~बासु श्रेष्ठ~
रोजगारी तथा शिक्षाको लागि जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होइन। न त यो हामी नेपालीको मात्र चलन हो। यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्रवासीको मात्र होइन कि विकसित राष्ट्रका व्यक्तिहरु पनि वैदेशिक रोजगारको लागि बाहिर गएका छन्। नभए बेलायत या जर्मनी या फ्रान्सका मानिस किन अमेरिका आउँथे या कोही अमेरिकाबाट ती देशमा किन जान्थे? र यो प्रथा निकै पुरानो पनि हो। वैदेशिक रोजगारको लागि प्रत्येक मुलुकबाट प्रत्येक मुलुकमा मानिसहरु गई रहेका हुन्छन्। या त आफ्नो थलोमा अवसरको कमी देखेर या साँच्चै नै अवसरको अभाव भएको देखेर। उदाहरणको लागि भारतीयहरु रोजगारको लागि हाम्रो देशमा दिनहुँ आइरहेका छन्। त्यसको ठिक उल्टो हामी नेपालीहरु दिनहुँ विदेशतर्फ लागिरहेका छौँ। मलाई एकजना साथीको भनाई यहाँ राख्न मन लाग्योः एकपटक कलकत्ताबाट काठमाण्डौँ आउने हवाईजहाजमा कलकत्ताका एकजना वासिन्दा उनीसँगै परेछन्। कुराकानीको क्रममा ती वासिन्दाले नेपालमा बसोबास गर्ने र कारोवार गर्ने मनसुवाले नेपाल जान लागेका बताएछन्। मेरा ती साथी (जो नेपालमा केही छैन, केही गर्न सकिन्न भन्ने हामी जस्तै मनस्थिति भएका)ले सोधेछन् “नेपालमा तिमीले त्यस्तो के देख्यौ र ?” ती कलकतियाले नेपालमा चारैतिर पैसैपैसा छ, मात्र त्यसलाई टिप्न जान्नुपर्छ र कसरी टिप्ने त्यो मलाई थाहा छ भनेछन्। र यो कुरा एकदम ठिक पनि हो। अवसर र उपायको अन्त नेपालमा कदापि भएको छैन। तर हामी अल्छी, अनुद्योगी र हतारमा धनी हुने मनसाय भएकोले ती अवसर र उपाय हाम्रा लागि अदृश्य या दृष्टिगोचर भई दिन्छन्। फलतः हामी आफ्नै वीनाको खोजीमा विदेश-विदेश चाहार्ने जमर्को गर्छौं अनि मानवतस्करको धन्दालाई विकसित तुल्याउँदै, उनीहरुलाई पोस्ने अनि आफू र आफन्तलाई मारिरहेका छौ।
प्रसँग हो हालसालै प्रकाशित भएको समाचार जसमा २५-३० लाख रुपैँया भन्दा बढी दलालमार्फत् खर्च गरेर अमेरिकाको कठिनपूर्ण यात्रा गर्ने मृगतृष्णित नेपालीहरुको जसले अमेरिकाको सपनाको बोझले बाटोमा आईपर्ने कष्ट, दुख र जेलयात्राको कुनै परिकल्पना गर्दैनन्। अमेरिकी सपनाले तिनका आँखामा या त ती आसन्न कठिनहरुको बारेमा सोच्न मस्तिष्कलाई पारालाइज गरिदिन्छन् या त त्यसतर्फ निस्फिक्री जानाजान बेवास्ता गरिदिन्छन्। किनभने मानवतस्करको लोभलाग्दा र आशलाग्दा भनाईहरुले उनीहरुको आँखामा रंगीन सपना यसरी पोतिदिएका हुन्छन् कि ती जाबो २५-३० लाख रुपैँया केही होइन र शुरु हुन्छ कठिन यात्रा। अनि जब कुनै विरानो मुलुकमा दलालको बेइमानी अथवा त्यस देशको कानुनी पञ्जामा पर्छन् अनि मात्र तिनको चेत खुल्छ। अनि मात्र २५-३० लाखको मूल्य थाहा हुन्छ। अनि मात्र जिउ र ज्यानको माया लाग्ने हुन्छ। तर त्यतिबेला समय घर्किसकेको हुन्छ। सिवाय रुने, कराउने या आत्महत्या गर्ने बाहेक अरु उपाय हुन्न।
यस्तो अवस्थामा देशमा रहेको आफ्नो परिवारले थाहा नपाएसम्म उनिहरुपनि रँगीन सपनामा नै डुबीरहेका हुन्छन् र जब यो विपतको बारेमा थाहा पाउँछन् उनीहरुमा पनि अफसोच र आपतको पहाड खस्छ। एकछिन्को लोभ र अन्धताले परिवारका कतिजनामा आपत आईलाग्छ त्यो बेहोर्नेलाई नै थाहा हुन्छ। ऋण लिने त डुब्यो डुब्यो, ऋण दिनेपनि मानसिक तनावमा डुब्छ। ऋण दिएको ठुलो रकम डुबेपछि उसको परिवारमापनि हलचल र तरँग उत्पन्न हुन्छ।
मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टी हुँदैन। एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टी छैन। किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ती सम्भावना पार भएपनि अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिई रहेका हुन्छन्।
यसको बारेमा यहाँ हेर्नुहोला । र यो पनि हेर्नुहोला तर कथम यी पहरालाई पनि छलेर अमेरिका पस्न सफल भई हालियो भनेपनि डलर खेती त्यसै शुरु हुँदैन।
मेरो एकजना मित्र समुद्री बाटोमा छ महिनाको अवधि लगाएर क्यानाडाबाट ट्रकको पँजाबी ड्राइभरको सिटमुनि गुन्द्रुक खाँदिए झै खाँदिएर अमेरिका त पसे। यसको लागि तिनले झण्डै दश वर्ष अगाडि छ लाख रुपैँया खर्च गरेका रहेछन्। अमेरिकामा आफुले सोचेभन्दा तल्लो स्तरको काम गर्नुपर्ने र भने जति आम्दानी नहुने अनि भएको आम्दानीले खान र बस्न नै नपुग भएपछि उनको ठूलो गुनासो सुनिन्थ्यो। उनलाई अमेरिका आउनुअघि त्यो छ लाख जति सानो लागेको थियो। अमेरिका पसेपछि त्यो छ लाख त्यति नै ठुलो र बोझ बनेको थियो। अहिले उनी देश फर्किसकेका छन्।
सबैजना ती मित्रजस्तो भाग्यमानी हुँदैनन्। अमेरिकास्थित नेपाली दूतावासमा कामगर्ने मेरा एक मित्र यसरी विभिन्न दक्षिणी अमेरिकी मुलुकमा समातिएका नेपालीहरुलाई ति समातिएका मुलुकबाट नेपाल डिपोर्टेशनको लागि कागजात बनाउने काममा अति व्यस्त भएको देखेको छु। अर्थात जति अवैध ढँगबाट अमेरिका पस्नेको सँख्या बढ्दो छ त्यति नै पक्राउ पर्ने र डिपोर्टेशनको सँख्यापनि बढ्दो छ। त्यसकारण यसतर्फ सोच्दै नसोचेको राम्रो र फलदायी र आनन्ददायी हुन्छ भन्ने मलाई लाग्छ। अमेरिका मेरो अर्थमा बम्बईको लड्डु हो जो खान्छ, पछुताउँछ, जो खाँदैन उपनि पछुताउँछ। तर दुख खाएर पछुताउनु भन्दा आरामकासाथ नै पछुताउनु बेश होला भन्ने मलाई लाग्छ।
माथि नै भने झैँ अमेरिका पसि हालियो भनेपनि डलरको खेती शुरु हुँदैन। किनभने तपाईमा जस्तोसुकै शीप छ भनेपनि
एक) स्थापित ठुला साना कुनैपनि कम्पनिहरुले कसैलाई यहाँको वर्कपरमिट बिना काम दिँदैन। त्यस्ता कम्पनिहरुमा कामगर्न शुरुमानै दुई कुराको आवश्यक पर्छ त्यो हो यहाँको सोसल सेक्युरिटी नम्बर जो कसैको कसैसँग मेल खाँदैन।
दोश्रो) वर्क परमिट। यि दुबै उपलब्ध गराउने भिन्दा भिन्दै निकाय हुन्। वर्कपरमिट उपलब्ध गराउने अध्यागमन कार्यालयको पत्रको आधारमा सोसल सेक्युरिटी नम्बर उपलब्ध हुन्छ। तर अध्यागमन कार्यालयबाट त्यस्तो पत्र पाउनकोलागी सो व्यक्ति अमेरिकी सरकारबाट बसोबासको स्विकृति पाएर अमेरिका आएको हुनुपर्छ। अर्थात डिभी परेर या पारिवारिक स्पोन्सरबाट आएको हुनुपर्छ। तर माथिको बाटोबाट आउनेले त बाटोमा नै पासपोर्ट फालेर आफु परिचयविहिन भैसकेको अवस्थामा यी केही पनि पाउने सम्भावना नै रहन्न।
कति कमाइन्छ अमेरिकामा ?
त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाईनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न। र यि कामदाताहरुलाई काम खोज्ने व्यक्तिको कमजोरी थाहा पाएको आधारमा चाहे जति प्रतिघण्टाको अर्थात् कम भन्दा कम प्रतिघण्टाको हिसाबले काममा लगाउँछन् अनि चाहेको घण्टाजति अर्थात् बढी भन्दा बढी। अमेरिकी केन्द्रिय सरकारको निर्णय अनुसार अहिले न्यूनतम प्रतिघण्टा ज्याला ७.२५ डलर हो र हप्ताको ४० घन्टा बढी काम गर्नेलाई डेढी ओभरटाइम दिनु पर्ने प्रावधान छ। तर पनि अक्सर जहाँपनि ७.२५ भन्दा बढि नै मानिसले पाई रहेका हुन्छन्। तर यसको ठिक उल्टो अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने माथिका कामदाताहरुले भने यसभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन्। यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिनेपनि हामी नै हौँ। अझ कतिले आय करको नाममा कर कटाएर शोषण गर्दछन | किन मेरो कर काटेको भनि विरोध गर्ने हिम्मत शायदै कसैले गर्ला किनभने बल्ल बल्ल पाएको कामपनि गुम्ला भन्ने डर हुन्छ। त्यस आम्दानीबाट खाना लगायत वासकोलागी खर्च हुँदा बचतको खासै बाटो देखिन्न। किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ। जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ शयसम्म पर्नेहुन्छ। अनि सातैदिन, दिनको १४ १५ घण्टा शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ। कल्पना नगरेको काम गर्नु, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ।
तर दलाललाई दिने त्यो २४-२५ लाखको सट्टा त्यस रकमको पाँचभागको एकभागजतिमात्र खर्च गरेर कुनै सानोतिनो पसल या उद्यम गरेर बसे यि सब झण्झटबाट मुक्त भइने कुरा कसैले सोचिदिए हुनेथियो।
यि त भए दलालमार्फत चोरीको बाटो अमेरिका पस्ने या पस्ने सपना देख्नेहरुको कुरा। अर्कोथरी पनि छन् जो कानुनी प्रक्रिया पुरा गरेर ठुलै सपनाकासाथ भिसा लगाएर अमेरिका पुग्छन्। टुरिष्ट या अन्य कुनैपनि भिसा (जसले अमेरिकामा काम गर्न प्रतिबन्ध लगाएको हुन्छ) लिएर यतै बस्ने विचारले आउनेकोपनि हालत झण्डै झण्डै उस्तै हुन्छ। तर यस्तो भिसामा आउनेहरुकोलागी भने केहि वैधबाटो खुलेका हुन्छन्। जस्तै कलेज भर्ना हुने र बसाईको अवधि लम्ब्याउने र ग्रीनकार्डकोलागी प्रक्रिया शुरु गर्ने। तर ग्रीनकार्डको प्रक्रिया शुरु गरेर हात नपरुन्जेल उसले आफुलाई वैध नै बनाई राखेको हुनुपर्छ। जसकोलागी कलेजको नियमित र पूर्णकालीन विद्यार्थी भई रहनुपर्यो, कलेजकोलागी फिको जोहो गर्नुपर्यो, त्यसकोलागी काम गर्नुपर्यो। उता स्पोन्सर गर्ने कामदाताले आफुकहाँ बढि भन्दा बढि घण्टा र कम भन्दा कम तलबमा काम गरोस् भन्ने चाहेको हुन्छ। अनि पूर्णकालीन कलेज, लामो समयको काम गर्दा गर्दै उ चाँडै नै थाकिसकेको हुन्छ।
तर यसलाई नकारात्मक ढँगले नलिई यो सँघर्ष हो पनि भन्न सकिन्छ। अमेरिका मौकाको देश हो। शीप, प्रविधि र बुद्धि छ भने उ तुरुन्तै विक्छ र रातारात प्रख्यात हुनपुग्छ। यसका थुप्रै उदाहरणहरु छन्। तर सबैभन्दा पहिले उ वैध हुनुपर्यो।
कोहि अमेरिका आउन चाहनु कसैको अधिकार र स्वेच्छाको कुरा हो। तर कसरी र किन आउने भन्ने कुरा चाहिँ अहम् प्रश्न हो। जसरी भएपनि अमेरिका पस्ने भन्ने मनशाय भन्दापनि वैध तरिकाले आएको खण्डमा परिणाम राम्रै हुन्छ यदि माथि भनिएको सँघर्ष गर्ने क्षमता छ भने। त्यसैले त्यस्ता मानिस वैध तरिकाले आउन जो कम्युटरमा राम्रो ज्ञान भएको होस्, जसको बोलाई र लेखाईमा अँग्रेजी राम्रो होस् र परिआएको खण्डमा सँघर्ष गर्नसक्ने होस्। अनि यस्तो सँघर्ष २० देखि ३५ वर्षसम्मकाले सजिलै गर्न सक्ने भएकोले यी उमेरकाहरुलाई अलि सजिलो हुनसक्छ। तर बाँकिकोलागी भने कठिनमात्र होईन महाकठिन नै हुन्छ। आफु बसेको देशमा व्यक्ति डाक्टर, इन्जिनियर या कुशल प्रशासक या प्रख्यात कलाकार आदि जे भएपनि उसले यहाँ आएर सँघर्ष गर्नैपर्छ। अहिलेको समयमा विश्वव्यापी मान्यता पाएको विद्या भनेको कम्प्युटर नै हो र यसमा राम्रो ज्ञान हुने र वैध तरिकाले आउनेलाई भने त्यति सँघर्ष गर्नु नपर्ला। USA को बारेमा एउटा भनाई छ You Start Again. त्यसकारण सबैले सहनै नसकिने संघर्ष गर्नै पर्छ भन्ने पनि छैन र सजिलै डलर खेति हुन्छ भन्ने पनि दिवा सपना हो |
सारांशमा भन्नु पर्दा अमेरिका जान त्यहाँको बारेमा राम्रोसंग जानकारी लिनुस, आफ्नो योजना बारे प्रष्ट हुनुस्, अमेरिका जाने मनशाय बनाउने तपाईं पक्कै अलिकति पढे लेखेको र अंग्रेजी जान्ने हुनु पर्छ | त्यसकारण इन्टरनेटमा यसबारे खोजि गर्नुस | अनि पाईला चाल्नुस | जो जसरि अमेरिका पुगेपनि ‘मलाई यहाँ हाइ सन्चो छ’ भन्ने मैले भेटेको छैन अपितु ‘के के न होला भनेर अमेरिका आइयो, दुख पाइयो’ भन्नेकै भिड मैले भेटेको छुँ तर अचम्म त्यो भिड मध्ये कसैले पनि अमेरिका छोडेको चाहिं हुन्न | जे होस् यस लेखको आशय तपाईंलाइ अमेरिका जान हतोत्साही गर्नु होइन बल्की सजग गराउनु भएकोले अन्यथा नलिनु होला |
उडव्रिज,भर्जिनिया