~कोइँचबु काःतिच ‘उत्तम’~
यति रिस उठी रा छ कि अहिले –
चोक, गल्ली, चिया पसल र चौतारीमा
देश बनाउने सुन्दर सपना बुन्न
अविरल बौद्धिक वेश्यवृत्ति गर्नुहुने श्रद्धेय महानुभावहरुसँग ।
रिङ–ने दा,
यति रिश उठी रा छ कि अहिले
यति रिस उठी रा छ –
जसको आफ्नो पछाडि चार जना मान्छे जम्मा पार्ने छाँट छैन
जसको अगाडि चार वित्ता हिडेर जानुपर्दा सकस खप्ने आँट छैन
जसले आफ्नो आकार प्रकार र तौलको हेक्का राखेको छैन
जसले सानो र ठूलो आयतन वीचको भेद चाखेको छैन
जसले अगेनामा आगो बालेर पाङ्दुरे रोटी डामेको छैन
जसले देश, काल, समय र परिवेशलाई छाँमेको छैन
जो खुला आकाशमुनि भोको पेट एक रात सुत्न सक्दैन
जो नियालेर आफ्नो र अर्काको धराताल छुटाउन सक्दैन
बेकाम्म,
खोपडीमा सापटी गिदी फत्फत् चेँख्ला खामे फत्फताउँछ
चोक, गल्ली–गल्ली, चिया पसल र चौतारी निर्लज्ज सक्सकाउँछ
त्यस्ता महामहिमहरुका
बढो धुमधामको चर्काचर्की, बेतोडको घम्साघम्सी
वाध्यताले अन्तहीन लोसे कुस्तीको रमिते बन्नु पर्दा ।
इन गोति,
‘अब मलाई आँट सकिएको
अरुले बनाइदिएको पकाइ दिएको
अगेनाको भान्सामा मुख मिठाउने
रुन्चे, मरन्चेँसे, हुतिहारा, गफाडी, तोरी लाहुरे कामचोर नेता बन्नु छैन’
एकापसमा खिचातानी तँछाडमछाड घम्साघम्सी, वादविवाद
अति स्वादिष्ट ख्युःरा बनाउन खोपडीमा विचार रयल्दा रयाल्दा
रातभरिको निन्द्रा हराम
दिनभरीको काम बर्बाद
वर्षौं वर्षा समय तमाम ।
जेउ,
मीठो र स्वादिष्ट ख्युःरा बनाउने जिम्म तपाईँको
आगे तपाईंको जो मर्जी ।
टिप्पणी :
रिङ–ने दा : आदिवासी जनजाति कोइँचमा अति अत्याचार हुँदा दिक्दारी मानेर भन्ने वा मुखबाट फुस्किने शब्द ।
इन गोति : आदिवासी जनजाति कोइँचमा बढो आस्चर्यचकित बनेर आफ्नो आफन्त, साथीसँग मनको कुरा भन्दा वा आफ्नो पीडा, भावना दर्साउँदा भनिने वा बोलिने शब्दा ।च्याँख्ला खामे : मकैको च्याँख्लाको खाना जसलाई लामो समयसम्म पानीमा उमालेर पकाउनु पर्दछ ।
ख्युःरा : आदिवासी जनजाति कोइँचले खाजाको रुपमा बिहान, दिउँसो खाने दुःध, पानी, जाँडसँग सातु घोलेर बनाइने एक प्रकारको परिकार ।
जेउ : आदिवासी जनजाति कोइँचले आफुभन्दा ठूलाबढासँग कुराकानी गर्दा सम्मान गरेर सम्बोधन गर्ने कोइँच शब्दा ।
—————-
–काःत, चुप्लु (ओखलढुङ्गा)
(स्रोत : http://www.sunuwar.org/ )