~अभि वशिष्ठ~
सबेरै आएथ्यो ऊ,
अहिले विदा मागिरहेछ,
खोइ, क्षितिजलाई निर्लज्ज अङ्गाल्दै,
सन्ध्याको काख तिर लम्किँदै,
किन जान हतार भैरहेछ उस्लाई ?
उस्लाई सुनाउनु छ मेरो कथा,
उस्लाई चिनाउनु छ मेरो चेहरा,
म प्रश्न आफैसँग सोध्छु,
“के छैन कोही मलाई सुनी दिने ??”
जवाफ आउँदैन,
रवि गइरहेछ चुपचाप,
उस्लाई छैन फुर्सद, सुनिदिन मलाई ।
केही छिन भुन् भुनाउँछु एक्लै,
फेरि नियाल्छु शून्य क्षितिज,
जीवन छ, जो आशाको त्यान्द्रो तानिरहन्छ,
आउला नि पक्कै त्यो चिसो डल्लो,
ऊ रात भर मलाई हेरेर आँशु बहाउला,
म उसैलाई सुनाउँला,
साउती मै सारा कथाहरु
हामी बनाउँला हरेक रातलाई पूर्णिमा,
सजाएर जूनलाई,
कहिले आकाश त कहिले मन भरी । ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )