~सुमन सौरभ~
भर्खर बनाइसकेको चित्र भित्तामा ठड्याएर दुवैजना मुग्ध हुँदै हेरिरहेका थिए। घण्टौंको शारीरिक थकान र मानसिक भोक बल्ल मेटिएको थियो।
“तिम्रो मुहारमा जादूमयी सौम्यता छ मोनालिसा, मेरो कुची धन्य भयो।”
“तिम्रो कुचीकला नै अद्वितीय छ भिन्सी।”
निकैबेर पछि मोनालिसाले सोधी, “अब अर्को चित्रको पोज कहिले दिऊँ?”
“जहिले तिमीलाई मूड आउँछ। बरु भन, यो चित्रलाई प्रदर्शनीमा राखुँ कि लिलामीमा?” “तिमीलाई जे उचित लाग्छ।”
एउटा बिन्दुमा वार्तालाप टुङ्गिनु थियो, टुङ्गियो। मन नलागी नलागी दुवै छुट्टिए। “अर्को भेट नहुँदासम्म म तिमीलाई सम्झिरहन्छु।”
“म पनि तिमीलाई सम्झिरहन्छु, मोनालिसा…” भिन्सी पनि मुटुको केन्द्रबाट बोल्यो।
भिन्सी र मोनालिसाको ईश्वरीय सम्बन्धमा कुनै कलाप्रेमीको कालो नजर पर्यो पक्कै, शताब्दीभन्दा बढी समय उनीहरूको भेटै जुरेन।
एक दिन अद्भुत भयो। सय मुजा परेकी वृद्धा मोनालिसा र उस्तै गतिको भिन्सीको भेट भयो दोबाटोमा। भिन्सीको कुचीको भुत्ला झ्रेर काठको ठेउको मात्रै बाँकी थियो। “धन्य, फेरि भेट भयो”, सेताम्य दाह्रीभित्रबाट मुस्कुराउँदै भिन्सीले भने, “आउ मोनालिसा, एउटा नयाँ पोज देऊ, अर्को इतिहास बनाउँ।”
मोनालिसाले पुरानो पोज सम्झिई, पुरानो कुची र पुरानो चित्र पनि सम्झिई। एकछिन पुरानै समयमा हराई र नयाँ प्रस्तावमा असहमति जनाई, “भो, रहन देऊ, अब दिन्न अर्को पोज। दोहोरिएको सुन्दरता सुन्दर रहन्न, कुरूप हुन्छ।”
(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)