लघुकथा : फूलमतीको रातो सारी

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

फूलमतीको लोग्नेको मृत्युको खबरले उसका साथीसँगतीहरू दुःखी भए। उनीहरू फूलमतीलाई समवेदना दिन घर पुगे।

तर आश्चर्य ! फूलमती रातो सारी, रातो चोलो, गलाभरि गहना, हातभरि चुरा र सिउँदोभरि सिँदुरसहित पत्रकारहरूसँग कुराकानीमा व्यस्त थिई।

एउटा पत्रकारले सोध्यो- विधवा भएर पनि सधवाको जस्तो पहिरनमा रहने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ?

फूलमतीले भनी-यो मेरा स्वर्गवासी श्रीमान्‌कै प्रेरणा र इच्छा हो। मर्नुअघि उहाँले भन्नुभएको थियो- मर्नु त जीवनको एउटा अनिवार्यता हो। म मरेपछि तिमी नरुनू, चुरा नफुटाल्नू, विधवाको पहिरन नलगाउनू। तिमी सधवाझैँ सुन्दरी भएर बस्यौ भने मरो आत्मा खुसी हुनेछ।

अर्को पत्रकारले सोध्यो- यत्रो क्रान्तिकारी निर्णय कार्यान्वयन गर्न तपाईँलाई समाजको डर लागेन ?

फूलमतीले हाँस्दै भनी- समाज ? कुन समाज ? एउटी नारीलाई असहाय देख्ता खुसी हुने समाज पनि समाज हो ? म यो समाज परिवर्तन गर्न चाहन्छु। यस समाजको मानिसका मानसिकतामा परिवर्तन गर्न चाहन्छु। त्यसैले यति ठूलो निर्णयमा पुगेकी हुँ……।

त्यति नै बेला टेलिफोनको घण्टी बज्यो।

फूलमतीले टेलिफोन उठाई र धाराप्रवाह बोल्न थाली- मलाई समवेदना होइन समर्थनको खाँचो छ। म यो समाजमा क्रान्ति गर्न चाहन्छु……………।

फेरि अर्को फोन आयो।

फूलमतीले त्यसै भनी।

फेरि अर्को फोन आयो।

फेरि फूलमती जोसका साथ जबाफ दिन जुटी।

पत्रकारहरू क्रमशः आ-आफ्नो बाटो तताउन थाले।

अचानक त्यति नै बेला एउटा पुरुष त्यस कोठामा प्रवेश गर्‍यो। उसले भन्यो- फूलमती ! मलाई विश्वास थियो तिमी मप्रति अझै उत्तिकै लगाव राख्छ्यौ। तिमीलाई सधवा देख्दा
मेरो दिलको त्यो विश्वास यथार्थमा बदलिएको महसुस गरेको छु। तिम्रो भावना अटल रहेकामा म विगतका सारा तीता घटनाहरू भुल्न तयार छु।
यसो भन्ने व्यक्ति अरू कोही नभएर फूलमतीले वर्षौँ अघि छाडेर आएको गाउँको ब्याइते पहिलो लोग्ने थियो।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.