~चण्डी सुवेदी~
“यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर …..ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ – कुर्चीमा निदाइरहेको निमेश अचानक ब्युझियों।
खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो। घण्टौको उडान पछि ऊ पुग्यो पनि मस्को।
सान्द्रा उसलाई लिन आएकी थिई।
“ कस्तो रहयो निमेश जी तपाईंको उडान “ – सान्द्राले गाडीको ऐनामा कपाल मिलाउदै थिई।
“ लामो उडान , म धेरै समय निदाए पनि” – निमेश चश्मा मिलाउँदै उत्तर दियो।
“आज होटेलमा रेस्ट गर्नु , भोलि हाम्रो सेमिनार छ , बेलुका स्वागत पार्टी छ नि “ – सान्द्राले हाँस्दै भनी।
“हवस्” – निमेशको सानो स्वरमा उत्तर दियो।
भोलि भयो।
“आज हामी फिगर स्केटिंग को नयाँ नियमको बारेमा यो सेमिनार तयार गरेका छौ “ – दिउसै देखि भोड्का खाएको जस्तो एउटा जुंगेले ठूलो स्वरले सेमिनार उद्घाटन गर्यो।
“ फिगर स्केटिंगमा ट्रिपल जम्प गर्न तिम्रो देशमा कसरी सिकाइन्छ निमेश ?” – बिहान देखि तीनचोटि ट्रिपल जम्प गरेर आएकी जस्ती एउटी लिखुरीले सोधी।
“ अँ हामीले रसियाबाट केही प्रशिक्षक मगाउने विचार गरेका छौं “ – ट्रिपल जम्पको बारेमा केही थाहा नभएको निमेशले रातो हुँदै जवाफ दियो।
*** *** ****
बेलुकाको स्वागत पार्टी।
“हेलो निमेश , पिउँदै छौ ? – टिल परेर आएको एउटा नर्वेयिनले ले निमेशको गिलासमा भोड्का थप्यो।
“ स्काई जन्पिङ्गमा तिम्रो देशका खेलाडीले कति सम्म कटाउन सक्छन् ?“ – क्यानडाको माइकलले उत्सुकताको साथ साथ निमेशलाई प्रश्न गर्यो।
“आल्पाइन स्किंग मा त्यो अन्नपूर्ण हिमाल ठीक छ जस्तो छ नि , वर्षमा कतिवटा इवेन्ट हुन्छ? “ – एउटी कोरियन प्रशिक्षक जस्ती आएर फेरि कटाक्ष प्रश्न गरी उसलाई ।
“एकछिन है “ – निमेशलाई अलि भाउन्न भयो। यति हीनताबोध कहिल्यै भएको थिएन , निमेश सोफामा पल्टियो। एकछिन मै निदायो।
*** *** ***
“ ओइ निमे, आइजा बिसौनीको चौतारीमा बाघचाल खेलौं “ – सपनामा निमेशले तारुलाई देख्यो।
“ हुन्छ नि, तैंले बाघ नै लि है “ – निमेशले हर्केले चौतारीको ठूलो ढुंगामा कोरेको बाघचाल खेल्ने बोड पुछ्यो।
दुबैजना बाघचाल खेल्दै थिए , अचानक आकाशमा जहाज उडेको देखियो।
“ तारु तलाई थाहा छ , त्यो जहाज कहाँ जान्छ ? “ – निमेशले सोध्यो।
“ विदेश जान्छ विदेश “ – उमेरले पनि अलि बढी, तारुले जानेकी, उत्तर दिई।
“विदेश भनेको कहाँ हो ? “ – निमेश बाख्राको गोट्टी लिएर सोध्यो।
“अर्कैको देश “ – जवाफ दिई तारुले बाघचालमा अर्को बाख्रा पनि च्याप पार्दै खेलमा ।
यत्तिकैमा “ए निमे छिटो घर आइजा “ – हजुरआमाले डाँडामाथिबाट चिच्चाएको बेसीको चौतारीसम्म सुनियो।
“एकछिन खेल्न पनि दिन्नन् बुडी “ – निमेश थन्थनाउँदै लाग्यो घरतिर।
“ हजुरआमा, तारुले भनेको विदेश भनेको अर्काको देश रे “ – निमेशले भात पस्कदै गरेकी हजुरआमालाई सोध्यो।
“ हो त पराईको देशलाई विदेश भन्छन् “ – हजुरआमा।
“ अनि हाम्रो देश नि “ – निमेशको बालसुलभ प्रश्न थियो।
“ यही त हाम्रो देश “ – हजुरआमा।
“यही भन्नाले के “ – निमेशको प्रश्न लगातार थियो।
“यही भन्नाले हाम्रो घर , बिसौनाको चौतारी , हजुरआमा , बाबा आमा , तारु , हर्के , टारी खेत , मालीगाई सप्पै
हाम्रो देश हो के “ – हजुरआमाले बुझ्ने गरी भनिन्।
*** *** ***
“ मिस्टर निमेश , जाने होइन, तपाईं त निदाउनु भएछ “ – सान्द्राले निमेशलाई उठाई।
“ अहो कस्तो निदाएछु “ – निमेश सान्द्रासँगै हतारिदै निस्क्यो।
“ल म तपाईंलाई होटेलसम्म पुर्याउछु” – सान्द्राले भनी।
गाडीमा निमेशले अघिको सपना सम्झ्यो , हजुरआमा , तारु, हर्के, मालीगाई।
गोजीमा छाम्यो , हरियो नेपाली पासपोर्ट रहेछ र सम्झ्यो – मेरो देश, मेरो गाउँ , मेरो बिसौनीको चौतारी।
पासपोर्टलाई सुमसुमायो र एकचोटि चुम्यो , निमेशलाई भक्कानो छुटेर आयो।
“म अर्को वर्षको हिउँदे ओलम्पिकमा नेपाली खेलाडीलाई जिताएर छोड्ने छु , फिगर स्केटिंगमा। मेरो गाउँ मेरो देश
पनि के कम छ र” -निमेशले गाडीभित्र आँशु पुछ्दै मनमनै संकल्प गर्यो।
“ ल तपाईको होटल आयो नि , अरे तपाईंका आँखा त भिजेका छन् नि “ – सान्द्रा आश्चर्य मान्दै थिई।
“ अँ , अलि बढी भोड्का खाएछु , अल्कोहलले मलाई त आँशु आउँछ “ – निमेश लजाउँदै भन्यो।
सान्द्राको गाडीबाट ऊ ओर्ल्यो र हातको पासपोर्ट कोटको भित्री खल्तीमा राख्यो।
खै किन हो कुन्नि, मस्कोको त्यो ठिहिराउने जाडोमा पनि पासपोर्ट कोटको भित्र राखेपछि ,
उसलाई त्यो कोट सदाभन्दा आज अलि बढी न्यानो लागेर आयो।
*** *** ***
-चण्डी सुवेदी
टोकियो
(स्रोत : रचनाकारको ब्लगबाट सभार)