~श्याम साह~
नगरपालिकाले पोखरीमा भवन निर्माण गर्ने निर्णय गरेको सुनेको दिन भोला महतोले छातीमा चक्कु रोपिए जस्तो अनुभव गरेको थियो। यसो होइन कि यो निर्णय कार्यकारी अधिकृतले एक्लै गरेको थियो। उसले सर्वदलीय मिटिङबाट यो निर्णय गराएको थियो। दोस्रो चौमासिकको अन्त्यमा भवनको लागि दुई करोडको अख्तियारी आएको थियो। अन्यत्र ठाउँ खोज्न थाल्दा विवाद हुने सम्भावना थियो। समय पनि थुप्रै लाग्न सक्थ्यो। यसै पनि यो भदौमा उसको नगरपालिकामा दुई वर्ष पुग्थ्यो। त्यसपछि सरुवा कहाँ हुने हो थाहा थिएन। भवन निर्माण बहुवर्षीय भए पनि ठेक्का लगाएबापत आउने साइनिङ अमाउन्ट र पहिलो भुक्तानीसम्मको कमिशन गुमाउन चाहेन उसले। त्यसैले सबै दललाई पोखरी नै पुरेर भवन बनाउनेमा अनौपचारिक रूपमा सहमत गराइसकेको थियो।
हुन त, पोखरी भोला महतोको आफ्नो थिएन, उपभोग पनि गरेको थिएन। त्यहाँको माछाको ठेक्का नगरपालिकाले नै लगाउँथ्यो। र पनि, मानिसहरू नाम लिंदा भोला महतोकै पोखरी भन्थे।
त्यस दिन निकै सुस्त गतिमा ऊ पोखरीको पूर्वपट्टिको डिलमा गएर पाखैरको रूखमुनि उभियो। उसका धेरै कुराको साक्षी हो यो रूख। अझै पनि उत्तिकै झयाम्म छ। बस्, भोलाको जिन्दगी फेरिएको थियो। उसले पोखरी नियाल्यो। एउटा बकुल्ला पनि पोखरीबीचको जायठमाथि बसेर एकोहोरो पोखरीतिर नियाल्दै थियो। क्षणभरमै पोखरीतिर हाम फालेको बकुल्ला चुच्चोमा चेङा माछा च्यापेर उसैको सामुन्नेबाट उडेर गयो। पोखरीमा त्यो जायठ गाडेको उसले यही रूखको हाँगाबाट लुकेर हेरेको थियो। बाक्ला पातहरूले छोपिएको त्यो हाँगो अहिले पनि तलबाट देखिंदैन।
अर्को बिहान पनि ऊ पाखैरको रूखमुनि उभिएर एकोहोरो पोखरी हेर्न थाल्यो। उसलाई देखेर अरू पनि आउन थाले। धेरैलाई थाहा भइसकेको थियो, पोखरी अब पुरिनेवाला छ, अजोधी जिमदारको यो अन्तिम निशानी मासिनेवाला छ।
यही एउटा पोखरी थियो जसलाई मानिसहरू अझै भोला महतोकै भन्थे। उसलाई पनि आफ्नोझैं लाग्थ्यो। अहिले जति पीडा त उसलाई मुद्दा हारेर आफ्नो एक–एक सम्पत्ति गुमाउँदा पनि भएको थिएन। धेरैजसो सम्पत्ति त उसको बुवा हुँदै गुमिसकेको थियो।
कार्यकारी अधिकृतले सब कुरा हतारमा गराउँदै थियो। नगरपालिकाको इन्जिनियरले पोखरीको माटो हिलो हुने भएकोले बाटोको माटो परीक्षण गरेर भवनको इस्टिमेट र टेण्डरको कागजात तयार गर्यो। लगत्तै टेण्डर आह्वान पनि भयो। कार्यकारी अधिकृतले पहिल्यै रोहित कन्स्ट्रक्सनसँग सेटिङ गरेका थिए। टेण्डर हाल्न आएका अरू कम्पनीमध्ये केहीलाई उसले पैसा दिएर मिलायो। केहीलाई केटाहरू लगाएर तह लगायो। त्यहाँ आएर चूपचाप बसेर सहयोग गरेबापत प्रहरी निरीक्षकलाई खाम थमायो। रमझ्म रेस्टुरेन्टमा साँझ्को खानपानको जोहो त पहिल्यै मिलाएको थियो।
केही दिनमै पम्पसेटबाट पोखरीको पानी निकाल्न थालियो। भोला महतो हरेक दिन पाखैरको रूखमुनि उभिन आइपुग्थ्यो। पानी जति कम भयो त्यति नै भीडभाड हुन थाल्यो। माछाको ठेक्का लिएका मलाहाहरू त्यहाँ नआउने कुरै भएन। दश किलोसम्मका रहु भेटिए त्यहाँ।
उसको हजुरबुवा अजोधी महतोले यो पोखरी खनाउँदा पनि यस्तै भीड लागेको थियो। पाँचसयभन्दा बढी हँसेरीहरू लगाएर पूरै एक बिघामा खनाइएको थियो पोखरी। पोखरी खनुञ्जेलसम्म भोज चलेको थियो। जायठ गाड्ने दिन त मेला नै लागेको थियो। त्यो मेलामा कुमार केटा र कुमारी केटीहरू घरभित्रै बसे। कन्ये केटाकेटीले जायठ गाडेको हेर्यो भने अल्पायुमै मर्छ भन्ने मान्यता थियो। ऊ भने सबैको आँखा छलेर पाखैरको रूखमा चढेको थियो।
वैशाखको महीना भए पनि पोखरी खनुन्जेलसम्म एक मरद जति पानी भरिइसकेको थियो। साखुको जायठ गाड्ने बेलामा त्यसलाई चारैतिर डोरीले बाँधेर पोखरीको बीचमा सीधा पारिएको थियो। पण्डितको पूजासँगै पूरै तीन घण्टा भगताको गायन र धामीको खेल चलेको थियो।
मानिसहरू भन्थे– जायठ गाड्दा बलि चढाउनुपर्छ। तर, अजोधी जिमदारको पूरै परिवार भर्खरै कविरपन्थी भएकाले बलि दिइएन। त्यसैलाई बक्साउन धामी खेलाइएको थियो। संयोग थियो या विना बलि जायठ गाडेको परिणाम, त्यही रात गोमनले डस्दा उसको काकाको छोरीको मृत्यु भयो। त्यसको एक वर्षमा हजुरबुवालाई पनि लकवाले छोयो। त्यत्रो ठूलो जिमदारी चलाएर बसेको मान्छेको हात, खुट्टा केही नचल्ने भए। त्यसरी कुँजिएर कसरी बस्न सक्थे? त्यसको एक वर्षभित्रै हजुरबुवा बिते।
मानिसहरू भन्थे– जायठको देवता नरिसाएको भए यस्तो हुने थिएन। देवता–पितृसँग पनि अटेरी गरेर हुन्छ? पोखरी खनाएर जायठ गाड्ने भएपछि बलि त दिनै पर्थ्यो! हजरबुवा वितेको तेह्र दिनमा बुवाले सपना देख्नु’भो अरे। सपनामा घरभित्रबाट निस्केकी देवीले बुवालाई भन्नुभयो, “तिमीहरूले मलाई वास्ता गरेनौ, म अब जान्छु।”
बुवा केही बोल्नै सक्नुभएन। त्यसपछि उनीहरूको दुर्दिन शुरू भयो। देशमा भूमिसुधार लागू भयो। अरू जिमदारहरू बाठा थिए, आफन्तहरूको नाममा जमीन राखेर जोगाए। तर, उसका बुवा र काकाहरूमा मेल भएन, धेरै जग्गा हदबन्दीमा पर्यो। बचेको पनि मुद्दामामिलामा अल्झेर सकिंदै गयो। उसको पालासम्ममा केही बाँकी थिएन भन्दा पनि हुन्छ। बुवासँगै भोला महतो अड्डा अदालतमा यति व्यस्त भयो कि जवानी वितेको पत्तै भएन। अलि राम्रो घरबाट कसैले छोरी दिन आएन, अलि सामान्य घरतिर उसले पनि आँखा लगाएन। जायठ गाडेको हेरेकै कारण यस्तो भएको भन्ने उसलाई लाग्न थालेको थियो। यो कुराले उसलाई भित्रभित्रै पोलिरहन्थ्यो।
असारसम्म काम सक्नुपर्ने हुनाले ठेकेदारले पोखरीको पानी राम्ररी नसुक्दै पुर्न थालिसकेको थियो। उसले नयाँ एस्काभेटर प्रयोग गरेको थियो। चारैतिरबाट हालेको माटो मिलाउँदै एस्काभेटर जायठनिर पुग्यो। त्यसले ठक्कर दिंदा जायठको एकापट्टिको भाग थोरै ढल्कियो। ड्राइभरले जायठको फेदको हिलो तान्न खोज्दा एस्काभेटर दलदलमा भासिन पुग्यो। जति चलाएर निकाल्न खोज्यो, चक्काले त्यति नै माटो बाहिर फाल्न थाल्यो। त्यसपछि त एस्काभेटर हल्लिन पनि सकेन।
ड्राइभरले पहिलो दिनबाटै राम्रो काम गरेकोले एस्काभेटर भासिंदा शुरूमा ठेकेदारले खासै वास्ता गरेन, भोलि निकाल भनेर हिंड्यो। त्यही राति ठूलो पानी परेपछि भने ठेकेदार निदाउन सकेन। बिहान सबेरै पोखरीमा पुग्दा एस्काभेटर लगभग डुबिसकेको थियो, ड्राइभरले चलाउँदा झ्न् भासिन थाल्यो।
“भेनचो… एक त मेसिन फसाइदियो, अर्को निकाल्न सक्दैन”, ठेकेदारले दाह्रा किट्यो, “मेसिन त केही होस्, मैले जानेको छु।”
ड्राइभर पनि बिहानदेखि केही नखाई लागिपरेको थियो। ठेकेदार एकोहोरो कराउन थालेपछि उसको पनि पारा तात्यो।
“यस्तो पोखरीमा पस्नुहुँदैन भन्दाभन्दै जबर्जस्ती पठाएपछि यस्तै हुन्छ, सक्तिनँ म, झ्िक्नु आफैं”, ड्राइभर इग्निसनबाट साँचो पनि नथुती हिंड्यो।
ठेकेदारले अर्को ड्राइभर मगायो, तर त्यसबेलासम्म मेसिन झ्न् भास्सिएकोले स्टार्ट नै भएन।
एस्काभेटर पोखरीमा भाँसिएको सुन्दा भोला महतोलाई जलेको कलेजोमा शीतल हावाले स्पर्श गरेजस्तो भयो। बिहानै भए पनि नजिकैको भट्टीमा पसेर एक गिलास ठर्रा खायो अनि पोखरीतिर लाग्यो।
“ले, भेलौ ने आव? भैरले पोखरी, बनाले बिल्डिङ। नगरपालिका कि बैन गेलौ तोरा सबके बापके राज चैल एलौ …!”
डुबेको एस्काभेटर हेर्न भीड लागिसकेको थियो। भोला महतोले आएर कराउन थालेपछि भीड झ्न् बढ्न थाल्यो।
‘जे करै है सरकार करै है? ई हाकिम (कार्यकारी अधिकृततिर देखाउँदै) बडे बुझ्है छेलै। सरकार करै है? (आकाशतिर देखाउँदै) ओकरोसे बैढके और कोनो सरकार है?”
भोला महतोले सबैलाई औंलो ठड्याउँदै जथाभावी बोल्न थालेपछि कार्यकारी अधिकृत कार्यालयतिर लाग्यो। अनि रिसले आगो भएको ठेकेदार कुर्लियो, “माधर… भागबे यतसे कि तोहर दाँत तौयर दियौ?”
ठेकेदारका आसेपासे पनि भोला महतोलाई झ्म्टन पुगे। त्यहाँ भएका मानिसहरूले जोगाउँदा जोगाउँदै पनि भोला महतोले दुईचार घुस्सा भेटिसकेको थियो। त्यति नै बेला कार्यकारी अधिकृतले फोन गरेर बोलाएको प्रहरी टोली आइपुग्यो। प्रहरीहरूले भोला महतोलाई घिसार्दै त्यहाँबाट लगे।
“पोखरीको जायठ सजिलो गरी गाडिएको हुन्छ र तपाईंहरूले यति सजिलै उखेल्न खोज्नुभो? कति पूजा र कति विधि पूरा गरेर गाडिन्छ त्यो। देवता बस्ने ठाउँ हो त्यो। जायठ गाडेपछि मात्र कुनै पोखरी बन्छ, नत्र त्यो खत्ता मात्र हुन्छ। जायठ र खत्ताको विवाहपछि पोखरी हुन्छ। तपाईंलाई के लाग्छ, ठूलो मेसिन देखेपछि हाम्रा देवपितृहरू डराइहाल्छ? सिरहामा पनि यसरी नै डोजर डुब्न लागेको थियो। बोको चढाएर पूजा गरेपछि निस्केको थियो…।”
कार्यकारी अधिकृतको अफिसमा ठेकेदार पुग्दा एउटा धामी कार्यकारीलाई सम्झाइरहेको थियो। कार्यकारी गम्भीर थियो, छेउमै रहेको इन्जिनियर हाँसिरहेको थियो।
“अनि ठेकेदार साब, मेसिनले त कालो बोकाको माग गर्यो त!” इन्जिनियरले जिस्क्यायो।
“पूरै साठ लाखको मसिन फसेको छ मेरो, तपार्इंलाई मजाक् सुझिरहेको छ?” “एक पटक अजमाएर हेरौं न त”, कार्यकारी अधिकृतले भन्यो।
नगरपालिकाको पिउनले खोजेर ल्याएको निक्खर कालो बोकालाई कलमै लगेर नुहाइदिएपछि धामीले त्यसको टाउकोमाथि अक्षता राख्दै पानी छर्कन थाल्यो। शायद आफ्नो स्थिति भाँपेको थियो बोकाले, पूरै भिजिसक्दा पनि जीउ झ्ट्कारेको थिएन। बेलाबेला काँप्न भने खोज्थ्यो।
“अरूबाट पैरछन लिन मानेन, ठेकेदारलाई नै पान, सुपारी र लड्डु लिएर आउनु भन्नुस्”, धामीले भन्यो।
कार्यकारी अधिकृतले फोन गरेर बोलाएपछि ठेकेदार आएर जायठको पूजामा जुट्यो। धामीले जस्तै ठेकेदार चामल र पानी लिएर बोकालाई भजाउन थाल्दासम्म हल्का घाम पनि लाग्यो। तापको प्रभावले हो या देवीको प्रतापले, बोकाले जोडले जीउ झ्ट्कार्यो। त्यसपछि धामीले ठूलो खुकुरी निकालेर एकै झ्ट्कामा आफ्नो काम गर्यो।
भोला महतो थुनामै थियो। उसको पोखरीमा भने भोज चलिरहेको थियो। बोकाको मासु र चिउराले तृप्त भएपछि धेरैले मोबाइलबाट आधा गाडिएको एस्काभेटरको फोटो खिचेर फेसबूकमा पोष्ट गरे। त्यही बेला पत्रकारहरू आएको देखेर कार्यकारी अधिकृत सशंकित भयो।
“तपाईंहरूले माटोको यस्तो संरचनामा भवन बनाउने निर्णय कसरी गर्नुभयो? कहाँको माटो परीक्षण भयो?”
कार्यकारी अधिकृतसँगै थिए, इन्जिनियर।
जवाफ कार्यकारी अधिकृतले नै दियो, “माटो परिक्षण गरेर भवन निर्माणको निर्णय होइन, भवनको डिजाइन गरिन्छ। हामीले त्यो पनि सर्वदलीय सहमति र परिषद्बाट पास गराएर गरेका हौं।”
“सरकारले तालतलैया संरक्षण गर्ने नीति लिएको बेला तपाईंले पोखरी पुरेर भवन बनाउने प्रस्ताव किन ल्याउनुभयो?”
“यो पोखरी खासै संरक्षण गर्नुपर्ने खालको नभएर नगरेको। जिविसमा मिटिङ छ, अहिलेलाई म हिंडें।”
बोका काटे पनि मेसिन चलेन। त्यसलाई तानेर झिक्न ठेकेदारले साइटमा काम गरिरहेका अर्को दुई वटा एस्काभेटर मगायो, तर तिनले पनि तान्न सकेनन्। पानी नसुकुञ्जेल तान्न सकिने सम्भावनै थिएन। सीधै उचालेर निकाल्न ठूलो क्रेन चाहिन्थ्यो।
साँझ् रमझ्म रेस्टुरेन्टमा ठेकेदार र कार्यकारी अधिकृत झोक्राएर बसिरहेका थिए। दुवैका हातमा गिलास र बीचमा डबल ब्ल्याक लेवलको बोतल थियो। ठेकेदार र अधिकृत भने एकअर्कालाई हेरिरहेका थिएनन्। दुवैको अनुहारमा एककिसिमको उकुसमुकुस थियो।
“तपाईंले गर्दा मलाई अप्ठ्यारो हुन सक्छ”, लामो मौनता तोड्दै कार्यकारी बोल्यो, “यो काम रोक्नु पर्ला जस्तो छ।”
“साठ लाखको मेसिन मेरो फसेको छ, निकालेर मर्मत गर्दा दश लाख भेट्छ। टेण्डरको बेला पाँच लाख खर्च भयो, त्यो अलग। अब आएर मैले काम कसरी रोक्नु?” आवेशमा आएको ठेकेदारले जोडले टेबुल ठोक्यो।
“अनि मलाई कौनसा फाइदा हुन्छ? मेरो सरुवा भइहाल्छ। मेरो कमिशन नयाँ आउनेले पाउँछ …”, कार्यकारी पनि आवेशमा आयो, तर तत्कालै आफूलाई सम्हाल्यो।
“घाटा मलाई पनि भएको छ। केही समय काम रोक्नुस्, बजेट फ्रिज भए फेरि आइहाल्छ। तपाईंको काम म्याद थप गराएर फेरि शुरू गर्न सकिन्छ।”
“भोलि के हुन्छ कसले देखेको छ? नयाँ हाकीम कस्तो आउला? फेरि कसैले उजुरी गर्यो भने?”
‘यति कमजोर मुटु लिएर तपाईं कसरी ठेकेदार भइहाल्नुभो? जो आए पनि हामी जस्तै आउने हो। फोकटको चिन्ता किन गर्नुहुन्छ। कसरी हुन्छ पहिला एस्काभेटर निकाल्नुस्…।”
“क्रेन मगाएको छु, भोलि निस्किन्छ।”
ढल्केको जायठ छेउमा आधा पुरिएको थियो, एस्काभेटर। वरपरको माटो सकेसम्म चलाई क्रेनले उचालेर सीधै ट्रकमा राख्ने क्रममा ट्रक नै पल्टियो, धन्न ट्रक ड्राइभर सामान्य घाइते मात्र भयो। एस्काभेटर लगिसकेको सूचना पाएपछि प्रहरीले छाडेको भोला महतो सीधै पोखरीमा पुग्यो। पोखरीको नाममा त्यहाँ ढल्केको जायठ मात्र बाँकी थियो। जायठ वरिपरि हिलो भन्न मिल्ने पानी जमेको थियो। ऊ त्यही जायठ हेर्दै टोलाइरह्यो। मानिसहरूले उसलाई प्रहरीको धुलाइ र पोखरी पुरिएको चिन्ताले टोलाएको ठाने। तर दिनदिनै त्यही अवस्थामा देख्न थालेपछि मगज सड्किएको अनुमान गरे।
त्यत्रो ठूलो एस्काभेटर डुब्नु, निकाल्दा ट्रक पल्टिनु र ठेकेदारको नोक्सानी देखेर मानिसहरू जायठको देउता नै रिसाएको ठान्न थाले। त्यही बेला कार्यकारी अधिकृतको सरुवा हुनुलाई पनि जायठकै देउताको प्रभाव माने।
जायठ अझ् पनि त्यसरी नै ढल्केको छ। मानिसहरू त्यता हेर्दैनन्। झुक्किएर हेर्न पुगे ढोगेर माफी मागिहाल्छन्।
(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)