कथा : छठ

~श्याम साह~Shyam Shah

यसपटकको छठमा ऊ आफैं व्रत बस्ने कुरा गर्‍यो तर धेरैले पत्याएनन् । सुरुमा त उसकी स्वास्नीले नै पत्याइनन् । जसका लागि उसले छठको व्रत आफैं बस्न खोजेको थियो, उनैले नपत्याइदिएपछि उसलाई झोँक पनि नचलेको होइन । तर, भर्खरै अल्सरको अप्रेसन गरेकी स्वास्नीमाथि झोँक झार्नु पनि त भएन ।

हुन त ऊ त्यस्तो धर्मकर्म गर्ने धार्मिक प्रवृत्तिको मान्छे होइन । क्याम्पस पढ्दा वामपन्थी राजनीति नै गरेको हो, जहाँ धर्मकर्म पाखण्ड नै लाग्ने गथ्र्यो उसलाई । अहिले शिक्षक हुँदा पनि ऊ एउटा वामपन्थी पार्टीको शिक्षक संगठनसँग अझै आबद्ध छ । अहिले पनि उसलाई धर्मकर्म पाखण्ड नै लाग्छ । तर, उसले यो पर्वलाई अलि फरक ढंगले हेर्ने गरेको छ ।

छठ अहिले उसका लागि फगत पर्वमात्र नभएर उसका केटकेटीको रहर पनि भएको छ । जब ऊ आफ्ना केटाकेटीको अनुहार हेथ्र्यो, उसलाई आफ्नो बाल्यकाल सम्झना हुन्थ्यो । उसकी आमा व्रत बस्नुहुन्थ्यो, ऊ कति उत्साहित हुन्थ्यो । दसैंदेखि नै दीपावली र छठ आउने दिन गनेर बस्थ्यो । खरनाको खीर खान होस् या छठको साँझ, पूजासामग्री बोकेर पोखरी जान खुबै उत्साहित हुन्थ्यो ऊ ।

माटोको हात्ती बोक्ने जिम्मा उसको हुन्थ्यो । पारनको दिन झनै विशेष हुन्थ्यो । छठका लागि बनाइएका सबै कुरा खाने दिन हुन्थ्यो त्यो । जसको घरमा गए पनि नखाई हुँदैनथ्यो । सबैभन्दा विशेष, दुई दिनको उपवासपछि आमा पनि खानुहुन्थ्यो त्यो दिन ।

स्वास्नीलाई अल्सरको अपरेसन गरेर घर ल्याउँदा दसैं सुरु भइसकेको थियो । खै कसले भनेको थियो छोरीलाई कि उसकी आमा यसपटक व्रत बस्न सक्दिनन् । छोरी मायालाग्दो अनुहार बनाएर उसको सामु आएकी थिई र सोधेकी थिई-

‘पापा, यसपटक हाम्रो छठ हुँदैन हो ? …’
केही बोल्न सकेको थिएन उसले । यसपटक त उसकी स्वास्नीले चाहँदा पनि व्रत बस्न दिने वाला थिएन उसले । र, ऊ आफँं व्रत बस्ने कुराको कल्पनासमेत गरेको थिएन ।

पछिल्लोपटक ऊ हाट कहिले गएको थियो, सम्झना थिएन उसलाई । हाट गएको आधा घन्टामा आजित भएको थियो । होहल्ला, धुलो त्यसमाथि प्रत्येक समान किन्दा गर्नुपर्ने मोलमोलाइ । यी सबै कुराले उसलाई यहाँ कहिल्यै नआउनु परोस् भन्ने लाग्न थालेको थियो ।

जब छठ पर्वलाई ऊ विश्लेषण गथ्र्यो सिंगो वर्णव्यवस्था, मान्यता तथा पर्वबीच अजीव प्रकारको विरोधाभास पाउँथ्यो । वर्णव्यवस्थाले सबैभन्दा पिँधमा धकेलेको जात, डोम जातिका मानिसहरूले बनाएका बाँसका सामानहरू- ढाकी, नाङ्लो, कोनिया आदिको प्रयोग सबैभन्दा पवित्र पर्वमा हुन्थ्यो ।

कुमालहरूले बनाएका माटाका भाँडाहरू प्रयोग गरिन्थ्यो । पितृसत्तामा दुर्बल मानिने आइमाईहरूले दुई दिनसम्म भोकै बसेर पुरुषको लामो आयुको कामना गरिदिनुपथ्र्यो । हुन त उसलाई भोकै बसेर पर्व मनाउने कुरा कहिल्यै राम्रो लागेन ।

तर, छठ उसलाई एउटा पवित्र ग्रामीण तथा कृषि पर्व लाग्थ्यो । त्यसमा राखेर चढाइने सामान गाउँघरमै उत्पादन भएका हुन्थे । उखु, उखुको रसबाट बनाइने गुँर, खीर ठेकुवा आदि सबै सामान स्थानीय उत्पादनबाट बनेका नै हुन्थे । फलफूलहरू- केरा, भोगटे, नारिवलदेखि अदुवा, बेसार मूला आदिका झार प्रयोग गरिन्थे । त्यसैले उसलाई यो विशेष कृषि पर्व लाग्थ्यो ।

सबैभन्दा पहिले उसले स्वास्नीलाई नै भन्यो । एक क्षण त उनले पत्याइनन् । त्यसपछि बडो मायालु आँखाले उसलाई हेरिन् र उसको अँगालोमा लाडिँदै भनिन्-
‘सक्नुहुन्छ र दुई दिनसम्म भोकै बस्न ? अरू पर्वजस्तो होइन नि ? यसमा त खरनापछि पानीसमेत खान पाउनुहुन्न ।’

‘यतिका वर्षसम्म पेटमा ग्यास्टिक पालेर तिमीले त सक्यौ । मैले किन सक्तिनँ ? ’
‘हाम्रो र तपाईंमा धेरै फरक छ ।’

‘फरक त छ नि । फरक भएर त हो लोग्नेस्वास्नी भएको ।’

अँगालोमा उसकी स्वास्नी खितखिताएर हाँसिन् । त्यो हाँसोले उसलाई स्वास्नीको झन् माया लागेर आयो ।
‘कति दुःख सहेर यिनले हाम्रो अनुहारमा खुसी ल्याउँथिन् । एकपटक सहुँ न त म पनि ।…’

उसले आफैंले आफैंलाई भन्यो ।

छठका लागि चाहिने प्रत्येक सामान किन्न स्वास्नीसँगै ऊ आफैं पनि गयो । पछिल्लोपटक ऊ हाट कहिले गएको थियो भन्ने सम्झना पनि थिएन उसलाई । हाट गएको आधा घन्टामा आजित भएको थियो । होहल्ला र धुलो । त्यसमाथि प्रत्येक समान किन्दा गर्नुपर्ने मोलमोलाइ । यी सबै कुराले उसलाई यहाँ कहिल्यै नआउनु परोस् भन्ने लाग्न थालेको थियो । पहिले त उसलाई हाट भनेको यसो गएर, चाहिने सामान किनेर ल्याइहाल्नुबाहेक अरू केही लाग्दैनथ्यो । साँझसम्म बल्लबल्ल सबै समान जुटाउन सकेका थिए उनीहरूले ।

छठ सुरु हुनुभन्दा अघिल्लो रात उनले खानामा दाल, भात, तरकारीसँगै थुप्रै तरुवा बनाएकी थिइन् । अरू बेला ऊ राति रोटी नै खान्थ्यो । आज खाना खाने बेलामा प्रश्नसूचक आँखा उसले लिएर स्वास्नीतिर हेर्‍यो ।

‘जति खानु छ आजै खाइहाल्नु । अब यस्तो खान पाउने एकैपटक निकोर्सिमात्र हो । पानी पनि एक पटकलाई भोलि साँझ हो खान पाउने ।…’
‘यस्तो मीठो ख्वाएर मलाई तर्साउन खोजेको ? तिमी आफ्नो बेलामा खै त यसरी कहिल्यै खाएनौ ? ’

‘अब हाम्रो र तपाईंमा फरक छ नि । यसै पनि तपाईं पहिलोपटक व्रत बस्दै हुनुहुन्छ, त्यो पनि एकैपटक छठमा ।…’
‘फरक भएरै त तिमी र म लोग्नेस्वास्नी भएको । कति एउटै कुरा गरेको ? ’

ऊ झक्र्यो । तर, उनी भने खितखिताएर हाँसिन् । उनको हाँसोले नै उसको सारा झर्को गायब भयो ।

बिहान उठ्नेबित्तिकै उसलाई चियाको तलतल लाग्यो । अरू बेला त मुख धुनेबित्तिकै चिया उसको अगाडि आइपुग्थ्यो । तर, त्यस दिन बिहान नुहाइसकेर बसे पनि चिया आएन । अनिमात्रै उसले बुझ्यो, चिया पनि खान पाइन्न भनेर । जसै बाहिर निस्कन खोज्यो, उसकी स्वास्नीले भनिहालिन्,
‘बाहिर जाँदै हुनुहुन्छ ? झुक्किएर चिया पनि नखानुहोला नि ? …’

‘थाहा छ हौ, थाहा छ ।’ ऊ अरू कुरा नसुनी हिँड्यो । चोकको चिया पसलमा भीडभाड थियो । ऊ त्यहाँ पुग्नेबित्तिकै साउजीले उसको हातमा चियाको गिलास थमाइदियो । एक क्षण त उसलाई खाइदिऊँ कि जस्तो पनि लाग्यो । फेरि उसले स्वास्नीले भनेको सम्झ्यो ।
‘भगवान्को विश्वासभन्दा पनि स्वास्नीको पो विश्वासको कुरा छ ।’
उसले मनमनै भन्यो ।

‘इ चाय ल जा ।’ उसले होटलको साउलाई भन्यो ।
‘कैला मास्टर साहब ? ’
‘हम सहल छियै ।’

होटलको साउ झस्क्यो । होटलमा भएका अरूले पनि उसलाई हेर्न थाले । अरू धेरैले कुरा गर्न खोजेर हैरान पार्न सक्थे, त्यसैले ऊ त्यहाँ बसेन । पत्रिका पसलबाट पत्रिका लिएर सीधै घरतिर लाग्यो । घर पुग्दा स्वास्नीले ऊतिर हेरिन् । ऊ फिस्स हाँसेर आफ्नो कोठाभित्र पस्यो ।

अरू दिनभन्दा चाँडै भोक लाग्यो उसलाई । उसैको अगाडि छोरा, छोरी र स्वास्नीले खाना खाँदा उसको भोक झन् बढेर आयो । तर, उसले एकोहोरो आँखा टीभीतिरै राख्यो । ध्यानजति खानातिर नलगूँ भन्दा पनि त्यतै केन्द्रित हुन थाल्यो । पहिलो दिनमै यस्तो हालत छ, झन् भोलि पूरै दिन र रात बाँकी नै छ । ऊ मनमनै आफ्नो अवस्था देखेर हाँस्यो ।

साँझ खीर बनाइसकेपछि उसलाई बोलाइयो । त्यति बेलासम्म उसका आँखा भोकले लोलाइसकेका थिए । अझ भोकभन्दा बढी प्यासले सताइरहेको थियो । ऊ विस्तारै पूजाकोठामा गयो । एउटा कुनामा पखालेर सफा गरेको केराको पात ओछ्याइएको थियो । स्वास्नीले त्यहाँ दुई ठाउँमा खीर, पाकेको केरा, चिनीको लड्डु राखेर न्योज बनाइन् अनि उसलाई पूजा गर्न भनिन् ।

उसले त्यहाँ राखिएको तामाको लोटाबाट पानी अञ्जुलीमा लिँदै न्योजको चारैतिर छक्र्यो । त्यसपछि अगरबत्ती देखायो, त्यहीँ राखिएको केरामा गाड्यो र ढोगेर उठ्यो । यो सबैको कुराको निर्देशन उसको स्वास्नीले नै गरिरहेकी थिइन् । त्यसपछि उसका छोरा छोरी दुवैले ढोगे । न्योजमा राखिएको खीर र केराहरू सबैले प्रसादका रूपमा बाँडेर खाए ।

गुँर हालेर बनाएको खीर उसको घाँटीबाट तल झरेन । खीर खान सकोस् भनेर स्वास्नीले उसका लागि नुन नहालेको तोरीको साग पनि भुटेकी थिइन् । तर, नुन नहालेको साग उसलाई झन् रुचेन । त्यसपछि उसले केवल फलफूल र दूधमात्र खायो । सुत्ने बेलामा चिया खायो ।

‘अहिले खीर नखानु, बिहानै भोक लाग्छ अनि थाहा पाउनुहोला ।’राति सुत्ने बेलामा स्वास्नीले उसलाई चेतावनीकै भाषामा भनिन् । हुन त उसलाई पनि थाहा थियो, फलफूलले उसको शरीरलाई चाहिनेजति शक्ति दिए पनि चामलको खीर वा भात जसरी भोक मेट्ने काम गर्दैन । तर, रुच्दै नरुचेपछि उसले के नै गर्न सक्थ्यो ? तर पानी भने उसले सुत्नुअघि तीन, चारपटक सम्म खायो । अब एकैपटक पर्सिमात्र हो उसले पानी पनि पिउन पाउने । उसलाई सम्झँदा पनि अत्यास लाग्न थालेको थियो ।

बिहान चाँडै निद्रा खुले पनि ऊ ओछ्यानबाट उठेन । त्यस दिन बिहान सबेरैदेखि नै छठका लागि चाहिने खानेकुरा बनाउन सबैै लागेका थिए । बाहिर निस्केर आउन मन भए पनि अरूले प्रश्न सोधेर हैरान पार्ने भएर निस्केन । पत्रिका ल्याउन छोरालाई नै पठायो । भोकले बेलाबेलामा अमिलो डकार आउन खोज्थ्यो । प्यासले गर्दा विस्तारै उसको जीउ शिथिल भइरहेको थियो । दिनभरि टीभी नै हेरेर बस्यो ।

४ बजेसम्म सबैजना सामग्री तयार गरेर पोखरी जान तयार भइसकेका थिए । छरछिमेककाहरू जम्मा भएर एकैपटक सबै पूजासामग्री बोकेर पोखरीतिर लाग्ने गर्थे । थुप्रै भएको थियो छठमा ऊ पोखरी नगएको । पहिला यसो अँध्यारो भएपछि निस्कन्थ्यो । पोखरीमा घाट पनि छोरा र छोरी दुवै गएर बनाएका थिए ।

यसपटक त झन् टोलका केटाहरू मिलेर पैसा उठाएका थिए । त्यही पैसाले उनीहरूले पोखरीमा ध्वजापताका लगाएर झलमल हुने गरी बत्तीको व्यवस्था गरेका थिए । त्यसका लागि जेनेरेटरसमेत भाडामा ल्याएका थिए । राति बसेर रुँघ्नुपर्छ भनेर भिडियोसमेत भाडामा ल्याएका थिए ।

पोखरी पुग्दा भीडभाड भइसकेको थियो । निकै राम्ररी सजाएका थिए उनीहरूले पोखरी । दिउँसै भए पनि बत्तीहरू बल्न थालेका थिए । पोखरीको किनारा केराको बोटले सजाइएको थियो । पोखरीमा पातसहित उखु गाडिएका थिए । केटाकेटीहरू बेलाबेला पटाकाहरू पड्काउँथे । आइमाईहरू एकै ठाउँ भेला भएर छठका गीत गाइरहेका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिनुपथ्र्यो ।

त्यसका लागि अझ थुप्रै समय बाँकी थियो । हिलाम्मे पोखरी देखेर सुरुमै दिगमिग लागिसकेको थियो उसलाई । कसैले नबोलाऊन् भनेर अलि पर रहेको रूखमुनि गएर बस्यो ऊ । तर पनि केही न केही सोध्न आइपुग्थ्यो । कतिले उसको तारिफ गरे । उसका विद्यार्थी पनि आउँथे । र, उसलाई नमस्ते गरेर खितखिताएर हाँस्दै जान्थे । तर उसलाई कुनै कुराको प्रवाह थिएन । भोक र प्यासले उसलाई गलाइसकेको थियो । ऊ बेलाबेला व्रत बसेको बेलाको आफ्नी आमा र स्वास्नीको अनुहार सम्झिरहेको थियो ।

सूर्य अस्ताउन लागेपछि छोरी उसलाई खोज्दै आइपुगी ।
‘पापा, हिँड्नुस् । पूजा सुरु गर्ने बेला भयो ।’

ऊ पोखरीमा पुग्दा व्रत बसेका सबै आइमाई पोखरीमा पश्चिम फर्केर हात जोडेर उभिइरहेका थिए । सबैजना पोखरीमा डुबुल्की मारेर भिजेका थिए । तिनीहरूका निधारभरि सिन्दुरले पोतिएका थिए । पोखरीमा सजिलो होस् भनेर धोतीकुर्ता लगाएर गएको थियो ऊ । सबै आइमाईको बीचमा पोखरीमा पस्न निकै अप्ठ्यारो महसुस गर्‍यो उसले । तर पनि भित्र जानैपथ्र्यो । भित्र पस्नेबित्तिकै सबैले एकपटक उसलाई हेरे ।

उसकी स्वास्नीलाई उसको अप्ठ्यारो थाहा थियो । त्यसैले अर्घ दिने बेला हुन लागेपछि नै बोलाउन पठाएकी थिइन् उनले । एकपटक डुबुल्की मारेपछि हातमा पान, सुपारी र केराउ राखिदिइन् र लगत्तै हातमा अर्घ राखिदिन थालिन् । प्रत्येक अर्घलाई उसले पोखरीको पानीमा छुवाएर सूर्यतिर देखाउनु पथ्र्यो । यसका लागि पटकपटक झुक्नुपथ्र्यो । कमजोर शरीरको निम्ति सास्तीजस्तै भएको थियो उसलाई । उसले वरिपरिका आइमाईको अनुहार नियाल्यो । कमजोरी गलेझैं लाग्यो ।

अर्घ दिने काम सकेपछि उसको मनस्थिति बुझेर स्वास्नीले सोधिन्, ‘तपाईं बस्नुहुन्छ कि जानुहुन्छ ? ’
हुन त साँझ पर्न लागेपछि त्यहाँको वातावरण झनै राम्रो देखिन लागेको थियो । झिलिमिली बत्तीको छायाँ पोखरीमा परेपछि झनै मनोरम देखिन थालेको थियो । उनीहरू धेरै बेरसम्म छठको गीत गाउँदै बस्ने गर्थे । तर, कमजोरीले उसलाई त्यहाँ बस्न मन लागेन ।

‘जान्छु ।’
उसले यति भन्यो र लुगा फेरेर घरतिर लाग्यो । घर पुगेर फेरि नुहायो । अरू बेला कल चलाएर नुहाउँथ्यो । तर, यसपटक एकदुईपटक चलाउँदा नै थाक्यो । त्यसैले मोटर चलायो । नुहाउँदा उसले शरीर अलि हलुंगो महसुस गरे पनि तिर्खा भने धेरै जोडसँग लाग्यो । पानी खाइहालूँजस्तो भयो । तर पनि बस अब एक रात बाँकी छ भनेर उसले आफैंलाई सम्झायो ।

उसले टीभी खोल्यो । सबैमा छठकै समाचार थियो । नेपाली च्यानलहरूमा रानीपोखरी, जनकपुर, वीरगन्ज आदि ठाउँमा छठ मनाएको देखाइँदै थियो । भारतीय च्यानलहरूले बिहार, उत्तर प्रदेशका विभिन्न ठाउँमा छठ मनाइरहेका समाचार देखाइरहेको थियो । उनीहरूले बिहारका पूर्वमुख्यमन्त्री लालु यादव र रावडीदेवी यादवले मनाएको छठलाई विशेष कभर गरिरहेका थिए । टीभी हेर्दा पनि चाँडै थाक्यो ऊ । त्यसैले ओछ्यानमा गएर पल्टियो । लगत्तै स्वास्नी, छोरा र छोरी सबै आइपुगे । सबै उसकै कोठामा आए । स्वास्नीले उसको निधार छाम्दै सोधिन्-

‘सबै सन्चै त छ ? ’
भित्रबाट नै रुन मन लाग्यो उसलाई । यसरी उसले कहिल्यै कुनै पनि व्रतमा स्वास्नीलाई सोधेको थाहा थिएन । उसले आफूलाई रोक्यो । खोकेर घाँटी साफ गर्‍यो ।
‘ठीक छ । निद्रा लाग्दैछ ।’
अनि ऊ अर्कोतिर कोल्टो फेर्‍यो ।
‘सुत्नु । यस्तो बेलामा निद्रा लाग्यो भने झन् राम्रो ।’

त्यसपछि उनीहरू भान्साकोठामा पसे । गफ गर्दै भोलिको तरकारी र तरुवाका लागि तरकारी काट्न थाले ।

राति सपना देख्यो उसले । कोबीको तरुवाको मीठो वासना नाकमा आइपुगेको थियो । ऊ त्यही वासना पछ्याउँदै भान्साकोठामा पुग्यो । उसकी स्वास्नी तरुवा तार्दै थिइन् । तातो तेलमा तरुवा चर्चराइरहेको थियो । उसले थालभरि आलु, कोबी, तरुल, भान्टा, लौका, फर्सी आदिको तरुवा हेर्‍यो ।

उसले थालबाट एउटा कोबी तरुवा झिकेर खायो । उसलाई यत्तिको मीठो तरुवा जीवनमा कहिल्यै खाएको थिएन जस्तो लाग्यो । त्यसपछि भिजेको हातले स्वास्नीले उसको गाला छामेकी थिई । ऊ निद्राबाट बिउँझियो ।
‘उठ्नु न घाटमा जाने बेला भयो ।’

स्वास्नीले उसलाई गाला छामेरै उठाइरहेकी थिइन् । ऊ सपना सम्झेर हाँस्यो ।
‘के भो ? ’
‘केही होइन । सपना थियो ।’

त्यसपछि उसकी स्वास्नी पनि हाँसिन् । मानौं उसको सपनाको कुरा थाहा पाएकी हुन् उनले । घरभरि तरकारी र तरुवाको वासना थियो । यो वासना उसको सपनाको वासनासँग मिल्दोजुल्दो थियो ।
‘भातबाहेक सबै बनाइसकेँ ।’
‘कति राति नै उठेको त ।’

उसले सम्झ्यो स्वास्नी व्रत बस्दा ऊ आफूले कहिल्यै पनि राति उठेर सघाएको थिएन । सबै काम उनी एक्लै गर्थिन् । सबै अँध्यारोमा नै घाटमा पुगेका थिए ।

केटाकेटीहरू थुप्रै निद्रामै जस्ता देखिन्थे । बिहान उज्यालो हुन लागेपछि व्रत बस्नेहरू फेरि पोखरीमा पसे । केही ढिलो गरेर ऊ पनि पस्यो । हिजो साँझको भन्दा पानी निकै चिसो थियो । जाडोले हो या कमजोरीले, ऊ लगलग काम्न थाल्यो ।

झन् त्यसमा हुस्सु लागेकाले घाम देखिन बाँकी थियो । अर्घ दिने बेला रातिको भन्दा बढी गाह्रो भयो । केराको घारीको अर्घ दिने बेला झन्डै चिप्लिएको थियो ऊ । कमजोरीले मुर्छा पर्लाजस्तो भइरहेको थियो उसलाई । सकिनेबित्तिकै पानी खान मन लाग्यो तर स्वास्नीले रोकिन् ।
‘एकैपटक चिसो पानी खानु हुँदैन । अड्किन सक्छ । अदुवा हालेर नुन चिनी पानी तताएर राखिदिएको छु ।’

घर पुग्नेबित्तिकै उसले तातो पानी विस्तारै खायो । पेट एकपटक बटारिएला जस्तो भएको थियो । विस्तारै ऊ तंग्रिन थाल्यो । एक क्षणपछि केरा, ठेकुवा र तरुवाहरू ल्याएर राखिदिइन् । नुनिलो खाएपछि उसले अघाउने गरी चिसो पानी खायो । त्यसपछि निदाएको थियो ऊ ।

खाना खाइसकेपछि छोराछोरी खेल्न गए । ऊ निदाएकै थियो, स्वास्नीले उसलाई खानाका लागि उठाउन आइन् । निन्याउरो अनुहार बनाएर उठ्यो । खाना खाने बेलामा उसको अनुहार हेरेर स्वास्नी हाँसिन् ।
‘के भो ? ’
‘सक्नुहुन्न जस्तो लागेको थियो, सक्नुभएछ ।’

‘तिम्रो लागि यति त गर्न सकिहाल्थेँ नि ? ’
‘यस पटकलाई मात्र हो । अर्कोपटक देखि म आफैं बसिहाल्छु नि ।’
‘ठीक छ त्यसपछिको अर्कोपटक म बसूँला ।’

उनी फेरि जोडले हाँसिन् । उनको हाँसो थियो या दुई दिनको भोकको कमजोरीको शिथिलता ? आफूलाई भित्रैबाट शान्त अनुभव गर्‍यो र सँगै एक प्रकारको सन्तोष पनि अनुभव गर्दै थियो ऊ ।

आइतवार, असोज १६, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.