~बासु थापा पुलामी~
सपनामा
मेलोहरू लश्कर लागेर आउँछन्
अनि बुन्छन् अनेक थरीका सपनाहरू चियाबारीले।
बिहान झिसमिसेमा उठ्छन्
परिवारको एकमुठ्ठी जाँगरिला सपनाहरू लिएर उनी।
हप्ताभरिको
खर्चबाट
उसले घरको अर्थशास्त्र सञ्चालन गर्नुपर्छ।
तल्लो गाउँमा
मरौ परेको छ। त्यहाँ पनि नपुगी हुँदैन।
माथिल्लो गाउँमा बिहेमा पनि जानुछ ।
गाउँमा हप्तैपछि खसी अथवा सुङ्गुर काट्छ त्यो पनि परिवारलाई खुवाउनै पर्छ।
पार्टीको चन्दा पनि दिनैपर्छ ।
आइतबार भन्नै पाइँदैन
जुलुसको लागि घरलौरी मिटिङमा जानैपर्छ।
नत्र त पार्टी विरोधी भइन्छ।
त्यसैले भाषण पनि सुन्नैपर्छ।
जुलुसमा जाने गाडी रिजर्भको लागि पनि त
घरलौरी पैसा दिनैपर्छ।
छोरी, शहरमा कलेज पढदैछिन्
छोरीको अपुगहरू पुरा गर्नलाई
छोरीलाई पनि पैसा अलिक धेर पठाउनु पर्छ ।
खै के के गर्नु छ । के के गर्नु छ।
एकदिन त मर्नु छ।
बेलुकीपछि
रेडियोको स्थानीय समाचारमा उनी
रोजबृद्धिको खबरलाई कान तताएर सुन्छिन्
त्यतिको उसले अरू केही कुरा पनि चाख मानेर सुनेका छैनन् यो जुनीमा ।
तर खाली लोदर फुक्छ
कहिले काहिँ यो रेडियोले पनि
कुनै एउटा कमान बन्द भएको खबर ।
यतिबेला
झसङ्ग सम्झन्छ उसले छोरीको
कुन्नी के के लेखेका अक्षरहरूका एकथाक किताब
र उसका शहरबासी साथीहरू ।
एकैपल्टमा निल्छ उसलाई
घरि घरि यो रेडियोको स्थानिय समाचारले पनि ।
सधैँ-सधैँको
डर बोकेर चियाबारीमा
जीवनबारी हुर्काउन
सपनाको हरियो पात उमार्न मेलोतिर टोकरी बोकी यस्तो कुद्छिन् उनी।
उ कुदेको होइन, ती त उसका छोरीका सपनाहरू कुदेका हुन् ।
कहिले पुग्लान कुदेका सपनासम्म छोरी
पुग्लान् । पुग्लान् के ?
एउटा झिनो विश्वासको
सूर्य बालेर
उसले
बिहान-बेलुकीको
धुपवत्तीमा पनि छोरीको सपनाको अनुहार देख्छिन्।
र देख्छिन् – चियाबारीका भोलिका मेलोहरू लश्करै उही क्रममा ।