~प्रभा बराल~
काम गर्दा गीताको निधारको रातो टीका कतै खसेछ, सासुले देखिहालिन । ‘गीता निधार किन खाली राखेकी …..जाऊ, टीका लगाइहाल ।’
‘हवस आमा,’ गीता गरिरहेको काम छोडेर आफ्नो कोठामा गइन । एक दिन लुगा धँुदै गर्दा गीताको हातको चुरा फुटयो ।
सासुले देखिहालिन —‘तिमीलाई कहिल्यै हात रित्तो नराख्नु भन्या होइन किन त्यो हात रित्तै ? जाऊ छिटो गएर चुरा लगाइहाल ।’
गीता हत्त न पत्त आफ्नो कोठामा छिरेर चुरा लगाइहालिन मानौं उनले ठलै गल्ती गरेकी थिइन ।
आज समय बदलिएको छ, गीताको पतिको मोटर दुर्घटनामा निधन भयो ।
आफ्नी आमा खल्ली र उजाड देख्दा छोराछोरीले कर गरेर निधारमा टीका र हातमा चुरा लगाइदिए । यो सब सासुलाई सहन भएन …….
‘ए ! के गरेकी यसले ? यो सारा धर्म, संस्कार कुल्चिएर हामीलाई नरकमा हुल्न खोजेकी……..
त्यो टीका र चुरा तँलाई कसले लगाउन दियो, जा गएर फुकालिहाल । गीता निशब्द हुँदै टीका र चुरा खोलिन तर मनभित्र भने कुसंस्कारको झीरले कोपिरह्यो भित्रैसम्म ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका वर्ष–६ पूर्णङक–२५ २०७० असार–साउन – लघुकथा)