~समा श्री~
आमा
सानैमा तिमीले
मेरा आँखामा सपना छर्दै फुल्याएथ्यौ
त्यो आउँछ भनेर
खै ! त्यो आयो र आमा ?
त्यो आएको उही नै हो र आमा ?
तिमीले भनेकी थियौ
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै
कम्मरमा शीतजस्तै टल्कने
हतियार झुन्ड्याएर त्यो आउछ भनेर
खै ! त्यो आयो त आमा ?
आमा
तिमीले भनेझै
त्यो आए जस्तो पनि छ
त्यो आए जस्तो पनि छैन
कसरी आयो भनुँ आमा !
त्यो त केवल
फुस्फुसे उल्का मात्र झरेर आयो
त्यो त केवल
टल्कने तर तरल, धार बिहिन
पारोको हतियार बोकेर आयो
हो आमा
त्यो नछोइने बनेर आयो
पृथक् बनेर आयो
मलाई बाउन्ने बनाउन आयो
तिमीले अधर्मसँग लड्छ भनेकी थियौ
ऊ त अधर्मकै मतियार भएर आयो
खै ! त्यो आयो त आमा ?
आमा
कतै तिमीले मलाई
तान्द्रामा हुँदा त सुनाइनौ
ऊ आउने कथा
तिमीले वर्णन गरेको रूप
कतै झकाइमा देखेको बुख्याचा त हैन ?
म सुर भरेर बसिरहेँ
गला खकारेर बसिरहेँ
बाँसुरी सम्हालेर बसिरहेँ
केही बुल्बुले आवाज सुनेर म हौसिएँ
पानीमा पँधेरा जाने
के त्यो उही हो आमा ?
खै ! त्यो आयो त आमा ?
आमा
ऊ आएको भए
किन मेरा औँशीका पर्दा च्यातिएनन् ?
किन मेरा पनाहरू बौँरिदैनन्
किन मेरा ट्टामा बेरिएका साङ्ला चुँडिदैनन्
तिमी हुरीको कुरा गर्थ्यौ
मैले त बतास पनि महसुस गरेको छैन
जडता झनझन अशंख्य जरा हाल्दैछ
त्यो आउँदैन आमा
त्यो आउँदै आउँदैन
त्यो पंगु छ आमा, त्यो आउँदैन
त्यो चीसो छ आमा, त्यो छोइँदैन
त्यो लाछि छ आमा शिर झुकाएरै बस्छ
त्यो नामर्द छ आमा, बलवीर्य हिन्
त्यसको आशा नगर आमा
तिमीले देखेको सपना मात्र हो
मात्र सपना आमा
तिम्रो छोरा रुग्ण रहेरै मर्छ
तिमी नमरुन्जेल
रुग्ण छोराको कपाल मुसारी रहन्छयौ
तिमीले देखेका उज्याला
खग्रासको मुखभित्र छ
खै ! त्यो निकाल्न आयो त आमा ?
मेरा हतियारमा खिया पर्न थालिसके
खै ! त्यो पाइन हाल्न आयो त आमा ?
मेरा ढालमा धमिरा लाग्न थालिसके
खै ! त्यो नयाँ बनाउन आयो त आमा ?
युग हाँक्ने संग्राममा
मलाई हाँक्छु भन्थ्यो
खै ! त्यो आयो त आमा ?
हाल इजरायल