कथा : कहिल्यै नपढिने कथा ‘मृत्युको’

~कस्तुप गैरे~kastup-gaire

बेलुका जति नै अबेरसम्म बसे पनि बिहान पाँच बजे निद्राले छोडिहाल्छ। भर्खर वसन्त ऋतु सुरु हुँदै छ। यो ऋतुका बिहानी बेग्लै रंग र रौनक बोकेर आउँछन्। नित्यकर्म सकेर झ्यालबाट बाहिर आँखा डुलाउँछु। साकुराका बोटहरूले जताततै सेतो रंग भरिदिएका छन्। किन-किन मलाई यो प्रकृति पनि बिधवा भएझैँ लाग्छ।

यी फूल देखेर मलाई घरको यादले खुब सताउँछ। बिहानै उठेर आँखा मिच्दै बाहिर निस्किँदा घरमुनिको पाखामा पैँयुका फूल यस्तै देखिन्थे। हिजो ठुटाजस्ता लाग्ने रुखहरूले पुनर्जन्म पाएजस्ता देखिन्छन्, हिउँले चुसेका हाँगाहरूमा पनि जिन्दगी कुदिरहेको देख्छु म।

प्रकृति र मान्छेको जीवनमा के फरक छ? मृत जस्ता देखिने रुखहरू यसरी फुल्ने दिन आउँछ भने मान्छेको जीवनमा पनि फुल्ने समय कसो नआउला? यस्तै सपनाले जिउँदो हुनुको आभाष दिलाउँछन्।
वातावरणले मलाई भावुक बनाइदियो। म फेसबुक खोलेर मन भुलाउने प्रयास गर्न थालेँ।

अचानक ऊ मेरो कोठामा छिर्‍यो। सधैँ अबेर उठेर आँखा मिच्दै काममा जाने मान्छे आज के भएछ! अस्वभाविक लागेर मैले प्रश्न गरेँ- के भयो ? तिमीलाई सन्चो भएन कि क्या हो!

त्यस्तो केही होइन दाइ। धेरै दिन भो सपना नराम्रो देख्न थालेको। आज पनि बिहानीपखको निद्रामा आमा र दाइलाई देखेँ। मलाई लिन आएका अरे, त्यसपछि त निद्रै लागेन। अरु सबै मस्त सुतेका छन् हिजो अबेरसम्म तास खेली बसेर। ऊ झन् उदास देखियो।

‘सपना त जस्तो पनि देखिन्छ नि। कामको थकानले घरको याद धेरै आएर सपनामा आमा दाइलाई देख्यौ होला। फेरि आफ्नो आमा र दाइ सपनामा देखिएको नराम्रो हो र? सपनाका कुरा म त्यत्ति जान्दिनँ,’ उसलाई सान्त्वना दिंदै भनेँ।

अरु दिन यो मान्छे देखेर मलाई डाह लाग्थ्यो। कहिल्यै रिसाएको देखिनँ, दु:खी भएको पनि थाहा पाइनँ, उसले कहिल्यै कसैसँग गुनासो गरेन। दुनियाँमा हरेकका आफ्नै कथा हुन्छन् भन्ने जान्दाजान्दै पनि मैले उसको धेरै डाह गरें। ऊ जस्तै खुसी हुन म किन सक्दिनँ? आखिर मन त उसको पनि छ संवेदना ऊभित्र पनि छ तैपनि उसको तुलनामा म आफूलाई सधैं दु:खी भएको पाउँछु।

एकदिन उसले भनेको पनि थियो- ‘दाइ, तपाईं त कस्तो पिन्चे मान्छे। सधैँ निरास देखिनुहुन्छ, लेख्नुहुन्छ उस्तै दु:खका कथा। सानातिना दु:ख त जसलाई पनि परिहाल्छ नि।’

‘लेखिसकेपछि मन शान्त हुन्छ। एकखालको आनन्द प्राप्त हुन्छ, सहबासपछिको चरमानन्द जस्तो। लेख्नु पनि आखिर स्खलित हुनु न हो। मान्छेले दु:खका कुरा मनमा राख्नु हुँदैन, कसैलाई भन्नुपर्छ अथवा लेख्नुपर्छ। मनमा दबाएर राखे पनि आखिर ती एकदिन कुनै न कुनै माध्यमबाट निस्किन्छन्। मान्छेले मनमा पीडाको भारी बोकेर सधैँभरि हाँसेको अभिनय गर्न सक्दैन, कमसेकम म सक्दिनँ,’ जवाफमा मैले भनेको थिएँ।

‘मलाई पनि एउटा कथा लेखिदिनुस् न दाइ,’  उसले मौका छोपेर च्याप्पै समाइहाल्यो।

म परिस्थितिदेखि भाग्न खोजेँ तर सकिनँ। उसले छोड्दैन भन्ने निश्चित भएपछि मैले सोधेँ, ‘कस्तो कथा?

केहीबेरको मौनतापछि उसले भन्यो, ‘मृत्युको कथा।’

‘हँ! कसको मृत्युको?’ मेरी आमा र दाइको।

मैले अविश्वासको भावमा उसको अनुहार हेरेँ। ऊ निश्चिन्त देखिन्थ्यो। म त छाँगाबाट खसेजस्तै भएँ। त्यसपछि म केही बोलिनँ। ऊ मात्रै धारावाहिक रूपमा बोल्दै गयो-

म सानै हुँदा हो। घरको अवस्था सुदृढ पार्न र जहान बच्चाको मुखसम्म माड पुर्‍याउन भनेर मेरा बाबु मुग्लान पसेका। तर मुग्लान पसेपछि कहिल्यै फर्केनन् घर सम्झेर। मेरी आमाले दिनभरी निमेक गरेरै भए पनि जसोतसो एकछाक जुटाउने प्रयास गरिरहिन्, आफू भोकै बसेर बरु हाम्रो पेट भोको राखिनन् कहिल्यै। कैयौं रात छट्पटिँदै बिताइन्, आफ्ना जीवनसाथीको प्रतीक्षामा। बरु बाबुले अर्को बिहे गरेर उतै बसेका थुप्रै खबर आए तर जीवन फुलाउने सपना देखाएर गएका मेरा बाबु कहिल्यै आएनन्। बाबुले घर छोड्नुपर्दाका ती कारण घरिघरी आए। तर, तिनको समाधान गर्न भनेर घर छोडेका बाबु एकचोटि पनि फर्किएनन्।

उसो त आमा र दाजुले मलाई कहिल्यै बाबुको कमि महसुस हुन दिएनन। १६ वर्ष उक्लँदै गरेको दाजु साहारा बन्यो आमाको। जीवनको आधाआधी नहुँदै भाँचिएकी आमाले हामीलाई हेरेर मन शान्त पार्दै गइन् सायद। गाउँका भलाद्‌मी भनिनेहरूले सकेसम्म प्रयोग गरे मी आमालाई। बिचरी उनी आफ्ना सारा दु:खका अगाडि निरिह भएर सबैका अन्याय र शोषण सहिरहिन् चुपचाप-चुपचाप।

म जीवनलाई बुझ्न सक्ने अवस्थामै थिइनँ। कहिलेकाहीँ रात छिप्पिँदै गएपछि हामीलाई सुताएर अँगेनाको छेउमा बसेर घण्टौँसम्म रोइरहन्थिन् आमा। मैले देखेको त्यत्ति हो आमाको मनको दु:ख, नत्र आमा आफैँले हामीहरूसँग कहिल्यै देखाइनन् दु:ख। बरु सबैको जीवनमा घाम लाग्छ एकचोटि भनेर सपना देख्न सिकाइरहिन्। तर खोई उनले देखेको सपनाका ती घाम जुन कहिल्यै उदाएनन् उनको जीवनमा।

कहिले हत्केलामा प्राण राखेर डरलाग्दा भिरमा जीवन खोजिन्, कहिले आफ्ना सारा इच्छा र चाहनालाई दागबत्ती दिएर हाम्रा लागि बाँचिन्। मक्किएका अस्थिपन्जर बोकेर एउटा उज्यालो खोजिरहिन् मेरी आमा सिंगो जीवनभरी।

दु:खका बोझले थिचिएर बाँच्नै नसक्ने भइसक्दा पनि हाम्रो मायाले मर्न दिएन उनलाई। जति उमेर बढ्दै गयो, उति दु:ख थपिँदै गए। अनुहारभरी चाउरिँदै गएका धर्सा बढे, काला केसहरूले रङ बदलेर सेता हुन् थाले। तर उनको जीवनको रंग बदलिएन्, खुसीका कुनै पल थपिएनन्।

दु:खसुखका सारथी मुग्लानतिरै भासिएपछि यसै पनि आमाका दु:खहरू बढिरहेकै थिए। देशमा युद्ध झन् चर्किदै गयो। एकछाक राम्रोसँग खान नपुग्ने अवस्था भोगिरहेकी उनले दिनैपिच्छे थुप्रैलाई खाना खुवाउनुपर्ने भयो क्रान्तिलाई सहयोग गर्ने नाममा। भोकभोकै बस्नु पर्ने अवस्था आउन थालेपछि म मामाघरमा बस्न थालेँ।

गाउँमा माओवादीको बिगबिगी झन् बढ्दै गयो। गाउँका युवा जति विदेशतिर पलायन हुन थाले, धेरैलाई जबर्जस्ती युद्धमा होमिन लगाइयो। त्यसपछि गाउँमा सेनाले गस्ती बढायो, गाउँभरिका परिवारका सदस्यका नाम टिप्यो। मुग्लानतिरै बेपत्ता भएका मेरा बाबु पनि शंकाको सूचीमा परे। हाम्रो घरलाई उच्च निगरानीमा राखियो।

एक साँझ गाउँमा केही बन्दुकधारीहरू आए कक्षा १० का विद्यार्थीहरूलाई लिन। मेरो दाजु पनि उनीहरूसँगै जानुपर्ने भएछ। बिचरी बुढी आमा रोइकराई गरिन् तर उनको केही लागेन। उल्टै लडाइँमा नगए मारिदिने धम्की दिएछन्।

दु:खको जड अस्तित्व बोकेर बाँचिरहेको आमाको बूढो शरीर दाइको चिन्ताले गल्दै गएछ। आमा थला परिछन्। करिब तीन महिनापछि कक्षा ९ का विद्यार्थीलाई पनि लडाइँमा सहभागी गराउन लगेछन्। अनि धामी कान्छाका छोरा अमरेले दाइलाई आमाको हाल सुनाइदिएछ। दाइ लडाइँबाट भागेर घर फर्किएछ।

त्यही दिन कसैले गाउँमा माओवादी पसेको खबर सेनालाई पुर्‍याइदिएछन्। सेनाले गाउँ घेराबन्दी गरेछ। माओवादी लुकेको आशंकामा हाम्रो घरमाथि बम प्रहार गरिएछ। हाम्रो घर धुँवा-धुँवा भएर आकाशभरी भएछ। मेरी आमा र दाइ घाम जुनको प्यारो भएछन्। भोलिपल्ट सेनासँगको भिडन्तमा आतंककारीको मृत्यु भनेर पत्रिकामा छपिए मेरी आमा र दाजु।

मामाघरमा बसेर रेडियो सुन्दै गर्दा सेनाको कारबाहीमा दुई आतंककारीको मृत्यु भनेको मैले पनि सुनेँ। जीवनभरी दुखका पहाड बोकेर बाँचेकी मेरी आमालाई मरेपछि पनि राज्यले कालो पोतिदियो। भन्नुस् त दाइ मान्छेको जीवनको मूल्य यही हो र?

उसको प्रश्नले म झस्किएँ, मेरा आँखा आँसुले भरिएका थिए। मनभित्रभित्रै भक्कानिइरहेको थियो, उसले चाल नपाओस् भनेर सकेसम्म सम्हालिने प्रयास गर्दै थिएँ। उसले थाहा पाइहाल्यो। लौ दाइ त रुन पो थाल्नु भएछ। मैले झ्याल बाहिर आँखा लगाएँ। हेर हेर दाइ त रुँदा पनि हाँसेजस्तो देखिँदो रहेछ। मैले बुझेँ, उसले मलाई हँसाउन खोज्दै छ। म रुँदा पनि हाँसेजस्तो देख्छ ऊ।  मनमा यतिधेरै पीडा लुकाएर पनि ऊ हरेक पल खुसी हुन चाहन्छ, उसलाई नियतिसँग, भाग्यसँग कुनै गुनासो छैन।

ऊ हरेक दिन समाचारहरूमा आँखा डुलाउँछ। यो जान्ने आशले कि त्यसरी हजारौंको निहत्था हत्या गरिएको युद्धले दिएको उपलब्धि देख्ने भाग्य उसको छ कि छैन। तर पनि ऊ निरास कहिल्यै देखिँदैन। भाग्य कसले देखेको छ र दाइ मान्छेको जिन्दगी आज हो कि भोलि बाँचुञ्जेल खुसी भएर बाँच्नु पर्छ। जीवनको क्षणभङ्गुरता उसले राम्रोसँग बुझेको छ, तैपनि उसको जीवनप्रतिको यस्तो धारणा मलाई पटक्कै मन पर्दैन। यो मान्छे कति छोटो सम्झिन्छ जिन्दगी, म सोचमग्न हुन्छु।

‘दाइ के सोच्नु भो कथा नलेखिदिने?’ ऊ आशावादी भएर प्रश्न गर्छ।

‘यस्ता दु:खका कुरा लेख्नु हुँदैन, विगतले सताउँछ। अब विगत बिर्सेर बाँच। फेरि कथा पढेर तिमीमा निराशा आउला,’ म उसलाई टार्ने प्रयास गर्छु।

‘लेखिदिनु न दाइ, बरु म कहिल्यै पढ्दिनँ,’ के ऊ मान्नेवाला छैन।

‘तिम्रा लागि लेखेको कथा तिमीले नै नपढे त्यसको के अर्थ?’

‘अरुले पढ्छन् नि दाइ छापिएपछि,’ उसले जिद्दी छोडेन। म चुपचाप बसेँ बसिरहेँ।

हर्न बज्यो कम्पनीको गाडी आइपुगेछ।

‘राम्रोसँग काम गर। काम गर्दा दिमागमा धेरै कुरा नखेलाउनु दुर्घटनाको डर हुन्छ।’

‘मेरो को छ र कसलाई सम्झिनु दाइ! तपाईं पो भाउजुको मायामा हराउनुहुन्छ,’ ऊ हाँस्दै काममा गयो।

जीवनको तीतोसत्य ऊ कति सजिलै स्वीकार्छ तर मलाई सुन्दा पनि कस्तो नमिठो लाग्छ। खासमा म आफैँदेखि भागेर बाँचिरहेछु, उसले हरेक परिस्थितिको सहजीकरण गर्न जानेको छ।

रातिको काम छ, खानपिन गरेर एकछिन निदाउनु पर्छ, नत्र काममा निद्राले छोप्छ। दुर्घटनाको डर हुन्छ। तर मलाई उसको कथाले दिनभर पिरोलिरहन्छ।

हिजोसम्म अर्कै रूपमा देखेको मान्छेप्रतिको मेरो धारणा अघि भर्खरैदेखि बद्लिएको छ। मान्छेका कतिथरी रूप हुन्छन्? बाहिर देखिनेजस्तै भित्र किन हुँदैन अथवा भित्र जस्तो छ, त्यस्तै बाहिर किन देखिँदैन? फेरि मान्छेले अरुको स्वाभावको निजीकरण गरेर आफू अनुसारको धारणा किन बनाउँछ? जस्तो मैले ऊप्रतिको धारणा बनाएको थिएँ।

तानतुन गरेर एउटा कथा लेखेँ, उसको मन राखिदिन। तर यो कथा भयो कि भएन ऊ आफैं जानोस्। खासमा म कथा लेख्नै जान्दिनँ। कथा टुङ्गाएर आँखाहरूलाई एकछिन आराम दिएँ। एकछिन त जबर्जस्ती भए पनि निदाउनु पर्छ, नत्र रातभरिको १२ घन्टा काल काटेजस्तै हुन्छ। मैले निदाउन प्रयास गरें।

सुतेपछि कति छिट्टै समय बितेको तर काममा हुँदा एक मिनेट पनि एक घन्टाजस्तो लाग्छ। कतै आजकल यी घडीहरू पनि बेइमानी त गर्दैनन्? म हतार हतार उठेर तयार भई कम्पनी गएँ। सुरुमा उसैलाई भेट्ने मन भयो। ‘भाइ मैले तिम्रो लागि कथा लेखिदिएँ। तर, कथा भयो कि भएन आफैँ जान्नु,’ मलाई भन्न मन भएथ्यो। तर अफसोच  कम्पनीमा साथीहरू कोही थिएनन्। म अचम्म मानेर यताउता हेर्दै थिएँ। म्यानेजरले नजिकै आएर आज काम नहुने जानकारी दियो। दिउँसो कम्पनीमा दुर्घटना भएछ। क्रेनले सामान उठाउँदा उहीँ मेरो कथाको पात्र रमेशको टाउकोमा सामान खसेछ।

म ट्याक्सी लिएर आत्तिँदै अस्पताल गएँ। सबैजना स्तब्ध देखिन्थे। उसलाई डाक्टरले दिउसै मृत घोषणा गरिसकेका रहेछन्। मलाई झनन्न रिंगटा लाग्यो, म थुचुक्क भुइँमा बसेँ। मान्छेको जीवनको मूल्य यही हो र? मेरो मनले आफैँसँग प्रश्न गर्‍यो- दाइ! मेरो लागि एउटा कथा लेखिदिनुस् न। बरु म कहिल्यै पढ्दिन क्या, अरुले पढ्छन् नि छापिएपछि। मनमा दोहोरिइरह्यो।

हाल : दक्षिण कोरिया 

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.