~मुक्ति गौतम~
पानीको मूल थुनेर
मूलबाटो छेकेर
युद्ध हुदैन अब,
ढुकेर स्कुल जाने बाटोमा
झोला बोक्ने कलिला काँधहरुमा
बन्दुकको भारी बोकाएर
या
कलिला मन मश्तिष्कमा
व्दैष र घृणा भरेर
युद्ध हुदैन अब,
मारेर निर्दोष मान्छेहरु
डराएर
तर्साएर
युद्ध हुदैन अब
परिबर्तन हुदैन अब ।
टाँसेर भित्तामा फोटाहरु
या पुजा गरेर
भजन गाएर,
रटेर पुराना मन्त्रहरु
युद्ध हुदैन अब,
मौलिक हुनुपर्छ युद्ध
पानी यतैको बगोस धारामा
छाना यतैको होस घरको
ढुङ्गा होस् या खरको
बारीमा अन्न यहिको फलोस्
कसै बिरुद्ध लक्षित गरिनुहुन्न युद्ध
युद्ध क्षतिको हैन प्राप्तीको हुनुपर्छ ।
युद्ध- आफैसंग
परिबर्तनका लागी
बिकाशका लागी
मन भित्र सकारात्मक ऊर्जाका लागी युद्ध
बारीमा ऊत्पादनका लागी युद्ध
समाजमा सद्भाबका लागी युद्ध
युद्ध- चेतनासंग
युद्ध- सोचाईसंग
युद्ध अग्रगमणको हुनुपर्छ ।
जुलाई ०८, २०१६
टोरण्टो
मुक्ति गौतम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )