~सुषमा मानन्धर~
चिडियाखानामा नयाँ जीव ल्याइएको थियो । त्यसैले होला, हेर्नेहरुको निकै भीड थियो । कोलाहलपूर्ण वातावरणभित्र उपस्थित सबैमा कौतूहल चुलिइसकेको थियो तर पिँजडामा पर्दा लगाइएकोले कस्तो जीव ल्याइएको भन्ने बारे भने सबै अनभिज्ञ नै थिए ।
पिँजडा अगाडिको भीड बढदै थियो । पूर्व निर्धारित समय नाघिसकेकोले सबैको धैर्य टुटदै थियो । बाँदर कराउँदै ताली पिटन थाल्यो । हात्ती लामा र ठूला कान हम्कँदै अधैर्य हुँदै थियो । कुकुरले भुक्यो, ‘हैन, कति बेला उदघाटन गरेर पर्दा उघार्ने हो ? सबैलाई हतार भैसक्यो ।’ रुखमाथि बसेको लाटो कोसेरोले टाउको घुमाउँदै तिनलाई आश्वस्त पा¥यो, ‘हल्ला गरेर कृपया पशुहरुको जस्तो चरित्र नदेखाउनु होला । नआत्तिनुस्, आज पक्कै अनौठो जीव ल्याइएको हुनुपर्छ ।’ नभन्दै तिनको बोली सकिन पाएको थिएन, आयोजकले सबैलाई शान्त रहन अनुरोध गर्दै पिँजडाको पर्दा उघारे ।
भित्र एउटा मोटोघाटो मान्छे उभिएको थियो । तिनको नाक सुगाको झैं घोप्टे र तीखो थियो । आँखा कागका झैं तीक्ष्ण भेदने खालका थिए । घाँटी सारसका झैं लामा थिए । भुँडी हात्तीका झैं ठूला तर बुद्धि भने गधाको जति पनि थिएन । ू
पिँजडाभित्रको मान्छे देख्ने बित्तिकै सबै जीवजन्तु निरास भए । उनीहरु आ–आफमा कुरा गर्दै फर्कन थाले, ‘हात्ती आयो, हात्ती आयो, फुस्सा । के के न कस्तो फरक खालको जीव होला भन्ठानेको त, हामीभन्दा पनि गए गुज्रेको जनावर रहेछ । पर्खुञ्जेलको व्यर्थ, समय मात्र बर्बाद भो ।’
भोलिपल्ट सबै जनावरहरुले चिडियाखानामा एउटा सामहिक निवेदन दिए,‘जनावरमा जत्तिको पनि दया करुणा नभएको र अझ निकृष्ट त्यस जीवलाई चिडियाखानामा राख्दा अरुमा नकारात्मक प्रभाव पर्न सक्ने हुँदा त्यसलाई चाँडोभन्दा चाँडो चिडियाखानाबाट निकालियोस ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका वर्ष–६ पूर्णङक–२५ २०७० असार–साउन – लघुकथा बिशेष)