कथा : सुहागरात

~सौरभ कार्की~Saurav Karki

‘आश्रिया, ए आश्रिया!’

म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद।

कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे।

‘आम्मामा! कत्ति सारो मोटाएकी तँ!’

म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, धेरै त होइन, कम्मर छिनेकी।

‘कता जान आँटेकी?’

‘घर नि। भन्न के छ तेरो हालखबर?’ मैले सोधेँ।

‘यस्तै त हो नि!’ उसले आफंैलाई नियाली। टाइट जिन्स, पेन्सिल हिल, स्लिपलेस, गलामा मोतीको माला, टलक्क टल्किने झुम्का। उसका हरेक शृंगारमा मेरा आँखा दौडिरहेका थिए।

उसले भनी- ‘जाम् कफी पिउन।’ उसको आग्रह टार्न सकिनँ। घरमा फोन गरेर भनिदिएँ- ‘म आउन अलिक ढिलो हुन्छ होला।’ मेरो हात समातेर हिँडिरहेको छोरो देखेर उसले सोधी- ‘कसको बच्चा नि यो?’

‘मेरो।’

‘छोरो यत्रो भइसक्यो? कहिले बिहे गरेकी नि तैंले?’

‘झन्डै चार वर्ष भयो।’

ब्यागबाट डेरी मिल्कको प्याकेट निकालेर छोरोलाई दिई। उसले लिन मानेन।

‘बाबु चकलेट, आन्टीले दिएको लेऊ’ भनेपछि बल्ल लियो।

‘यहीँ जाम् है।’ एलिनाजतर्फ देखाउँदै सोधी।

भित्र छिर्न लाग्दा गार्डले सलाम गरेर ढोका खोलिदियो। छोरोले पनि ढ्याक्क खुट्टा बजारेर सलाम ठोकेझंै गर्‍यो। भित्र पुगेपछि छोरोको आँखा एक्वारियमतर्फ पुगेछ। ऊ त्यहीँ गएर उभिरह्यो। मैले उसलाई तानंे।

छेवैमा कृत्रिम झरनाकोे छङछङ सुन्न सकिन्थ्यो।

‘के मगाऊँ?’ उसले सोधी।

मेनु पल्टाउँदै भनें- ‘मिक्स पिज्जा र कफी, बाबुको लागि बनाना लस्सी।’ बेयराले ती सबै टिप्यो। उसले चिकेन सेकुवा, टुबोर्ग बियर र मिक्स सलाद मगाई। भनी- ‘तँ बियर लिन्नस्?’

‘अहँ, अहिलेसम्म पिएकी छैन।’

‘ठीक छ, नपिएकै राम्रो।’

‘अँ भन्न के गर्दैछेस्?’ मैले प्रसंग बदलें।

‘यत्ति हो म्याम?’ बेयराले सोध्यो। ‘अहिलेलाई यत्ति,’ मैले भनें।

बसन्ता नङको पोलिस कोट्याउँदै मलाई हेरेर टोलाइरहेकी थिई। उसको स्तब्धतालाई अन्त्य गर्दै सोधें- ‘के गर्दैछेस् तँ अचेल?’

‘यहीँ एभरेष्ट क्यासिनोमा काम गर्छु,’ मुस्काउन खोजी ऊ।

‘बियर पिउने बानी लागिसक्यो, सरी ल म सिगरेट पनि लिन्छु,’ यत्ति भनिसकेर उसले ब्यागबाट सूर्य चुरोट निकालेर सल्काई। लिपिस्टिकले फिल्टरमा छाप छाडेको थियो। नाकको पोरा फुलाउँदै धुवाँ फुकिरहेकी, देब्रे हातको चोरी र माझी औंलाले चुरोट च्यापिरहेकी उसलाई कुनै कोणबाट पनि सुहाएझैं लागेन। म उसलाई देखेर अचम्भित भएँ। तर पनि भन्दिएँ- ‘इट्स ओके।’

बाबु मेरो काख छोडेर बसन्ताछेउ गयो- ‘आती, आती।’

‘हजुर!’

‘तपंै चुलोत् किन खानुहुन्थ?’

‘त्यत्तिकै,’ हड्बडाउँदै भनी।

‘आती चुलोत् खानुहुन्न, लोग लाग्थ ले।’

‘हो है!’ हतारहतार उसले सूर्य लाइट्सको एस्ट्रेमा चुरोट निभाई। अप्ठ्यारो लागेछ सायद।

‘ल त्यसो भए अब म चुरोट पिउँदिन ल।’

‘हत्,’ भनेर छोरो लाडिँदै मेरै काखमा आएर बस्न खोज्यो। मैले उसलाई कुर्सीमा राखिदिएँ।
उसको मोबाइलमा नोकिया ट्युन बज्यो।

मतर्फ फर्किएर सभ्यता प्रकट गरी- ‘एक्सक्युज मी।’

ऊ मोबाइलमा बोल्न थाली- ‘प्लिज डार्लिङ, आज अलि ढिलो हुन्छ क्या, फेरि अहिलेसम्म क्यासिनो पनि गा’छैन, बरु तिमी नै यता आउन। भरे र्‍याडिसनतिर जाम्ला।…ओके बाबा ठीक सात बजे नै आऊ है, आइ विल बी वेटिङ ल!’ उसले मोबाइल कानबाट हटाउँदै सिगरेटको बट्टातिर हात लम्काई।

छोरोले डेरी मिल्कको प्याकेट देखाउँदै बसन्तालाई भन्यो- ‘आन्ती यो खोलिदिनुत् न।’ ऊ झस्केझंै भई। प्याकेट खोलिदिई। बाबु फेरि दौडँदै एक्वारियमतिर पुगिहाल्यो।

‘कसले फोन गरेको?’ सोध्न हुन्थ्यो-हुँदैनथ्यो, ख्याल नगरी सोधें मैले।

‘केटाहरू त हुन् नि,’ उसले रिसेप्सनतर्फ फर्केर सोधी- ‘वेटर, खै मेरो अर्डर?’

‘ल्याएँ म्याम्,’ बेयरा परैबाट चिच्यायो। उसले बियर, चिकेन सेकुवा, त्यसपछि कफी राखिदियो। बेयराले सर्भ गर्न खोज्दै थियो, उसले ‘पर्दैन जाऊ’ भनी।

मैले सोधें- ‘त्यो अनिलको खबरचाहिँ के छ नि?’ मैले थाहा पाएसम्म उसको पछिल्लो ब्वाइफ्रेन्ड थियो अनिल।

‘को अनिल?’

‘त्यही क्या त! तँलाई पछिल्लो टाइम सधैं कलेज छोड्न आउँथ्यो नि!’

‘ए त्यो अनिल!’, सम्झेझैं गरेर भनी- ‘मैले उहिल्यै छोडिदिएको नि!’

‘किन?’

‘खै किन-किन मलाई मन परेन।’

‘केही कारण त पक्कै होला,’ मैले खोतल्न चाहें।

‘दुई महिनामा एकचोटि नि सपिङ लगेन त्यसले। जाबो एकचोटि सपिङ लान नसक्ने केटाहरूसँग के लभ गर्नु?’ रिसको पारो नाकको टुप्पोमा झल्काउँदै, गिलासबाट बियरको एक चुस्की स्वाट्ट पारी। ‘अहिले त हातमा छन्, जहाँ भन्यो त्यहाँ लाने केटाहरू। त्यो अगि फोन गर्ने केटालाई लिन आइज मात्र भने, स्यान्ट्रो लिएर आइपुग्छ,’ उसले घमण्ड पोखी।

‘अझै पनि मोज नै गरिराखेकी छेस् है?’

‘जिन्दगी नै मस्तीको लागि त हो नि, जति जिउँछौ खुलेर जिउ, मरेपछि लानु के छ र!’ यत्ति भनेर उसले सिनित्त पारी त्यो ग्लास।

फोन काटिसकेर उसले भनी, ‘अस्ति सपिङ जाँदा अगि फोन गर्ने केटाले नै गिफ्ट दिएको यो मोबाइल। जे भए पनि केही कमी छैन मलाई।’

उसको आवरणले पनि त्यस्तै देखाइरहेको थियो।

सिन्धुपाल्चोकको बाह्रबिसेमाथि खुर्सानीबारी हो उसको घर। गोरी, राम्री, पढाइ पनि उस्तै। फर्स्ट डिभिजनको राम्रो अंक ल्याएपछि ऊ काठमाडांै पढ्न आई। बाबुले दुःख गरेर उसलाई राम्रै कलेजमा पढाएका थिए। मसँगै विज्ञान संकाय पढ्थी। केटाहरू पहिल्यैदेखि उसको पछि लाग्थे। बिएस्सी नर्सिङ गर्छु भन्थी।

‘साँच्ची तेरो पढाइ कहाँ पुग्यो नि?’ मैले सोधें।

‘ह्या, पढे पनि पैसा कमाउनु त हो। नपढे पनि कमाएकै छु। आमा र बहिनीलाई काठमाडांै ल्याउने विचार गर्दैछु।’

उसले सोधी- ‘पढ्छेस् मात्रै कि अरू पनि?’

‘छोरा स्कुल जान थालेपछि टिचिङ गर्दैछु। बाँकी समय घरमै बित्छ।’ यत्ति भनिनसक्दै उसले गिलास रित्याएर अर्को मगाइसकेकी थिई। फेरि उसको मोबाइलमा रिङटोन बज्यो।

‘नो यार, भोलि बिजी छु।…पोखरा त्यत्रो दिनको लागि?… बट्, आइ वान्ट एड्भान्स फर्स्ट। ओके नेक्स्ट फ्राइडे फिस्क्ड है त!’ मतिर फर्केर भनी- ‘घरको बूढीलाई त आँखै लाउदैनन् भन्या, घरमा एक रात राम्रोसँग टिक्न सक्तैनन् यी केटा मानिस, पैसा जति भन्यो त्यत्ति दिन्छन्।’

म खुसी भएँ, धन्न मेरो श्रीमान् त्यस्तो हुनुहुन्न। आइ क्यान ट्रस्ट हिम फ्रम एनी कर्नर। मेरो पिज्जा बल्ल तल्ल काटियो।

५८/५९ सालतिरको कुरा हो। ‘आतंककारीलाई सहयोग गरेको’ भन्दै प्रहरीले उसको बुबालाई पक्राउ गरे। बेलुकासम्म बुबा नफर्केपछि हतास भएर मेरोमा आएकी ऊ त्यस रात मसँगै सुतेकी थिई।

त्यसपछिका दिन उसले संघर्षमै बिताई। कोठा भाडा तिर्न नसकेको गुनासो गर्न आएकी थिई। धेरै ठाउँ कामको खोजीमा भौंतारिई। कहीँ योग्यता नपुगेर, कतै घुस खुवाउन नसकेर त कतै हाकिमअगाडि नांगिन नसकेर उसले जागिर पाइन। तर आज त्यही बसन्तालाई कपडा लगाउँदा पनि नांगै देखिरहेछु म।

ड्याडीलाई भनेर दुई-चार महिनाभित्र काममा लगाइदिने आश्वासन पनि दिएँ। केही दिनपछि ऊ आफ्नो मालिक आफैं बनेर जागिर खान थाली। त्यसपछि त ऊ मोज गर्न थाली, ठाँटिन थाली। उसलाई कलेज छाड्न र लिन केटाहरू धाउन थाले। उसकै निहँुमा कत्तिले टाउको फुटाए, कतिले बाइक सिध्याए।

ऊ बियर थपिरहेकी थिई। मैले भनें- ‘कति पिउन सक्छेस् तँ?’

‘ह्या यो त केही हैन, बेलुकी टन्नै हुन्छ। अहिलेलाई लास्ट हो।’

‘यसको खराबी थाहा छैन र?’

‘थाहा पाएर के गर्नु? पिउनै पर्छ। आखिर राम्रो बाँकी नै के छ र ममा?’ उसका अनुहारमा उदासीका धर्सा कोरिए।

‘बरु भन्न, के गर्छ तेरो बूढा?’ उसले कुरै मोडिदिई।

‘चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, यही स्ट्यान्डर्ड चाटर्डमा।’

बसन्ताले हाँस्दै भनी- ‘होस् गर् है मदेखि!’

बियर लागेछ उसलाई। ‘किन नि?’

‘के थाहा तेरो बूढा पनि …!’

मुटुको कुनामा चिसो पस्यो। भनें- ‘होइन, उहाँ त्यस्तो हुनुहुन्न।’

यस्ता कलगर्लले त्यस्तो कुरा गर्दा अचम्भित नहुने ठाउँ थिएन।

‘तेरी बहिनीचाहिँ के गर्छे नि?’ मैले सोधें।

‘गाउँमै पढ्छे बाह्रमा। त्यसलाई ठूलो मान्छे बनाउने सोच छ। हेरम् के हुन्छ!’ फेरि बादल छायो उसको मुहारमा। गला अवरुद्ध हुन खोज्थ्यो उसको। ‘तर डर लाग्छ, मेरो यथार्थ त्यसले थाहा पाउने त हैन!’

‘आमालाई चाहिँ थाहा छ त?’

‘आमालाई त सबै भनिसकें, बिचरी के गर्नु? सुनिरन्छिन्, आँसु खसाल्दै। ‘आखिर बाँच्नु त पर्‍यो नै,’ यसै भन्छिन् आमा।’ लामो सास फालेर भनी- ‘सबैले वेश्याकी आमा भन्छन् रे! नानाथरिका लाञ्छना लाउछन् रे। त्यै भ’र लेराउन खोजेको महँगीको श्मसानघाटमा। हेरम् के हुन्छ!’

प्रसंग बदल्न खोजें- ‘बुबाको बारेमा केही थाहा पाइस्?’

‘अहिलेसम्म पत्तो लागेको छैन। प्रहरीका ठूला-ठालु भनाउँदा पनि केही थाहा छैन भन्छन्।’
आँखाका डिलभरि आँसु पारी उसले। मेरो मनमा पनि सन्नाटा छायो। जिउ सिरिङ्ग भयो।

बाबु बसन्ताछेउ गएर सोध्न थाल्यो- ‘आन्ती आन्ती के भोयो?’

‘केही हैन बाबु’, उसले भनी।

उसले आफ्नो मिनिपर्सबाट रुमाल निकाल्नै लागेकी थिई। बाबुले आफ्ना कलिला औंलाले उसको आँसु पुछिदिँदै भन्यो- ‘आन्ती नलुनोथ् न प्लित।’

बरर्र नुनिलो पानी बगाई उसले, म हेरेको हेर्‍यै भए। सहानुभूति पोख्न शब्दहरूको अभाव भएझैं लागिरहेथ्यो मलाई।

‘बाबु यता आऊ’, मैले छोरोलाई तानें।

‘मामु आन्ती किन लोएको?’

‘रोएको हैन, आन्टीको आँखामा धुलो पर्‍यो रे।’ यति भनेपछि केही बुझेझंै गर्‍यो र चुप लाग्यो।

‘बाबु त्यहाँ हेर, कस्तो राम्रो माछा,’ उसको नजर एक्वारियमतर्फ घुमाइदिएँ। बसन्ताको मोबाइलमा फेरि फोन आयो तर यसपटक उसले रिसिभ गरिन।

‘के भन्नु यार्, जिन्दगीले खेलायो कहिले, कहिले आफै खेलेँ, अहिले कसले कसलाई खेलाइरहेछ मलाई नै पत्तो छैन।’ उसका शब्द बुझ्न त्यति कठिन परेन मलाई।

मैले सोधें- ‘कत्तिको सन्तुष्ट छेस् त?’

‘आफू त परिस्थितिले लत्याएको मानिस। बाहिरी आँखाले हेर्दा म जत्ति सन्तुष्ट कोही छैन। तर आफूलाई बेचेर कमाएको सम्पत्तिमा के सन्तुष्ट हुनु? हामी केटीहरूको सम्पत्ति भनेकै लज्जा हो, जुन कुरा आज मसँग एक चिम्टी बाँकी छैन। अस्तित्व हराएर, महŒव लुटाएर कमाएको धनमा केको सन्तुष्टि?’

रक्सी लागेपछि साँचो कुरा ओकल्छ भन्थे मान्छेहरू। आफ्नो प्रिय सखीसँग मनमा गुम्स्याएर राखेका कुरा ऊ फटाफट ओकल्न थाली।

‘तँ आफ्नो कमाइ लगेर बैंक ब्यालेन्स गर्छेस् होला, त्यतिबेला कत्ति खुसी हुन्छेस्? आधा घन्टा-पंैतालिस मिनेटको कालो कर्तुतको धन मेरो त। लुटिइसकेकी आफैंलाई अझै बढी लुटाएर अर्काको पसिना खोसेको धन।’

‘त्यसो किन भन्छेस्? तँ तिनै मानिसको लुट्छेस् जो आफ्नो पसिनाको मोल बु‰दैनन्।’ मैले सम्झाउन खोजें।
ऊ बोलिरही- ‘सोच् त, तंैले आफ्नो पहिलो कमाइ लिँदाको क्षण कत्ति खुसी थिइस्। मेरो जीवनको पहिलो कमाइ भन्दै तैँले लड्डु किनेर बाँडिस् होला। तर मैले रगतमा लतपतिएर कमाएकी थिएँ। आफू थिचिएर, च्यापिएर कमाएकी थिएँ। आश्रिया, मैले त आफैंले पनि लड्डु किनेर खान सकिनँ। मैले त्यो रुपैयाँ छातीमा लपेट्न सकिनँ।’

म चुपचाप थिएँ, ऊ फेरि बोली- ‘आज सबथोक छ आश्रिया, सबथोक। केही कमी छैन। मन्त्रीदेखि हरेक सरकारी कार्यालय प्रमुख चिन्छु, तर लज्जा छैन मसँग। कंगाललाई एकै रातमा धनाढ्य बनाउन सक्छु, तर कतै खुलेर हाँसेको थाहा छैन। करोडपतिलाई रोडमा झार्न पनि सक्छु, तर आजसम्म उमंगले भरिएर रुन सकेकी छैन। साँच्चै आश्रिया, हरेक रात लोग्नेमानिससँग बिताउँछु म, तर श्रीमान्को अर्थ बुझेकी छैन। गलामा माला पहिरिएकै छु, तर माला र पोतेको फरक सम्झेकी छैन। रातो अबिरको टीका पनि लगाउँछु, तर सिन्दूरको महŒव पहिल्याउन सकेकी छैन।’

एक छिन चुप लागेर फेरि बर्बराई- ‘साँच्चै भन् त, मैले बिताएको रात र तैंले बिताएको सुहागरातमा फरक के छ?’

गला अवरुद्ध भएर आयो। उसका आँखामा आँसु टल्पलाइरहेको थियो। त्यत्तिखेरै मलाई उहाँले फोन गर्नुभयो। अफिस छुट्टी भइसकेछ क्यारे। भन्दै हुनुहुन्थ्यो, ‘स्ट्यान्डर्ड चार्टर्ड अगाडि आउनु, सँगै घर जाऔंला।’
छोरो बसन्ताछेउ थियो। धेरै कुरा बुझेझंै गरी उसको मुहारको भाव पढ्न खोज्दैथ्यो सायद।

बसन्ताले आँसु पुछ्दै भनी- ‘आश्रिया मलाई छोरा र छोरीको महŒव बुझा न। यिनीहरू हुनुको, हामी आमा बन्नुको अर्थ सम्झाइदे त।’

उसका प्रश्नहरूको तौलले म अत्तालिइसकेकी थिएँ। उसले के सोच्ली कुन्नि, मैले ख्याल नराखी भनें- ‘जाम्? मलाई उहाँको फोन आइसक्यो।’

ऊ ‘एकछिन है’ भनेर फ्रेस हुन बाथरुम छिरी। वेटरले ल्याएको बिल र बसन्ता सँगसँगै आइपुगे। उसले पैसा तिर्न खोज्दै थिई, मैले मानिनँ, आफैं तिरें। आफूले बोकेको ब्यागबाट मेकअप पिस निकालेर फाउन्डेसन दली उसले। लिपिस्टिक लगाई। गाजल पोती अनि कपाल कोर्दै भनी ‘जाम् हिँड।’

उसले मेरो फोन नम्बर मागी र आफ्नो मोबाइलबाट बिप गर्दै ‘मेरो नम्बर’ भनी। हामी बाहिरियौं। गार्डले फेरि सलाम ठोक्यो, मेरो बाबुले पनि गार्डलाई जिस्क्याउँदै सलाम फर्कायो। गार्ड मुसुक्क हाँस्यो। बसन्ताले ५० रुपैयाँको नोट गार्डको हातमा थमाइदिई।

जाने बेला उसले बाबुलाई डेरी मिल्कको अर्को प्याकेट दिई। बाबुले लिन अप्ठ्यारो मानेन। उसले सास रोकेर भन्यो, ‘आन्ती अबदेथि कहिल्यै चुलोत् नखानोथ् है।’

‘हस् बाबु,’ उसले भनिनसक्दै मैले बाबुलाई बोकेर लम्किएँ। सायद, उसले फेरि आँसु पुछी या पुछिन, मैले फर्केर हेरिनँ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.