~मेघराज सापकोटा~
‘राम्री छे तर जिब्रो कालो छ, होश गर्नू है‘, रमेशले ठट्टा गर्दै भनेका थिए ।
सधैं उनलाई लुकीलुकी हेर्ने म रमेशको कुराले निकै झस्केको थिएँ । खै, उहिलेका मान्छेहरुले युवतीको अङ्गअङ्गको बयान गरेको त सुनेको थिएँ । तर, जिब्रोको बयान मेरो लागि पहिलो थियो । मैले कालो जिब्रोले के हानि गर्छ भनेर सोधिनँ । तर,रमेशको भनाइको तात्पर्य भने ठम्याउन मलाई पटक्कै गाह्रो भएन ।
नखिल चोकबाट दुई सय मिटर उत्तर गएर दायाँ पट्टिको घरमा बस्थिन् उनी । गहुँगोरी, हँसिली, सुलुत्त अग्ली, चम्किलो आँखा, न पातली न मोटी ठिक्ककी रीमालाई देख्ने बित्तिकै अनुमान लगाउन गाह्रो भएन, उनी खस आर्य जातकी हुन् ।
झापा जिल्लाको बुधवारे गाविस वडा नम्बर ३ मा एउटा भुजेल गाउँ छ । रीमा त्यही गाउँका दिले भुजेल र आमा सुन्तली भुजेलकी झड्केली छोरी हुन् । सुन्तलीले दिलेसँग दोस्रो विवाह गर्दा सँगै लिएर आएकी रीमा आफू झड्केली छोरी भएकोबारे निकै वर्षसम्म बेखबर थिइन् ।
गाउँमा कहिलेकाहीँ ‘आइमाई गफ‘ हुन्थे । बसाइँ सरेर गाउँमा आएका नयाँ मान्छेहरुलाई रीमा दिलेकी झड्केली छोरी हुन् भन्ने कुरा तिनै आइमाईले बताइदिन्थे ।
कक्षा दशमा पढ्दै गर्दा एकदिन पहिलो पटक रीमाले दिले आफ्नो बाबु हैन भन्ने सुनिन् । कस्तो नमीठो ! बिहानसम्म कापी, किताब, कलम र नयाँ कपडाको लागि बाबुसँग झगडा गर्ने रीमा एकाएक परिवर्तन भइन् । चुलबुले उनको स्वभाव शान्त,गम्भीरतामा परिणत भएको थियो । उनी कम हाँस्न रकम बोल्न थालिन् । १६ वर्षे उनको बैंश एकाएक गायब झैं भयो ।
उनको स्वभावमा एक्कासी आएको परिवर्तनको बारेमा गाउँमा भने कसैलाई चासो थिएन ।
आमाले दोस्रो विवाह किन गरिन् होला भनेर उनले कहिल्यै सोधिनन् । न त बाबुले सुन्तलीलाई छोरीसहितको स्वास्नी बनाएर किन भित्र्याए भनेर नै सोधिन् । उनलाई कहिल्यै पनि सोध्न मन लागेन । उनी भन्थिन् – ‘जब मैले संसार बुझ्ने भएँ र मेरो बारेमा जान्ने भएँ, मलाई कहिल्यै पछाडि फर्कन मन लागेन । बाउ र आमालाई उनीहरुको विगतको पश्चाताप महसुस कहिल्यै नहोस् भन्ने लाग्छ ।‘
०००
रीमा खाडीमा भासिएकी १२ वर्ष भयो ।
०५७ सालमा उनी तत्कालीन माओवादीकी जुझारु कार्यकर्ता भनेर चिनिन्थिन् । ०५५ सालको दसैं ताका पश्चिम क्षेत्रबाट आएकी कमिसार विभुतिसँग उनको लामै कुराकानी भयो । एउटी महिलाको अरठ्ठो हात उनले पहिलो पटक छोएकी थिइन् । नेपाली समाजमा कमजोर ठानिएका महिलाको बन्दुक बोक्ने साहस पनि उनले पहिलो पटक सुनिन् । तिनै विभुतिले उनलाई माओवादी आन्दोलनमा धकेलेकी थिइन् । विभुति अहिले कहाँ छिन्, उनलाई अत्तोपत्तो छैन ।
०५८ साल माघ महिनाको कुरा हो, सिस्ने भन्ज्याङमा चिसो सिरेटोमा रमेशले उनलाई पहिलो पटक भेटेको थियो । मानसिंह जगेबुको घरमा एक सय जनाको टोली सहितको बाटलियन कमान्डर रमेश थिए । झण्डै पाँच सय जना लडाकु रहेको ५ कम्पनीका टोली नेता थिए रमेश । उनको जुझारुपना, निडरता र साहसको सबैतिर प्रशंसा गरिन्थ्यो । सरकारी सेना समेत रमेशको नामले थरथरी काँप्थे ।
कम्पनी कमाण्डर भन्दै रीमाले रमेशसँग हात मिलाइन् । रमेशले बटालियन सम्हालेको धेरै दिन भएको थिएन । भोलि गोपेटारको चौकी हान्नु छ । रीमा ५० जना लडाकुको टोली सहित हतियारर गोलीगठ्ठा लिएर च्याङ्थापुको एकरातेबाट सिस्ने झरेकी थिइन् । एकरातेबाट सिस्ने हुँदै एकतिन पुग्ने रीमाको टोली रमेशलाई भेटेपछि त्यहीँ रोकियो । उनीहरुले आजको रात त्यहीँ मानसिंहको घरमा बस्ने निर्णय गरे ।
वरिपरि सेन्ट्री छ्न् । सुरक्षाको कुनै चिन्ता थिएन । रातको १० बजे खानपिनपछि उनीहरु आ-आफ्नो बिस्तरामा गए । माओवादीहरु रातभर हिँडेर दिउँसो आराम गर्थे । तर, एकराते र एकतिन उनीहरुको लागि सुरक्षित स्थान थियो । के रात के दिन उनीहरुलाई फरक पर्दैनथ्यो । भोलिपल्ट भालेको डाँकसँगै टोली आ–आफ्नो बाटो लाग्यो ।
गोपेटारमा भीषण युद्ध भयो । केही योद्दाको मृत्यु भए पनि रीमालाई क–कसले सहादत प्राप्त गरे भन्ने थाहा भएन । जितको खुसियालीसँगै सुरक्षित गन्तव्यमा पुग्नु सबैलाई हतारो थियो । गोपेटारको मुन्तिर तमोर नदी छ । तमोर नदी पाँचथर र तेह्रथुमलाई छुट्याउँदै धनकुटा तिर सलल बग्छ ।
रमेश तमोर नदीको किनारैकिनार झरे । रीमा भने तमोर पारीको आठराई हुँदै अन्तै कतै गइन् । त्यसपछि रीमा र रमेशको भेट कहिल्यै हुन सकेन । सुरक्षाकर्मीले गोपेटारमा हमला गरेर भागेर आएका आतंककारीहरुलाई ठूलो संख्या आठराईमा मारेको भन्दै रेडियोले फुकिरहेको थियो । त्यही युद्ध माओवादी आन्दोलनमा उनको अन्तिम युद्द थियो । मानसिंह जगेबुको घर, जसले उनलाई सांस्कृतिक विचलनको आरोप बोकायो ।
०००
सन् २०१० को डिसेम्बर महिनाको अन्तिम दिन हुनुपर्छ, रीमा पहिलो पटक नजिकैको क्यारिफोरमा देखिएकी थिइन् । अल्डोमा‘सेल‘ छ भन्दै अफिसका फिलिपिनो केटीहरुले सुनाएपछि ब्रान्डेड स्यान्डल लगाउने धोको पूरा गर्ने उनको अवसर थियो ।
त्यो दिन अल्डोमा ३६ इन्चको साइज पाइएन् । अल्डोमा फिलिपिनो सेल्स गर्लले जे सोधे पनि सरी मात्र भनी । आफूलाई मिल्ने साइज नभेटेपछि उनी निराश हुँदै खाली हात फर्किन् । भोलिपल्ट त्यही अल्डोबाट किनेको ३६ नम्बर साइजकै स्यान्डल पड्काउँदै अफिसका फिलिपिनोहरु आउँथे र भन्थे- ‘हाउ इज इट?’
उनको भोलिको गन्तव्य अर्को मुलुक हुँदै छ । अरब खाडीमा अहिलेसम्म कमाएको पैसाले घर जोड्न सकिनन् । राम्रा गरगहना जोड्न सकिनन् । एउटा इमान्दार जीवनसाथी जोड्न सकिनन् । ती सबै सपना भए ।
जीवनका बाँकी सपना पूरा गर्ने अन्तिम प्रयास अहिले पनि जारी छ ।
दमास्कसबाट तीन सय ५० किलोमिटर टाढाको अलेप्पो शहरमा उनीसँग अहिले एके-४७ छ । थ्री नट थ्री बाट बन्दुक चलाउन सिकेकी उनलाई एके-४७ चलाउन खासै गाह्रो भएन । दिनहुँ भइरहने गोलाबारी उनको लागि जीवनको अपरिहार्यता जस्तै भएको छ । जीवनको अर्थ र गोलीको अर्थ उनले एकैपटक बुझेकी थिइन् । उनलाई लाग्न थालेको छ- जीवन नै गोली हो,गोली नै जीवन हो ।
आज उनी अर्कै शहरमा छिन् । उनको बारेमा आफन्त र नातागोता बेखबर छन् । देश परिवर्तन गर्ने युद्धमा होमिएकी रीमा आफ्नै जीवन परिवर्तन गर्न भने असमर्थ भइन् । समर्थ भइन् त केवल आफ्नो नाम परिवर्तन गर्न – फतिमा रीमा मोहम्मद । नेपाल सरकारको बेपत्ता सूचीमा उही पुरानो नाम-‘रीमा भुजेल‘ ।
हुलिया यस प्रकार छ – जिब्रो कालो, गहुँगोरी, हँसिली, सुलुत्त अग्ली, चम्किलो आँखा, र न पातली न मोटी ठिक्ककी ।
(स्रोत : अनलाईनखबर डट कम)