~लक्ष्मी प्रसाद देवकोटा~
क.
थलथल माछो नृसिंह जाग्छ !
वानस्पत अणु मङ्गल माग्छ !
बानर एउटा चन्द्रमा ताक्छ !
अहो ! मलाई ताजूब लाग्छ !
ख.
मृतकणी औ किरणको शादी,
थियो अगाडि !
एक प्यारको स्पन्दन जाग्छ !
कस्तो त्यसको सन्तति अगणित,
दुनियाँ ढाक्छ !
माछो, कछुवा, वराह, वामन !
इतिहास लाग्छ !
अहो ! मलाई ताजूब लाग्छ !
ग.
कोही अदुभुत मिरमिर सिँढीमा
ढीलो सुस्त,
चढिरहेको जस्तो लाग्छ !
अस्ति आजको अन्तर देखी,
चमत्कार नै निहुरी भाग्छ !
भोलि कल्पन हुन्छ असम्भव,
क्षितिज किनारा पर, पर लाग्छ !
अहो ! मलाई ताजूब लाग्छ !
घ.
अङ्ग पल्हायो, अङ्ग बिलायो !
छैटौँ इन्द्रिय यसको क्या हो ?
किरणकणीले आत्मा बेह्री
मासुरङ्गको, पृथिवीको क्या !
पोशाक लगायो !
जल, थल, नभको विजयी बन्न
मन्त्रदान के यसले पायो ?
कालकर नै पक्री गिज्यायो !
मृत्यु छिचोली हेर्ने ताक छ !
अहो ! मलाई ताजूब लाग्छ !
ङ.
आफ्नै वेगले हार, गुहारमा,
पुच्छ्रे तारो यो आकाश–किनारमा !
परमाणु फुटाई आफ्नै, निभ्छ कि ?
आफ्नै किरणले, आफ्नै घरमा ?
राम बालक छ, रावण जाग्छ,
कैलाश हिलाई शक्ति नै माग्छ !
कसले जित्दछ ? कसले राज्छ ?
यस लङ्कामा भीषण भाग छ !
अहो ! मलाई ताजूब लाग्छ !
च.
खण्डहरहरुको सपना देख्दछु !
माकुरोको जेहेनी जाली !
कमिला गजबका शहर बनाउँछन्,
प्रबन्ध निकाली !
भीर पुगेका बस्तु देख्दछु,
कोही डाक्छ !
तर्सी उठ्दछु झट्ट कहाली !
सातो भाग्छ
अहो ! मलाई ताजूब लाग्छ !
छ.
कुन होला त्यो, तारा–जङ्गल
—फूलको धागो, जसले गाँस्छ !
रातभर कहिले सुत्दिन, साथी !
त्यो धागोको छेउ भेट्टाई,
तानूँ तानूँ जस्तो लाग्छ !
मुटुभन्दा झन् गिदी पो दगु¥यो !
यसमा अभाग छ !
मन्त्रले आँधी हान्ने ढुक्कुर,
पक्रूँ भन्दा किन पर भाग्छ !
खलबल मन भो, निद्रा नलाग्छ !
शङ्का, आशा किन यति जाग्छ ?
अहो ! मलाई ताजूब लाग्छ ?
ज.
चन्द्रमाले यो जाति
माथि डाक्छ ?
मङ्गलमा के नव आबादी
यसको लाग्छ ?
बन्ला हृदय कि ? सीमा नाघ्छ ?
अहो ! मलाई ताजूब लाग्छ !