~अशोक कुँवर ‘नेत्र’~
गाउँ जस्तो छैन यो सहर
न सोचे जस्तै आनन्दको छ
यहाँ मानव सभ्यताहरू भत्किएका छन्
खोक्रो आदर्श बोकेर गल्लीमा
आफन्त आफन्तकै पर्खाल बनेका छन्
उपहासको सगरमाथा बोकेर
विरह रुँदा हाँस्ने यो सहरमा
एउटा छुट्टै अस्तित्वको खोजीमा
मलाई अचम्म लाग्छ
तैपनि
मान्छे किन बसाइँ सर्छन् ?
विरहले भरिएको श्यामश्वेत संसार
सडकमा फ्याँकिन्छन्
जवान फुलहरू
नफक्रँदै ओइलिन्छन्
भत्किएका छन्
सोचेका आदर्शहरू
कुल्चिएको छ अस्तित्व
मानवताको अभावमा
मरेका छन् मान्छेहरू
क्षत विक्षत पारिएका छन् सपनाहरू
गमलामा बसाइँ सारिएको छ
स्वतन्त्र फुल्ने गुराँस ।
बागमती जस्तै बगेको छ
मानव सभ्यता
असरल्ल बगेका छन्
आधुनिकताका ढल
मुस्कान फुल्नु पर्ने बगैँचामा
चीत्कार र आहाट फुलेका छन्
नाङ्गिएको छ मानवता
एउटा सिङगै युग बोकेर ।
युग जकडिएको छ
लिलाममा राखिएका छन् सपनाहरू
स्वार्थ चुलिएको छ चोमुलुङमा बनेर
हुँदा हुँदै नियतिको दास बनेर
हिलोमा फुल्ने एउटा कमल
सुमेरु चढ्नु पर्छ खडेरीको ।
यहाँ
पैसासँगै नाङ्गिन्छ अस्मिता
शिशिर बनेर चिसिएका छन् गाउँका वसन्त
हराएको छ यहाँ
झुपडी र भन्ज्याङको आत्मीयता
अनि हराएको छ मखमली चोली
आधुनिकताको सहरभित्र
हराउँदा हराउँदै म
एउटा कोमल, स्निग्घ गुलाफ बोकेर
यात्रा गर्दै छु यो सहरको
तर
सोचे जस्तो सजिलो छैन यो सहर ।
–गढीमाई–१६ महेन्द्रनगर, हाल काठमाण्डौ
(स्रोत : निजगढ समाचार)