
लर्चाको फल सुकेजस्तो सुक्दै गएको
छाती रसाउन घोंघीं र गङगेटाको तलासमा ्
हेल्का र ढडिया नछाडने मेरी माइज
डोलीमा एक ‘सोली काफल’ ल्याएर आएको
तेजाबी लय म कसोरी गाउँ ?
माफ रहोस सर,
मेरो नेपाली किताब मेरो रहेन !
– बर्दिया ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका अङ्क ३९ गद्यकविता ३)