~गीता थापा ‘दोषी’~
प्रचन्ड गर्मीको तातो राप
औशीको कालो रात
त्यो सब प्रवाह नगरी
काख रित्तो बनाइ
सिउँदोको सिन्दुर पुछी
भित्र्याएको गणतन्त्र
आज सत्ता र भत्ताको
सम्मोहनमा परेको देख्दा
सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ
मार्ने र मर्ने खेल ?
गणतन्त्रको नामले सिंगो देश
चम्किने झुटो विश्वाशमा परेर
देश र देशवासी मिलेर
यौटा सुन्दर सपना
सजाएका थियौं
कालो गोरो र सानो ठूलोको
विभेदबाट नेपाल र नेपालीले
मुक्ति पाउनेछन्
तर आज त सिंगो
धर्तिलाई चिरापारी
महँगी र अहंकारको चपेटामा
नेताहरुका मनमौजीको
राज चलेको देख्दा
सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ
मार्ने र मर्ने खेल?
नेपाल र नेपालीले संकट झेल्नु परेको
यथार्थ सँग साक्षात्कार हुँदै
इमान्दारिताको खडेरी लागेको
मानवतावीहिन कुर्सी सेवकका अगाडि
उभिएर सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ
मार्ने र मर्ने खेल?