~रुद्र भुसाल~
ऊ आउँछ मोलमोलाई गर्छ अनि जान्छ
अर्को आउँछ फेरि मोलमोलाई गर्छ जान्छ
सधैँ मान्छेको घुइँचो लाग्ने गर्छ दिनहुँ यहाँ यसैगरी
किनकि म मोहडा मिलेको घडेरी हुँ
म बुर्बुरो अँध्यारोमा आँखा चिम्ली प्रभात खोज्ने मान्छे
फेरि अर्को दिन अर्को आउँछ मोल गर्छ बुझ्दैन मलाई
खै के खोजेको हो बुझ्नै सक्दिन आखिर ममा के कमी छ र
किनकि म मोहडा मिलेको घडेरी हुँ
एक दिन निदाएछु भुसुक्क अनि मीठो सपना देखेछु
ठमेलमा बिक्री गर्न राखेको मेरो देह
खोल्दै थिए बिस्तारै बिस्तारै मेरा बदन पनि
बल्ल पो मुर्छा परे सबै, खुलेनन् कसैका ओठहरु
किनकि म मोहडा मिलेको घडेरी हुँ
बिचारा म आज या भोलि जसले जति भने पनि
पर्सि के हुन्छ के थाहा ?
चुप छु म आऊ मूल्य गर अनि तिमीलाई जे मन लाग्छ त्यही गर
किनकि म मोहडा मिलेको घडेरी हुँ
हुन त् आज तिम्रो छु म भोलि कसैको हुन्छु म
म त दिन दिनै बढ्ने घडेरीजस्तै हुँ
प्लटिङ गर या बेच अरु कसैलाई घाटा पक्कै हुने छैन
किनकि म मोहडा मिलेको घडेरी हुँ
तिनाउ विकास बैङ्क
ज्यामिरे, चितवन
(स्रोत : रातोपाटी डट कम)