कथा : रुन्चे दनुवार

~नेत्रबहादुर कुँवर ‘अशोक’~Netra Bahadur Kuwar 'Ashok'

“हाच्या ! हाच्या !”

हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल कुकुरको मुखले च्यापि राखेको त्यो पोकोतिर मात्रै हेरि रह्यो । कुकुर चाहिँ युद्धमा ठुलो जित हात पारे झैँ गरी पुच्छर हल्लाउँदै बडो जोडले कुदि रहेको थियो । रुन्चे दनुवारले केही प्रतिक्रिया दिन सकेन । उसले कुकुरको त्यो गतिविधिलाई एक टकले हेरि मात्र रह्यो ।

रुन्चे दनुवारले निकै निन्याउरो अनुहार लगाएको थियो । मन गरौ पारेर बसेको उसलाई केही सहानुभूति दिनकै लागि भए पनि म उसको छेवैमा गएँ । सुरुमा त कुकुरले पोको थुतेर लगेको झोकमा उल्टै भकुर्ने पो हो कि भन्ने डरडर पनि लाग्यो । उसको अनुहारमा पोतिएको विरक्त पीडालाई केही बेर नियालेपछि पक्का भयो, यसले भकुर्न चाहिँ भकुर्दैन ।

उसलाई गम्भीर मुद्रामा विनम्रतापूर्वक सोधेँ, “ज्या ! देख्न त देखेँ दाइ ! दुधको पाकेट जस्तो छ तर साँच्चै कुकुरले केको पोको थुतेर लग्यो र ?”

उसले मेरो शिरदेखि पाउसम्म एक पटक सरर नियाल्यो र मलीन अनुहार लगाउँदै रुन्चे स्वरमा छोटो जबाफ दियो, “मासुको ।”

विचराको दयनीय अवस्था देखेर मलाई करुणा जाग्यो । जागेर पनि म दसबार वर्षको बच्चाले गर्न सक्ने त्यस बेला केही पनि थिएन । देखेँ, रुन्चे हाँसो उसको अनुहारभरि लत्पतिएर पोतिँदै थियो । निकै जटिल र सङ्गीन मोडमा उभिए झैँ यो गरूँ कि त्यो गरूँ गरी ऊ गमि रहेको थियो ।

रुन्चे दनुवारसँग फेरि मासु किन्नका निम्ति पक्कै पनि रुपैयाँ थिएन । उसको भावभङ्गी, उसले लगाएको गाँसोट हात्तीछाप चप्पल र च्यात्तिएको लुङ्गीले त्यही सङ्केत गथ्र्यो ।

“रित्तो हात घर जानु पनि भएन ।”, यस्तै सोचेर रुन्चे दनुवार वाल्ल परी उभि रहेको हुँदो हो । झटपट मैले त्यसलाई ध्यान नदिए झैँ, अन्त हेरे झैँ गरेँ । ऊ किंकर्तव्यविमूढ भएर दोबाटोमा बिजुलीको खम्बाकै छेउमा उही बिजुलीको खम्बा जस्तै ठिङ्ङ उभि रह्यो । उता कुकुरले पोको अलिक पर लगेर फुकाई बाटाभरि छ्यालब्याल बनाएर खाँदै थियो । यता रुन्चे दनुवार भने कुकुरलाई बारम्बार हेर्दै घरिघरि रोऊँ रोऊँ झैँ गर्दै थियो ।

रुन्चे दनुवारले पक्कै सोचेको हुँदो हो, “स्वास्नी र छोरा सँगसँगै बसेर मिठोे मसिनो नखाएको पनि आधा वर्ष बिति सक्यो । आज त जहान परिवारसँग बसेर खुबै मज्जाले मासु भात खाइन्छ । यो नयाँ वर्ष जहान परिवारसँग रमाइलो गरी मनाइन्छ ।”

उस्तो मासु खान नपाउने वर्गको व्यक्ति हो– रुन्चे दनुवार । वर्षको दसैँ र यस्तै नयाँ वर्षमा त हो उसले मासुभात खाएर र परिवारलाई खुवाएर आनन्द साट्ने । उसका निम्ति त्यही एक पोको मासु नै जीवनको सबैभन्दा बढी खुसी बनाउने कारक थियो । तर के गर्नु ? कुकुर उसको खुसीको हत्यारा भएर आइ दियो । ठिक त्यही शाहीकालीन सामन्ती हत्यारा जस्तो जसले एउटा गरिबको छोराले विश्व विद्यालयीय अध्ययन पुरा ग¥यो भनेर आफ्नो कुण्ठा हटाउन शासकसमक्ष माओवादी भएको भ्रामक खबर दिन्थ्यो र हत्या गर्न अथवा गराउन सफल बन्दथ्यो । त्यति बेला चल्नु न चट्पटाउनु भएर रुन्चे दनुवार दरबार मार्गको सालिक जस्तै उभि रहेको थियो ।

त्यस ताका मलाई रुन्चे दनुवारको त्यो व्यवहारको खासै त्यस्तो गम्भीर असर परेको थिएन । त्यसमा पनि त्यो बबुरो मस्तिष्कले उसको रमिताको प्रत्यक्ष रमिते बन्ने संयोगको मज्जा मात्रै लिन चाहन्थ्यो । तर त्यस्ता कमाई खानेहरूलाई साना साना भनिएका घटनाहरूले कतिसम्म सङ्कटग्रस्त बनाउँदो रहेछ भनी त्यही दिनपछि मात्र बुझेँ ।

एउटा घरमुली जो परिवारका सदस्यहरूलाई वर्ष दिनको विशेष अवसर कुराएर मात्र मासुभात खुवाउन सक्छ, कहिले काहीँ पछि खाऔँला भनी रहर मार्छ, एउटा घरमुली जो परिवारका सदस्यहरूलाई वर्षको एक सरो राम्रो लगाउन दिन सक्दैन, कहिले काहीँ स्वास्नीको लाजसमेत ढाक्न असमर्थ हुन्छ । उसैलाई नै ठग्ने रहेछ, परिस्थितिले पनि । अनि जाँतो बनेर पेल्दो रहेछ नियतिले । र त त्यस दिन कुकुरको लुछाइ र झम्टाइमा रुन्चे दनुवारले एउटा ऐतिहासिक हार बेहोरेको थियो । उसको हारमा कुकुरले जितेको थियो । मानौँ एउटा वंशको समाप्तपछि उदाएको अर्को वंशको शासक र उसको शासन आउँदाको जित । मानौँ बहु प्रतीक्षित खेलमा विजय प्राप्त भएका खेलाडी र तिनको चामत्कारिक खेलको जित ।

रुन्चे दनुवार ल¥याङत¥याङ गर्दै अघि बढ्यो । ऊ रित्तो हात लिएर सुकुम्बासी दनुवार बस्तीको एउटा छाप्रोभित्र पस्यो । ऊ पसेको छाप्रोको गति रुन्चे दनुवारकै हो भन्ने कुराको प्रमाण उस्तै उस्तै स्वरूपले स्पष्ट पाथ्र्यो । छाप्रोको छानो खरको थियो, खर मक्कि सकेको थियो । मुढा चिरेर निकाएिका चिर्पटबाट छाप्रो बारिएको थियो । बाहिर बस्नलाई काठका डोला डोला मुढा ठड्याइएका थिए । कमेरो माटोले लिपपोत गरिएको छाप्रोको भित्ताले लगभग बतासे पानी छेक्दैनथ्यो ।

“बुबा ! मासु खोई ?”, त्यही छाप्रो भित्रबाट एउटा बालकण्ठ बजेको सुनियो । “ला माई ! बुबाले त मासु ल्याएनछन् ।”

मैले छाप्रो र छाप्रो भित्रबाट आएको मानव ध्वनिलाई जिज्ञासापूर्वक सुनि रहेको थिएँ । तिनीहरू बिचमा भएको कुराकानी सुन्न निकै उत्सुक भइ रहेको थिएँ । अब के हुने होला ? अब के हुने होला ? यही कुतूहलताले गर्दा एकदमसँग चाख मानेर तिनीहरूको कुराकानी सुनि रहेको थिएँ । घरभित्र केही अस्पष्ट आबाजमा कल्याङकुलुङ पनि जमि रहेकै थियो । त्यही कल्याङकुलुङमा आइमाई (रुन्चे दनुवारकी स्वास्नी) को आबाज सुनियो, “छोरालाई मासुभात खुवाएर नयाँ वर्ष मनाउँला भनेको त रित्तै हात पो आएछ । खै मासु ल्याउनु पर्दैन ? मैले भने यहाँ मासु पकाउने मरमसालासमेत जुटाइ सकेको छु । कि अस्तिको जस्तै मासु ल्याउने पैसा पनि अरूलाई नै दान दिएर आयौ ? आफू नाङ्गो र भोको भएको थाहा छैन, बडो दानी बन्नु पर्छ । म त मर्न पाए पनि हुन्थ्यो ।”

“ए भुसुक्कै पो बिर्सिएछु । कामैकामले सम्झना नै भएन । रमेश मालिकले जितपुरबाट केही सामान किनेर ल्याइदे भन्नु भएको थियो । त्यता गएर आउँदा आफ्नो काम भने बिर्सेछु ।”, रुन्चे दनुवारको कल्पित जबाफ, हो जस्तै आबाजमा सुनियो ।
कल्याङकुलुङ बढ्दै थियो । त्यसैबिच उनीहरूका बिच दनुवारी भाषामा पनि सम्वाद भएको सुनियो ।

“किवटा भेलो ? किसा एरङ करिहिङ बस्ला ?”

“मोरानी किच्छु नाहा भेलो ।”

“टोरा बाटिहिरक चाल डेखिवानाई डिक्कै लागि सकगे । अनि टुई कसाक जाबा ठालो ?”

“बुटा मुई एक छिन नै आइ हालम्ना ।”

एक छिनपछि रुन्चे दनुवार छाप्रोबाट निस्कियो । तिनीहरूको कुराकानी सुनि रहेको म केही असभ्य देखिएला भनी सतर्क भएँ । उसले मलाई उति नै बेला देख्यो । म भने ऊ र उसका घरायसी विषयमाथि चासो नै नराखे झैँ गरी वर यताउता टहल्न थालेँ । तैपनि मलाई कताकता भित्री मनमा असजिलो भने महसुस भइ रहेकै थियो । ऊ भने मलाई वास्ता नै नगरी त्यहाँबाट फटाफट सखुवाघाटतिर उँभो उँभो लाग्यो ।

रुन्चे दनुवारसँग मासु किन्नका निम्ति बाँकी रकम छैन भन्ने कुरा उसका अघिका क्रियाकलापबाट बुझि सकेको थिएँ । उसले पैसा बिना नै कसरी मासु किनेर ल्याउँदो रहेछ भनी खुल्दुली भयो । त्यही खुल्दुली मेट्न उसकै प्रतीक्षामा म त्यहाँ अबेरसम्म बसेँ । बेलुका अबेरसम्म पनि ऊ उसको छाप्रो फर्केन । अब मलाई पट्यार लागि सकेको थियो । मेरो धैर्यताको बाँध टुट्यो । बाल चञ्चलता प्रभाव पारेर पनि हुन सक्छ म त्यसपछि घरतिरै हुर्रिएँ ।

म घरमा पुगेँ । हाम्रो घरमा मासुभात नै पाकेको रहेछ । खाना खाँदा मैले उही दिउँसोको घटना झलझली सम्झन पुगेँ र टोलाएँ ।

गरिब रुन्चे दनुवारले जम्मा पारि राखेको रकमले मासु किनेको, उसले परिवारलाई खुवाउन भनी किनेको मासुको पोको कुकुरले थुति दिएको, ऊ किंकर्तव्यविमूढ हुँदै रित्तै हात आफ्नो छाप्रो फर्केको, घरमा मासु नल्याएकामा छोरा र स्वास्नीले टोकसो गरेका इत्यादि दृश्यहरू मेरा आँखा अगाडि झलझली हुन थाले ।

म टोलाएको देखेर आमाले सोध्नु भयो, “के हो तैँले भाङ धतुरो खाएर आइस् कि सखुवाघाटको भुत लाग्यो ?”

“केही भएको छैन । यत्तिकै ।”, मैले आमालाई सामान्य ढङ्गले उत्तर दिएँ । खाना खाईवरी ओछ्यानतिर लागेँ । निद्राले ज्यादै सताएको थियो । ओछ्यानमा पल्टिएको केही क्षणमै भुसुक्क निदाएँ ।

भोलि पल्ट बिहान मुखसुख धोएर डुल्न भनी गाउँतिर निस्किएँ । गाउँमा रुन्चे दनुवार हराएको खबर फैलिएको थियो । कसैले उसलाई प्रहरीको सुराकी भएको आरोपमा माओवादीले चार कोसे वनभित्र लगेको, कसैले माओवादी भएकैले उतै जन मिलिसियामा गएको लख काटेका थिए ।

केही बेरको घुमफिरपछि म घर फर्किएँ । मलाई रुन्चे दनुवार हराएकोमा चिसो पसेको थियो अनि कता कता असह्य पीडा पनि भइ रहेको थियो । यता आमाले भने मलाई रुन्चे दनुवार हराएको भन्दै हिँड्दा अलिक होस पु¥याएर हिँड्न भन्नु भयो । मैले, “हवस् ।” भनेँ । मन एक तमासको भइ रहेको थियो । म आँत्तिएको पनि थिएँ । डराएर आमाको नजिक गएँ । आमालाई अँगाले हालेँ । आमाले अचम्म मान्दै मेरो कपाल सुम्सुमाउनु भयो ।

त्यस यता धेरै दिन, वर्ष बिते । रुन्चे दनुवार कहिल्यै फर्किएन, कतै कसैले देखेको भन्ने खबरसम्म पनि सुनिएन । उसकी स्वास्नीले केही वर्ष त उसको बाटो हेरेर “टोरा बाटेर आइस् ।” भनी छोरालाई सम्झाउँदै बसी । पछि आफैँलाई पनि आशा लाग्न छाडेछ क्यारे, छोरालाई एक्लै छाडेर सिन्धुलीतिरको एउटा दनुवार केटोसँग पोइला गई ।

अब रुन्चे दनुवारको छोरो एक्लो भयो । बाँच्नकै निम्ति उसको छोराले रमेश पाइलटको घरमा गाईबस्तु चराउने काम गर्न थाल्यो । उसको झुप्रो घर मानिसविहीन भएपछि केही वर्षमै भग्नावशेषमा परिणत भयो । त्यही भग्नावशेषमा त्यही बस्तीको अर्को सुकुम्बासी दनुवारले उस्तै छाप्रो बनाएर बस्यो । मैले मान्छेको जीवनले मोड लिन ठुला ठुला घटना नै घट्नु पर्ने रहेछ, साना साना घटनाले पनि कतिसम्म गहिरो प्रभाव पार्दो रहेछ भन्ने कुरा त्यसै दिनपछि मात्र चाल पाएँ ।

आजभन्दा करिब सत्र वर्षअघिको त्यो घटनालाई सम्झँदा जीवन– भोगाइका क्रममा आइ पर्ने अभाव, समस्याबाट भाग्नकै लागि मात्र हो या सङ्घर्ष गर्नका निम्ति हो भन्ने दोमनमा पर्छु । अभावको चपेटामा परेको जीवनमा सबै आदर्श र दायित्वभन्दा पलायन वादी सोच नै प्रिय त हुँदैन भन्ने यदाकदा परि रहन्छ । मेरो– जीवन बाँच्न र बचाउनकै लागि हो भन्ने आशावादी, सकारात्मक दृष्टिलाई त्यो घटनाले बेला बेला प्रहार गरि रहन्छ र म तर्सि रहन्छु ।

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.