~दिवाकर स्वप्नील~
“अरे?हजुर अफिस गइसेको होइन?”
“अँ।तर जानै सकिनँ।”
“किन?”
“बाटो भरिका जुलुसले गाडी अगाडी बढाउन सकिएन।” मैले श्रीमतिको प्रश्नको जवाफ मात्र दिएँ।मन त्यसै भारी भएको थियो।त्यस्तो नीच कुकृत्य कसले गर्यो?त्यो भीडभित्र अपराधको दण्ड तोकिएका मान्छेहरुको अनुहार जो अपराध बिरुद्ध सफेद पोशाकमा बुलन्द मुर्दावाद चिच्याउँदै थिए,सम्झेर घृणा जागेर आयो।तर सानो छोरासँग खेल्ने मौका मिलेकाले एकैछिनमा अघिको भारी मन बिर्सिएँ।
साँझ खाना खाएर टि.भी कोठामा छिरे।केही अर्धनग्न नायिका उफ्रिदैथिए,टि भी बन्द गरेर छोरालाई कथा भन्न थालेँ।केही बेर पछी उनी भान्छाको काम सकेर आइन् र समाचारको तृष्णाले रिमोट थिचिन्।
बिहान आफ्नै आँखाले देखेको समाचार सकिएछ।लगत्तै पाकिस्तानको आत्माघाती बमको समाचार आयो।सकियो सिरियाको आयो।
काखमा बसिरहेको छोराको मनको जिज्ञासाले सीमा नाघेछ।सोध्यो “बाबा त्यो के गरेको?”
उसले टि भी भित्रको लम्पसार लास देखाउदैथियो।म संकटमा परेँ,आफुले ढाँटेर पाँचबर्षे छोरालाइ ढाँट्न पाठ सिकाउँ?मन मानेन।अल्प जवाफ दिएँ। पुनः सोध्यो”झगडा पनि मान्छे मर्ने गर्छन्?”
स्वभावै हो बच्चा बढी जिज्ञासु हुन्छन्।अब प्रश्न माथि प्रश्न गरेर दिक्क लाउँछ भनेर उनी छोराको ध्यान अन्तै मोड्न कोसिस गर्दैथिन।
मैले जवाफ दिएँ “तिनेरु नीऽ अर्कै देशका मान्छे हुन् कीऽऽ अनि अरुले झगडा गर्दा तिनेरु मरेँ।कसैलाई कुट्नु हुँदैन अनि मार्नु पनि हुँदैन नी।”
“बाबा हाम्रो देशमा त हामीलाइ यसरी मार्दैनन् नी?” म नाजवाफ भएँ।
चारपाने , झापा ।
swapneeldiwakar@gmail.com
(स्रोत : रचनाकारको ब्लगबाट सभार)