~सौरभ कार्की~
दश गजाले छुट्टयाएझै
यत्ति मेरो बाँकी तेरो
एउटा सानो धर्सो
कोरिएको मानचित्र
बर्लिनको पर्खालझै
झन्डै–झन्डै
निषेधित क्षेत्र झै
वाह ! महोदय
तिमीले त आफ्नै
कलङ्कित बिचारहरुजस्तै
विभाजित गर्ने भएछौ नि
मेरो देश !
भत्किएको बर्लिनको पर्खाल
ठड्याएर फेरी मेरो देशमा !
थरी थरीका राज्य
के–के हुन् के–के
म त साह्रै अलमल्लिए नि !
महोदय
खै कहाँनिर पर्छ
मेरो स्वतन्त्र, सुन्दर, शान्त देश
तिम्रो मानचित्रमा ?
धानका बालासँगै सुसेली खेल्ने
पहाड खोपेका कञ्चन झरना
पर क्षितिजको इन्द्रेणी
लाजले भुतुक्कै भ’र
गौरीले ओढेकी हिम पछ्यौरा
हिमाल–पहाड–तराईको मेरो देश
थोपा थोपा पूर्खाको रगतले
सिंचित यो देशको सीमा
गन्दै सम्झिदै , सम्झिदै गन्दै
डायस्पोरा बाँचेको मान्छे म !
भरे यता तिम्रो मानचित्रमा
खरको छानो
चुलो
दलिन र जुठेल्नो
सप्पै पो
फरक फरक राज्य हुने भ’छन्
मेरो त घर एउटै हो
एउटै मात्र
तिमीले बना’को
मलाई मेरा घरभरिका
सम्पूर्ण राज्य
सम्झिनै कठिन भो
आखिर फरक
के नै भो र महोदय
उता डायस्पोरा बाँच्नु र यता टुक्रिनुमा ?
उफ्््…………..
यहाँ त
यो मनको लागि मस्तिष्क
मस्तिष्क को लागि मुटु
दुई आँखाहरु पनि पो
एक आपसमा
डायस्पोरा बाँच्नुपर्ने भ’छ
साँच्चै महोदय
यो घर तिम्रो कि मेरो
मैले त यहाँ
तिमीले बना’का कुरुप झै लाग्ने
बर्लिनका पर्खालझै लाग्ने
भावनालाई टुक््रर्याइएका
यी जातीय रेखाहरुले
आफ्नै घर पो चिन्न सकिन ।
एम्बुसमा परेको भाईको
पोत्तिएका छन् रगत
देशको झन्डा भरि–भरि
संविधानको चेपमा
बहिनिले बाँचेकी नीलडाम
बनेको छ त्रिकोणात्मकको किनार
मेरी आमाले हाँस्न खोज्या
त्यही चन्द्रमाकार जस्तै हाँसो हो
र हाम्ले खोज्या भविष्य
त्यही सूर्यजस्तै उजेलो हो ।
तर, महोदय !
टुक्र्याएर मुटु
छुट्टयाएर प्रेमिल आँखाहरु
होला त झन्डा एक ?
बाँडेर राज्य खण्ड खण्ड
बन्छ त हाम्रो देश ?
हैन भने किन त महोदय ?
आखिर किन ?
यी जातीय रेखाहरु ?
आफैभित्र आफैलाई
बाध्य बनाईन डायस्पोरा
यी बर्लिनका पर्खालहरु ?
झुले–४, दोलखा
हाल ः बुध्द एयर, भद्रपुर – झापा