कविता : म, गरिवी र विवशता

~रामचन्द्र कार्की~Ram  Chadra Karki

कलकल चिसो धाराको पानी, तातो छ कुवामा,
हल गोरु नारी खुर्पेटो बजाई, घुम्या छु जुवामा ।
बाझो छ बारी चिर्नु छ मैले, झरी र खडेरी,
रुखको फेदमा बास छ मेरो, साहुको हो घडेरी ।

चमेली सित काले र भुन्टे, गाई बाख्रा हेर्दैछन्,
पढ्नु र लेख्नु यत्तिकै भयो, धुलोमा केर्दैछन् ।
भारी छ घाँस, भारी छ, भारी छ मनमा पीर,
पेटभरि पाए ढिडोको डल्लो, ठान्छन् मिठो खीर ।

गाँउघरका साथी स्कुल धाँउदा, रसाउछन् यी आँखा,
स्कुल–कलेज, बाबु र आमा, दाता नी बनपाखा ।
सुकेका दाउरा बटुली भारी, लहरा कसेर,
मनको ब्यथा कुर्लदै पोख्छु, डिलमा बसेर ।

बादलले पानी मैे माथी पार्छ, थुरुरु कमाउन,
पुसको ठण्डी ऐया आत्थु, को पाउछ रमाउन ।
साहुको गोठमा गोरुले खान्छ, हरियो घास बरु,
छेपारा नाच्छन् हामरो पेटमा, धन छैन के गरुँ ।

फोरछु बाँझो, फोडछु डल्ला, धान मकै फलाउन,
आगो नै मात्र नचाहिदो रैछ, यो मन जलाउन ।
असारको झरी गाँउबेशी गरयो, खोलाको भेलमा,
आँशुमा डुब्दै जिन्दगी काट्छु, पीडाकै खेलमा ।

एउटै रे मसी, छैटौंमा लेख्ने, उनै रे भावी नी,
गरिव माथी सधैं छ औंशी, के खुल्थ्यो चावी नी ।
नदिनु रैछ एकसरो लाउन, एक पेट खानलाई,
धिक्कार छ भावी, नरोकी राख, छाडिदेउ जानलाई ।

रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.