~ध्रुवसत्य परियार~
मेरा अनेकौं इच्छाहरूमध्ये
अग्र र उग्र इच्छा- सपनामै मरुँ,
हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू
मेरा अनेकौं इच्छाहरूमध्ये
अग्र र उग्र इच्छा- सपनामै मरुँ ।
म सपना ओडेर जागेको बेला
तिमी जीवनदेखि डराएर भागेको बेला
तब ताजुब लाग्छ मलाई
जब हामी एकै ठाउँमा भेटिन्छौँ
भूत, भविष्य र वर्तमानबाट मेटिन्छौँ
तिमी भन्छौ- यती खोज्न जाऔँ
सगरमाथा चढौँ,
म भन्छु- मान्छे खोज्न जाऔँ
मान्छेहरू बटुलेर अगाडि बढौँ
हामी दर्ुइको विचार मिल्दैन
आखिर हामी दुवै
समाजदेखि विचार नमिलेरै भागेका न हौँ
विचारलाई बझाएर बस्नु खुबै
अनि एक्लै यात्रा गर्नु दुबै
आजको समाज र समयका लागि र्सार्थक होइन ।
हामी यती खोज्दै-खोज्दै
सगरमाथाको शिखरमा पुग्छौँ
तिमी भड्कन्छौ- खोइ कहाँ छ यती –
यतीलाई आफ्नो क्यामरामा कैद गर्न पाए
आहा ! गिनिजबुकमा-
यतीको तस्बिर खिच्ने पहिलो व्यक्ति !!
तिमी सगरमाथा चढेकोमा खुसी हुदैनौ ।
झनै यती नभेटेकोमा दुःखी हुन्छौ ।।
यतिकैमा यती आयो
हामी दुवैलाई धाप मार्दै सोध्यो-
तिमीहरूले मान्छेलाई देखेका छौ –
म मान्छे भेट्न भौँतारिरहेछु
तर मान्छे भागिरहेछ,
के तिमीहरूले देखेका छौ-
मान्छेका सुन्दर आवादहरू —
हिउँदमा घाम तापेका दिनहरूभन्दा
अरू बढी न्याना र उज्याला लाग्छन् मलाई
सपना ओडेका रातहरू ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)