व्यङ्ग्य निबन्ध : भाषण मन्त्रालयको ल्याट्रिनभित्र

~भैरव अर्याल~Bhairab Aryal

…मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेबिलमाथि खुट्टा पसारेर र मेचको अडेसीमा टाउको अड्याएर अब देश कसरी विकास गर्ने भन्ने विषयमा सोचिरहेको थिएँ । मेरो गालामा केले किटिक्क टोक्यो । म झस्याङ्ग भएँ । नीलमले हत्तपत्त आफ्नो मुख झिकिन् । मैले रिसाए झैँ गरेर भने–
“सबैको सामने के गरेको यस्तो ?”

जवाफको बदला उनले घडी देखाइन् । सवा दुई बजेको रहेछ । खरदार किताबमा लुटपुटिएका थिए, बहिदार, मुखिया र सुब्बा निद्रादेवीको काखमा । त्यसैले नीलमलाई मेरो काखमा लुटपुटिन केही गाह्रो परेन । उनी साँच्चिनै मेरो काखैमा बसिन् र मुखमा मुख जोड्न खोज्दै भनिन्–
“तपाईसँग एउटा महत्वपूर्ण कुरो भन्नु छ आज ।”

‘महत्वपूर्ण कुरो ? मसँग तिमीले ?” मैले उनकै शब्द दोहोराएँ ।

“अँ, महत्वपूर्ण कुरो । तपाईंले मेरो वास्तै नगरी, मेरो प्रेस्टिजको ख्यालै नगरी अर्की टाइपिस्ट भर्ना गर्नुभएछ ।”

“खै भर्ना गरेको ? कसले भन्यो तिमीलाई ?”

“म केटाकेटी छैन सर ! मैले सब कुरा थाहा पाइसकेँ ।”

“दश ओटा केटाकेटीकी आमा हुने बेलाकी, तिमी केटाकेटी त के हुन्थ्यौ !”

“तर … तर …”

“दश ओटा त होइन, एउटा बच्चाको आमा हुनेवाला छु ।”

“के भन्यौ ? मैले केही बुझिनँ ।”

“तपाईंलाई बुझ्न मात्र होइन । मलाई बुझाउनुपर्छ अब । मेरो पेटभित्र दुई महिनाको बच्चा छ, तपाईंको बच्चा ।”

म खङ्ग्रङ्ग भएँ । केही बोल्नै सकिनँ । उनी मलाई यसरी हेरिरहेकी थिइन्, मानाैँ उनको आँखाबाट आगो निस्केर मलाई अहिल्यै खरानी बनाइदिन्छ । मेरा हातखुट्टा फतक्क भएर गले । उनको कमरमा समातेको मेरो हात फुस्क्यो । उनी चिप्लेर काखबाट खसिन् । मेरो हात उनका पेटमा छुँदा म सिरिङ्ग भएँ, मानौँ त्यहाँभित्र एउटा बम छ जुन पड्केर मेरो दुनियाँ नै खाइदिन्छ । उनी अर्को कुर्सीमा बसेर चोलीको टाँक लगाउन थालिन् । मैले सोधेँ–

“मैले अर्की टाइपिस्ट भर्ना गर्न लागँे भन्ने कुरा तिमीलाई कसले सुनायो ? यो सब असत्य हो, झुट्टा हो । तिम्रो र मेरो प्रेममा कसैले बाधा पार्न खोजेको मात्र हो ।”

“त्यसो भए हिजो तीन बजेतिर ल्याट्रिनभित्र मेनकासँगको चर्तिकला पनि सब झुट्टा हो ?” मलाई लाग्यो उनको मुखबाट शब्द होइन हृदयभित्रसम्म घोच्ने वाण निस्किरहेछन् । उनी भन्दै गइन्–

“हिजो दुई बजेतिर म यहाँ आएँ । तपाईं हुनुहँुदो रहेनछ । टेबिलमाथि एउटा कागजको टुक्रामा लेखेर छोडेको रहेछ– “अति आवश्यक काममा व्यस्त छु, भेटघाट बन्द ।”

यसको अर्थ बुझ्न मलाई गारो परेन । सरासर ल्याट्रिन गएँ । ढोका बिस्तारै घचेटेँ, खुलेन । अनि त मलाई पूरा विश्वास भयो कि त्यही अति आवश्यक काममा व्यस्त हुनुहुन्छ, जुन मसँग हुन्थ्यो । म बाहिर उभिइरहेँ । भित्र खासखुस कुरा गरेको अलि अलि सुनिन्थ्यो ।

मेनका भन्दै थिई– “नियुक्ति कहिले दिनुहुन्छ ?” तपाईंले भन्नुभयो– “भोलि नै दिन्छु विश्वास गर ।” दुवैको स्वर उत्तेजनाले कामेको थियो । अनि म सरासर घर गएँ ।

“तिमी के चाहन्छौ त अब, पैसा ?”

“पैसामा बिक्ने आइमाई होइन सर म ! म आफ्नो ठाउँमा अर्को आएको सहन सक्तिनँ ।”

“टाइपिस्टको पोस्ट तिमीलाई टीका लाएर दिएको पोस्ट होइन । यसमा जो कोही पनि आउन सक्छन् । कसैलाई राख्नु र नराख्नु मेरो अधिकारको कुरा हो । मेरो काममा हस्तक्षेप गर्ने तिम्रो कुनै अधिकार छैन ।”

“त्यसो भए यो बच्चो ?”

“त्यो बच्चो मेरो हो भन्ने केही प्रमाण छैन । तिमी मसँगभन्दा बढी मनमौजीसँग सुतेकी छौ । यत्रो वर्ष तिमीलाई पेट बोक्नु परेन, अहिले किन बोक्यौ त ?”

“पेट बोक्ने र नबोक्ने मेरो अधिकारको कुरो हो । म चाहे बोक्न पनि सक्छु, मेरो पेटमा तपाईंको बच्चो छ, त्यो तपाईले स्वीकार्नुपर्छ या मेरो ठाउँमा अर्को टाइपिस्ट भर्ना गर्न पाउनुहुन्न ।”

“मैले अर्को टाइपिस्ट भर्ना गरिनँ भने त्यो बच्चो ?”

“त्यो म पेटभित्रै पचाइदिन्छु ।”

“सब झुट ! तिमी मलाई ठग्न खोज्दै छौ । तिमीले भनेको कुरा दुवै हँुदैन । जाऊ, जे मन लाग्छ गर ।”

“ठीक छ, म जान्छु । तर हनुमानले आफू बचेर सारा लङ्का जलाए झैँ म पनि आफू बचेर तपाईंको सारा जीवन जलाइदिन सक्छु । याद गर्नु होला ।”

उनी गइन् । म जिल्ल परेँ । मलाई कसैले यो ठाउँबाट उठाएर पानीको भुमरीमा फ्याँकिदिए जस्तो लाग्यो । म फनन घुम्न लागेँ ।

घडीले तीन हानिसकेछ । मेरो मुखमा केले घोचे जस्तो लाग्यो । उठेर बिस्तारै आँखा खोलेँ । मेनकाले झ्वाट्ट मुखबाट औला झिकिन् । उनी मुस्काइरहेकी थिइन् । मलाई लाग्यो मेरो अगाडि साक्षात देवी खडा छिन् । मेनका र नीलमलाई दाँज्न लागेँ । फेरि मनमनै भने छिः कहाँ मेनका, कहाँ नीलम ! कहाँ फक्रँदो फूल कहाँ ओइलाएको फूल !

“मेरो नियुक्ति भयो सर ?”

“भोलिदेखि हाजिर हुन आउनू । नियुक्ति पनि भोलि नै दिउँला ।”

“आज सिनेमा हेर्न जाउँ त सर !”

“तीन बजिसक्यो ।”

“बजे के भो त ! छ बजेदेखि हेर्ने ।”

“अँ खरदार ! अशोकको दुईटा टिकट बुक गरेर लेराऊ । छिटो आउनुपर्छ, मोटर लिएर जाऊ ।”

अब नीलमको ठाउँमा मेनका थिइन् । कहिलेकाहीँ नीलमको सम्झनाले मलाई बेचैन पाथ्र्यो, तापनि मेनकाको हाउ–भाउले बिर्साउँदै लगेको थियो । अहिले त मसलन्दको रकमबाट क्यारिमबोर्ड, तास, चेस पनि झिकाएको थिएँ । स्वर्गकी अप्सरा मेनका छँदै थिइन्, मलाई दिन बिताउन गाह्रो थिएन ।

एक दिन म मेचमा पल्टेर एक टकसित ढोकामा हेरिरहेको थिएँ । एक बजिसक्दा पनि मेनका आएकी थिइनन् । समय बिताउन सारै गाह्रो परिरहेको थियो । मिनेट शताब्दी बनेको थियो । अकस्मात् जुत्ताको ट्याक् ट्याक् सुनियो । यो उनैको आवाज थियो । म दङ्ग परेँ । उनी आएर मेरो अगाडि उभिइन् । कस्तो रूप ! कस्तो सौन्दर्य ! म हेरेको हे¥यै भएँ उनी मेरो काखमा बसेर सँुक्कसँुक्क गर्न लागिन् । कारण बुझ्न मलाई गाह्रो परेन । मैले पनि आफ्नो मुख उनको मुखमा कोचेर सासै बाहिर ननिस्किने गरी जिब्रो बेस्कन चुसिदिएँ । उनले निसासिएर आफ्नो मुख झिकिन् ।

“मैले तिम्रो जब प्रमोशनको व्यवस्था मिलाई दिएको छु । बीस दिनभित्रैमा प्रमोशन हुन्छ । मलाई हाँसी–हाँसी बिदा देऊ ।”

“तर मैले आफ्नो कर्तव्य पूरा गरेको छैन । नौ पटक मात्र भएको छ ।”

“केही छैन । म पूरा भएको सम्झन्छु ।”

“अहँ, म आफ्नो बचन पूरा गरेर छाड्छु । तपार्इंलाई भन्ने बाटो राख्दिनँ ।”

“अहिले बेला छैन मिनु । त्यो कुरो छोड । बरू भन तिमीलाई अमेरिकाबाट के ल्याइ दिउँ ?”

“मलाई केही पनि चाहिँदैन ।” उनको स्वरमा रुवाइ मिसिएको थियो ।

“तर, मिनु ! अब म जान्छु । विदा ! !” मैले उनलाई अँगालोमा थापेँ । तर उनी आइनन् । उनको आँखाले केही भनिरहेको थियो ।

“आज चार बजे फ्लाइट छ । म तिमीसँग विदा हुन मात्र आएको । मलाई विदा देऊ ।” उनी छातीमा टाँसिएर रुन लागिन् । उनको आँखाले अझै केही मागिरहेको थियो । उनले मलाई तानेर लगिन् ल्याट्रिनतिर । म घिच्याएको बोको जस्तै उनको पछि लागेँ । ढोकामा पुगेपछि उनले मुसुक्क हाँस्दै भनिन्–
“यो दशौँ पटक हो । अब मेरो कर्तव्य पूरा हुन्छ ।”

“मेनकालाई लिएर म भित्र पस्न मात्र के आँटेको थिएँ, ठोका भित्रबाट खुल्यो । भाषणमन्त्रीज्यूलाई निस्कन लागेको देख्दा म जिल्ल परेँ । नमस्ते गर्ने होस पनि आएन । उनले सोधे–
“तपाईं आज हिँड्ने होइन अमेरिकाका लागि ?”

“हो अब जान्छु ।”

हामी दुबैको अनुहारमा एक एक पल्ट हेरेर उनी गए । एउटी केटी पनि सारी समाल्दै निस्केर दगुुरिन् ।

“छिटो आउनुुस्न भन्या !” उनले झर्केर बोलाइन् र मैले भित्र हेरेँ । उनी नाङ्गै भैसकेकी थिइन् । म भित्र पस्नै आँटेको बेलामा दुई जना मानिस मतिर आए । एउटाले सोध्यो– “बकमफुस अधिकारी भनेको तपार्इं हो ?”

“हो ।”

“तपाई अहिल्यै मसँग हिँडनुस् ।” उसले एउटा पत्र मलाई दिँदै भन्यो– “मैले पत्र हेरेँ । सर्वोच्च न्यायालयबाट पठाइएको । त्यस पत्रमा लेखेको थियो–
“गफविकास अधिकारी श्री बकमफुस अधिकारीले अवैधानिक तरिकाबाट मेरो भुँडी विकास गरिदिनु भएकोले न्याय पाउँ भन्ने सुश्री नीलमको उजुर परेको हुँदा पत्रवाहकसँगै आउन यो पक्राउ पूर्जी पठाएको छु, नआएमा कडा सजाय हुनेछ ।”

– हेड न्यायाधीश ।
म त्यस व्यक्तिको पछि लागेँ । अर्को मान्छे “म पिसाब गरेर आउँछु” भन्दै ल्याट्रिनभित्र पस्यो ।

‘छहरो’ सामयिक सङ्कलन्, वर्ष १, अङ्क २, २०२७

(स्रोत : फित्कौली डटकम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.