~होम सुनुवार~
सबै साहित्यिक मनहरुमा समर्पण गरी लेखिएको ‘सङ्केतका कविता’ नामक दोस्रो कविता संग्रह सम्झना स्वरुप मेरो हात पर्दा म अचम्भित र खुशीको सम्मिश्रणमा एकछिन टोलाएँ । किनकि लेखकका अन्य साहित्यिक कृतिहरु पैँयूका फूलहरु, हाईकु संग्रह र यात्रा स्पर्श, यात्रा संग्रह पढेको केही समय नबित्दै फेरि अर्को कोसेली प्राप्त भएको थियो । साहित्यिक यात्रामा खुड्किलाहरु यसरी छिटोछिटो चढ्नको लागि साहित्यकर्मीहरु पक्कै निकै जाँगरिला हुनुपर्दछ । जसमध्ये केदार सुनुवार सङ्केत पनि एक जाँगरिला साहित्यिक उद्यमी हुन् भन्दा फरक नपर्ला । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका तथा विश्व नेपाली साहित्य महासंघका पनि आजीवन सदस्य रहेका उनी ‘सङ्केत’ नामले परिचित छन् ।
भावनाका छालहरुमा उर्लिएका तरङ्गहरु शब्दमा पोखिएका पाठक स्पर्शी छोटा मिठा तथा सान्दर्भिक कविताहरु यस्ता शिर्षकमा प्रस्तुत छन्् – तिम्रो झझल्कोमा, मृत्यु कुरेर बस्दा, जूनको प्रकाशमा कविता, तिमी जस्तै कविता, तिमीलाई के थाहा ?, तिम्रो मनको डायरीमा, तुवाँलो, भो है ठाँईला, ड्रिङ्क्स ड्रग्स र सेक्स, प्रेम दिवसमा के दिऊ ?, मेरी लुरीलाई, तिमी मेरी जून हौ, मृत्युको संघारमा, प्रतिमोक्ष परदेशीको, निद नलागेका रातहरु, बे–शीर्षक, लण्डनका कविहरु फिलीलीली आदि ।
यस संग्रहमा यसैगरी कतिपय वरपरका वातावरणमा देखिएका र घटेका घटनाहरुलाई कवितामा चित्रण गरी पाठक सामु पु¥याउन खोजिएको छ । जस्तै गोर्खाली आन्दोलन र महामानव, अहम युद्धको दुर्गमी बस्ती, खोस्टे जीवन, निरीह साँघुरी, भिन्नता इत्यादी ।
कवि संकेतले कविहरुमाझ भएको जमघट, संवाद साथीभाइहरुसँग विताएका मजाकका क्षणहरु र आफ्ना गाउँठाउँका वर्णन समेत कवितामा पोखेका छन् । जस्तै कवि कविता र हाम्रा संकेतहरु, ताल्चीखेलका कविहरु र संवाद, प्रतिविधामा विधा कविता, पाँच टुक्रा, फोटो कविता, जावलाखेलमा एक विहान माकुराहरु, रुख ढलेको छैन, आगो पानी, कस्तो नाता, अनि कहिले काँही भट्टी पसलको यादमा धाइने द प्याभिलियन पबको रोमाञ्चक वास्तविकता पोखिएको पढ्दा साँच्चै एक किसिमको मनोरञ्जनको महसूस हुने गर्दछ । कुनै कुनै कवितामा आफ्नै भाषा किराँत सुनुवारी केही मिथकहरु मिसावट हुँदा जन्मेको माटो, गाउँघर, फलफूल, बोट विरुवासँगको मितेरी साईनो आलै रहेको बुझिन्छ ।
आधुनिक समाजमा भए घटेका सत्यतथ्य र राजनैतिक क्षेत्रमा भएका त्रुटिका कारण जनजीवनको अन्यौलताका कारक नेताहरुलाई पनि केही झटारो हानिएका छन् नयाँ नेपाल र कमरेड, जाग्नेछन् जनता फेरि र शेरहरु शीर्षकका कवितामा । जसमध्ये नयाँ नेपाल र कमरेड शीर्षकको केही हरफ यहाँ राख्न मन लाग्यो मलाई पनि ः
कमरेड ! धेरै दिनहरु कुरेर बसियो
तर कहित्यै देख्न सकिएन
तिम्रो नयाँ नेपाल
भाषणै पिच्छे तिमीले बहुवादको दर्शन छाँट्यौ
जातीयतामा स्वायत्तताको कित्ताकाट ग-यौ
राजदरवार ढालेको अहंकारमा गर्जियौ
तिम्रै सुकेका गाला पोटिलो पा-यौ
कवि सङ्केतले कविताको माध्यमबाट जनताको आक्रोश नेतासमक्ष पु-याउन प्रयास गरेका छन् । विदेशी भूमिबाट देशलाई फर्केर हेर्दा मन साँच्चै भत्भती पोल्दो हो । त्यसैले देशप्रेमले ओतप्रोत हृदयका कुनाकुनाबाट छल्किएका तरङ्ग, ज्वालाका तप्काहरुलाई शब्दहरुमा परिणत गर्दै कविताको रुपमा पस्केका छन् उनले ।
कवि संकेत डायस्पोरिक जीवन यात्राको कवितात्मक चित्रण दिन पनि पछि परेका छैनन् । जस्तै काबुलमा बुलबुल र हिँउ वर्षा, घाम, अफगानिस्तानमा विदेशी पाहुनाहरु, सल्लेरी टु यूके आदिमा डायस्पोराको जीवनलाई चित्रण गरेका छन् । अन्त्यमा कवि केदार सङ्केतको साहित्यिक यात्रा अविरल चलिरहोस् भन्दै उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष १, अंक २ नोभेम्बर २०१२)