~सन्त गाहा मगर~
हृदयघातबाट २५ असोज २०६८ मा काठमाडौंमा निधन भएका गोविन्ददेव भट्ट माक्र्सवादी दर्शनका गिनेचुनेका विद्वान् र नेपाली साहित्यमा प्रगतिवादी धारका स्वनामधन्य समालोचक थिए । केवलपुरे किसान, डोरबहादुर बिष्ट, जनकप्रसाद हुमागाईं, श्यामप्रसाद शर्मा, कुलमानसिं भण्डारी आदिसँग सधैँ निकट रहेका लेखक–चिन्तक भट्टको विचारसँग असहमत वा लेखन र चिन्तनको गहिराइ नबुझनेहरू पनि उनलाई एक शान्त, सौम्य र भद्र विद्वान्का रूपमा चिन्दथे । खगेन्द्र सङ्ग्रौला जस्ता कसैलाई बाँकी नराख्ने वाचाल आलोचक पनि भट्टलाई माक्र्सवाद र दर्शनशास्त्रका गुरु मान्दथे ।
रौतहटको पुरेनवामा जन्मेर काठमाडौंको त्रिचन्द्र कलेजहुँदै भारतको बनारस विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गोविन्ददेव भट्टका शान्ति सन्देश (लघुकाव्य), सत्यबहादुरको कथा (काव्य), युगविजय (लघुकथा), नेपाल बुझने समस्या (समाजशास्त्रीय विवेचना), आधुनिक युग (समालोचना), आधुनिक साहित्य (समालोचना), अन्तर्विरोध (अनुवाद), गधा र मानिस (निबन्ध सङ्ग्रह) लगायतका कृति छन् । उनलाई सिद्धहस्त प्रगतिवादी समालोचकको रूपमा भने नयाँ साहित्यकार र गोविन्द भट्टका समालोचना सङ्ग्रह ले स्थापित गरेका हुन् । उनको सानो आकारको किताब नेपाल बुझने समस्या ले नेपालको इतिहास, समाज र संस्कृतिसँगै समस्या समाधानको प्रगतिवादी दृष्टिकोण प्रस्तुत गरेको छ ।
२०५१ सालमा गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भएका भट्ट २०५२ मा निजी क्षेत्रको श्री सगरमाथा दैनिकका प्रधान सम्पादक भए । नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष, जनसांस्कृतिक महासंघ र बुद्धिजीवी परिषद्को सल्लाहकार तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रहिसकेका भट्टले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता शुरु गरेका थिए । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) मा आठ वर्ष विशेषज्ञका रूपमा काम गरेका र चिनियाँ विज्ञान एकेडेमीमा अतिथि प्राध्यापक तथा नेपाल–चीन अध्ययन केन्द्रका उपाध्यक्ष समेत भएका भट्ट चीनविज्ञका रूपमा पनि चिनिन्थे । माक्र्सवादी दर्शनका प्रशिक्षक रहेका उनको दर्शनशास्त्रमै विद्यावारिधि गर्ने चाहना भने अधुरै रह्यो । भट्टका श्रीमती र दुई छोरी छन् ।
(३ साउन १९९६–२५ असोज २०६८)
(स्रोत : हिमाल खबर)