~महेशविक्रम शाह~
एक पाँचतारे होटेलको जिमखाना । स्टिम सौनाको सानो र सानदार कक्ष, मानौ एक प्रेसर कुकर थियो जहाँ हामी दुबैजना आलु बनेर पसेका थियौं र उसिन्नका लागि ब्यग्रताका साथ कुरिरहेका थियौं ।तर, उसको मोबाइलको घण्टीले बारम्बार मेरो ध्यान भङ्ग गर्थ्यो ।
उसको मोबाइलको रिङ्गटोन बज्दा मलाई प्रेसर कुकरले सिटी फुके झैं लाग्थ्यो । रिङ्गटोन पनि त्यस्तै थियो । कुनै कम्पोज गरिएको गीत वा संगीतको टोन थिएन । पिस्तोलबाट निस्केको गोलीको डि-कम्पोज्ड टोन थियो…ठायँ…ठायँ …। म उसको मोबाइल देखेर अचम्मित थिएँ । बाफको के कुरा, पानीभित्र पनि उसको मोबाइल बेरोकटोक ठायँ…ठायँ…गर्न सक्थ्यो ।
स्टिम बाथको बेलामा पनि ऊ तारन्तार मोबाइल चलाइरहेको थियो । उ पल्लो छेउमा थियो, म वल्लो कुनामा थिएँ । हाम्रो कम्मर मुनि सेतो तौलिया बेरिएको थियो । मेरो खिरिलो ज्यानका अगाडि ऊ भीमकाय प्रतीत भइरहेको थियो ।
तातो बाफको स्निग्ध हुस्सूले हामीदुबैलाई छोपेको थियो । रूखबाट तपतप शीतका थोपाहरु खसेझैं हाम्रा शरीरबाट पसिनाका बूँदहरु झरिरहेका थिए । बाफको तापबाट म आनन्दित बनिरहेको थिंए । मलाई लाग्दैन कि उसलाई पनि बाफसँग कुनै गुनासो थियो ।
मोबाइले फेरि ठायँ… ठायँ… गर्यो ।
“अँ के हो भन् ?
“ए…. त्यसो पो ?”
“को हो त्यो ?”
“बिजनेसम्यान !!” हेहेहेहे…..ऊ हाँस्यो ।
“ल…ल…हान्दे । घाइते नबनाएस् अस्पतालमा सीट छैन ।” उसले सम्वाद डिस्कनेक्ट गर्यो ।
ऊ फेरि ध्यान मुद्रामा बस्यो । लामो लामो सास तान्दै ऊ बाफले फोक्सो भरिरहेको थियो । गठिलो शरीर थियो उसको । हेर्दैमा आकर्षित गर्ने । पाकेको फर्सीजस्तो चिण्डे टाउको झन् आकर्षक थियो, छुन मन लाग्ने ।
मलाई छक्क पार्ने कुरा भने अर्कै थियो । उसले दुबै पाखुरामा टाटु खोपेको थियो । दायाँ पाखुरामा गान्धीको । देब्रे पाखुरामा चे गुएभरा । कस्तो कन्ट्रयाष्ट ! म पक्क परेर ती दुबै टाटु हेर्थें र फेरि आँखा चिम्लेर ध्यानस्थ भएजस्तो गर्थें । उसले हेर्दा मलाई गम्भिर मुद्रामा देख्थ्यो होला । तर, म मनमनै मुस्कुराइरहेको थिएँ ।
म उसको चिण्डे टाउको देखेर मुस्कुराउँथे वा उसका दुई पाखुरामा खोपिएका गान्धी र चे गुएभराका टाटु देखेर ! म यसै भन्न सक्दिँन । अर्ध नारीश्वर झैं थियो उसको विचार । आधा समाजवादी, आधा साम्यवादी । ऊ मौका अनुसार आफ्नो रुप र ब्यवहारलाई परिवर्तन गर्न सक्थ्यो । कहिले कम्यूनिष्ट त कहिले गैरकम्यूनिष्ट । मेरो अनुमान ।
ऊ लामो लामो सास तानेर प्राणायाम गरिरहेको थियो । अनुलोम विलोम र कपालभाति । योग गुरु रामदेवको पनि भक्त रहेछ । अनुमान गरें मैले । उसले लामो सास तान्दा पेटका करङ्गहरु छुट्टिएर छवटा असला माछाहरु बन्थे । ती सलबलाइरहेका असला माछाहरु हेरी बसें म केही छिन् ।
उसको मोबाइल फेरि गर्ज्यो ।… ठायँ..ठायँ..ठायँ….!!
उसले प्राणायाम गर्न छोड्यो । मोबाइल उठाएर हेर्यो अनि कानमा सटायो ।
“अँ भन् ।”
“के गर्नु पर्यो रे ?”
“ए….कति पेटी दिने भन्छ ?”
“पचासभन्दा घटी हुन्न भन् ।”
“ओके…डन् ।”
मैले पहिलोपटक ऊ मुस्कुराएको देखें । पछिल्लोपटकको मोबाइल संवादबाट उ खुसी देखिएको थियो । उसले कर्के नजरले मलाई हेर्यो । मैले हतपत आँखा चिम्ले र केही थाहा नपाएजस्तो गरें । एक हातले तौलिया र अर्को हातले मोबाइल सम्हालेर ऊ जुरुक्क ऊठ्यो । पछाडिबाट मैले हेरें । ऊ नाङ्गै पो रहेछ ।
ढोका आधा खोलेर एकजनाले भित्र चियायो र भन्यो:”हजुर मोबाइल म बोकौं कि !”
“भो..भो..!” ऊ बाहिर निस्क्यो ।
तातो बाफको एकोहोरो प्रहारले शरीरबाट खलखली पसिना आइरहेको थियो । मलाई डिष्टर्ब गर्ने कोही नभएकाले त्यहीँ लम्पसार परें । शरीरभित्रको पानी रित्तियो । मैले आफूलाई ताजा महसुस गरें ।
म बाहिर आएँ । आँखा डुलाएर हेरें । ड्राइ साउना कक्षको पूर्वपट्टि ऊ बेडमाथि लम्पसार परेर आराम गरिरहेको थियो । ऊसले नाइटोमुनि सेतो तौलिया ओढेको थियो । ऊसलाई हेरेर म हाँसे । आँखा चिम्म गरेर सुतिरहेको भान भए पनि सायद ऊ सुतिरहेको थिएन । मोबाईल उसको कानमा थियो र उसका ओठहरु चलिरहेका थिए ।
म सावर रुमभित्र छिंरे । न्यानो पानीको फोहोराले मेरो आद्र जीउबाट पसिना पखालियो । मैले आफूलाई ताजा भएको महसूस गरें । म बाहिर आएँ र ऊसंगैको अर्को बेडमाथि मूढो झैं पस्रिएँ । नाङ्गो शरीरलाई सेतो तौलियाले छोपें । आँखा चिम्लेर लामो लामो सास फेर्न थालें । वेट साउनाले आद्र भएको जीउमा ताजा हावाको सञ्चारले मन पुलकित हुन थालेको थियो ।
‘को रे?’
‘ म्यान पावरकी साहुनी ! फेरि अटेर गरी तेसले ?’ ऊ बोल्यो ।
‘के भन्छे?’
‘मैले पठाएको हो भनिनस् ?
‘माँ…सालीलाई भुट्दे !’
‘के ले भुट्ने रे ?? यो पनि मैले भन्नुपर्ने ? त्यो साला वकिललाई कसरी भुटेको थिइस् नि गोरु, त्यसरी नै भुट् । ठायँ..ठायँ..ठायँ… ।’
उसले दाहिने हात माथि उचाल्यो । चोर औंलालाई सिधा र बुढी औंलालाई माथितिर तन्काएर पेस्तोलको ट्रिगर दबाए झैं नक्कल गर्यो ।
उसको संवादबाट थाहा पाउन सकिन्थ्यो । कुनै मान्छे एक दुइ दिनमा मर्न गइरहेको छ । त्यो मान्छे को हुन सक्छ, म कसरी अनुमान गरूँ ? उसले मोबाइललाई छातिमाथि राख्यो । उसको मुखबाट अब गालीका पर्रा छुट्न थाले ।
‘सुँगुर्नी ! मान्छे विदेश पठाएर गाउँहरु रित्ता बनाई सकी । कमिसन भने दिन नमान्ने ! कति न आफ्नो खल्तीबाट दिन लागेजस्तो !! हर्रामी !! मैले भनेको पनि नमान्ने ??’ ऊ बुदबुदाइरहेको थियो ।
कति टेन्सन हो बिचरालाई ! म कोल्टे फर्कें । उसको सास फुलिरहेको थियो ।
‘हेल्लो..।’ ऊ फेरि मोबाइल चलाउन थाल्यो ।
मलाई झर्को लाग्यो । म जुरुक्क उठें र जकुजीतिर लम्कें । तौलिया किनारमा राखेर नाङ्गै टबभित्र पसें । पहिला खुट्टा डुबाएँ । पानीको तातोपनालाई शरीरले ग्रहण गर्न सक्ने भएपछि घुँडा डुबाएँ ,कमर डुबाएँ अनि गर्धन डुबाएँ । शरीरका छिद्रहरु खुले । लाग्यो शरीर भित्रको सम्पूर्ण फोहोरमैला रसाएर बाहिर निस्किरहेछ । जकुजीको भित्तामा अडेस लगाएर आँखा चिम्लेर रिल्याक्स मुद्रामा उँघिरहेको थिएँ म । अचानक जकुजीभित्रको पानीको सतह बढेर मेरो मुखसम्म आइपुग्यो ।
छप्ल्याङ्ग !! जकुजीभित्र कोही प्रवेश गरेको थियो । मैले आँखा उघारेर हेरें । त्यही चिण्डे थियो । उसले कानमा मोबाइल सटाएको सटायै थियो ।
‘के लेखेको छ ?’
‘राजनीतिमा अपराधीकरण !! त्यो भनेको के ?’
‘मेरो नाम पनि देखिस् ! के भनेको छ ?’
‘म जस्ता डनलाई राजनीतिक पार्टीहरुले बोकेर राजनीतिलाई बदनाम गरे रे !’
‘……खितखितखित……..।’ मज्जासँग हाँस्यो ऊ ।
‘को हो त्यो लेख्ने ? ज्यानै न ले । हातखुट्टा भाँच दे ।’ उसले मोबाइललाई भूँईमा थचार्यो ।
‘स्साला फुटपाथे पत्रकार ! अगाडि भएको भए त गोलीले उडाइदिन्थें । उफ् कति गाह्रो छ यो देशमा काम गर्न !’ जकुजीबाट म नउठुञ्जेल उसको मुखबाट गाली बर्षिइरह्यो ।
मैले फेरि सावर लिएँ र बेडमा लम्पसार परें । त्यो चिण्डेका कुराले मेरो दिमाग रन्थनिइरहेको थियो । एकछिन आरामले सास फेरुँ भने पनि कानमा त्यही चिण्डेले बोलेका कुराहरु प्रतिध्वनित भइरहेका थिए ।
‘हेल्लो…।’ उसको बोली फेरि सुनियो । ऊ पनि जकुजीबाट फर्केर मसँगैको बेडमा पल्टिरहेको थियो ।
‘अरबपति बावुसाहेब के छ हालखबर?’ ऊ फेरि मोबाइलमा बिजी देखियो ।
‘तपाईले बिर्सेपछि मैले सम्झेको नि । एकजनाले त सम्झिनैपर्यो, नत्र कसरी दोस्ती चल्छ ?”
“किन चुपचाप हो वाबु साहेब ?”
“हजुरलाई आज रोयल बारमा लगेर बियर पिलाउँ कि भन्ने सोची रा.. छु ।”
ऊ आफूले आदर गर्ने कुनै ब्यक्तिसँग कुरा गरिरहेको थियो । यस्तै भान हुन्थ्यो । तर, उसको कुरा गर्ने शैलीले भने मलाई अचम्मित तुल्याइरहेको थियो । शब्द शिष्ट, तर उच्चारण गर्ने शैली अशिष्ट ! मीठा शब्द प्रयोग गरेर ऊ त्यो मान्छेलाई थर्काइरहेको थियो ।
“बिजी !! केको बिजी हो यस्तो ? कहिलेदेखि बिजी हो यस्तो बाबु साहेब ?” ऊ हाहा गर्दै हाँस्न थाल्यो । उसको दायाँबायाँ बेडमा पस्रेर आफ्नो स्वास-प्रश्वास प्रक्रियालाई सन्तुलनमा ल्याउने कार्यमा निमग्न रहेका ब्यक्तिहरु उसको भद्दा हाँसोबाट विचलित देखिए । मुन्टो उचालेर हेरे, हाँस्ने मान्छे ऊ हो भन्ने थाहा पाएपछि मुन्टो झारे ।
“ ….सारै बैगुनी रैछस् बाबु साहेब । बैगुनीलाई गुन लाउनुपर्छ भन्छन् तँ त गुन लाउनेलाई ठहरै पार्ने पो रैछस् त !!”
उसको स्वरमा आतङ्क थियो । एक भावुक आतङ्क ! छक्क परें म ।
“ पचास पेटी दिन्छु भनेर काम गराइस् ! शत्रुलाई मराइस् ! आफू भने चैनको निद्रा सुतिस् ….साला खाते ! खोई बाँकी पच्चिस पेटी ? दुर्इ दिनभित्र मेरो हातमा आइपुगेन भने…..।’ उसले फेरि दाहिने हात माथि उचाल्यो । चोर औंलालाई सिधा र बुढी औंलालाई माथितिर तन्काएर भन्यो: ‘..ठायँ..ठायँ !!’
उसले मोवाइलको कभरलाई जोडले बन्द गर्यो ।
“….साला खाते !!” ऊ अझै गाली गर्दै थियो ।
म ऊतिर नहेरी उसका बारेमा सोचिरहेको थिएँ । किन आउँछ ऊ जिम ? टेन्सन बिसाउँन वा टेन्सन लिन ! यी कामहरु त ऊ घरमा बसीबसी गर्न सक्थ्यो । जिमखाना आफैंमा खुला ठाउँ हो, जहाँ थरीथरीका सोच र थरीथरीका ज्यान भएका मान्छेहरु आउँने गर्छन् । तिनीहरुले गर्ने हरेक शारीरिक अभ्यास र कुराकानी गोप्य हुँदैनन् । यो थाहा हुँदाहुदै पनि ऊ निसङ्कोच ती कुराहरु गरिरहेको थियो, जुन कुराहरु एक्लै हुँदा गर्न पनि मान्छेले एकपटक दायाँबायाँ हेर्ने गर्छ ।
सायद ऊ आफ्नो ध्वाँस देखाइरहेको थियो । बन्दुकको शक्तिले सबैलाई जिल्ल्याइरहेको थियो । सम्भवत: उसलाई आफूलाई चिनाउने रहर छ कि ऊ ‘डन’ हो ।
‘ऊ डन हो ।’ ऊतिर हेरेर म मुस्कुराएँ । हुन त हो, डनहरु गुमसुम रहँदैनन् । चुपचाप बस्दैनन् । देख्दा पनि अपराधीजस्ता लाग्दैनन् । ह्याण्डसम हुन्छन् । सधैं सुटेड बुटेड ! चुम्वकीय आकर्षण भएका । पैसा र पावरको संगमस्थल ! मै हुँ भन्ने सुन्दरीको मनलाई पनि घोडाको लगामझैं खिच्छन् ।
सुन्दरीहरु तिनका पछि किन लाग्छन् थाहा छैन मलाई । पैसा र पावरको गुरुत्वाकर्षणले हो वा देहको आकर्षणले, यसै भन्न सक्दिनँ म । तर, डनका पछिपछि सुन्दरीहरु मात्र हो र ! नेताहरुको पनि भरमार ताँती लाग्छ भन्छन् मान्छेहरु ।
‘हेलो….।’ उसको मोबाइल फेरि चालु भयो ।
‘हो.. म बोल्दैछु ।’
‘ ए…कुरा त ठिकै हो नेताज्यू तर म तपाईको पार्टीमा कसरी आउनु ? मेरो पार्टी छँदैछ नि ।’
उसको संवादले मेरो ध्यान नराम्ररी खिच्यो । मैले सास रोकेर उसको कुरा सुनें ।
‘चुनावमा टिकट पनि दिनुहुन्छ ?’
‘चुनावमा हामीजस्ता डन कहाँ जित्छौं र नेताज्यू ? तपाईहरुले उल्लु बनाउने मात्र हो ।’
‘ए हो र ! समानुपातिकको सिट दिनुहुन्छ ? क्या बात नेताज्यू ।’
‘हाहाहा…..क्या गज्जब नेताज्यू । मेरो मनको कुरा थाहा पाएझैं भन्नु भो नि । हो त्यसपछि मलाई मन्त्री बन्न कसैले रोक्न सक्दैन । अरु मन्त्री त के खानु नेताज्यू गृहमन्त्री पाए त नाइँ भन्न सकिन्न ।’
उफ् के भनिरहेछ यो ? मलाई भाउन्न भयो । सेतो तौलियाले छोपिएको मेरो शरीरभित्र हलचल भइरहेको थियो । म उसका बारेमा नै सोचिरहेको थिएँ । डनहरु नेता हुने भए, नेताहरु के हुने ? डन !!
खितखितखित…..अचानक हाँस्न थालें म । मैले डन सुतेको बेडमा हेरें । डन थिएन । तर, तकियानिर उसको मोबाइल थियो । मोबाइलमा अहिले श्रीमद्भागवत गीताका श्लोकहरु गुञ्जिरहेका थिए ।
‘……यदा यदा ही धर्मष्य…..!’
म तौलिया हातले च्यापेर ड्राइ सौनाभित्र छिरें । ऊ त्यहीँ थियो । काठको फल्याकमाथि सेतो तौलिया ओछ्याएको थियो । र, ऊ आँखा चिम्म गरेर वुद्धको आसन लगाएर सौनाको आनन्द लिइरहेको थियो । उसको शरीरबाट खल्खल्ती पसीना निस्किरहेको थियो ।
म एक कुनामा टुसुक्क बसें । उसले मेरो उपस्थितिप्रति कुनै प्रतिक्रिया जनाएन । केही समयपछि उसले आँखा खोल्यो । मैले देखें उसका आँखामा बेग्लै चमक थियो । मतिर हेर्दै ऊ मुस्कुरायो । ऊसलाई हेरेर म मुस्कुराउँन सकिनँ ।
‘हजुर, मोबाइलको घण्टी बजिरहेको छ ।’ जिमखानाको सेवक ढोकामा देखापर्यो ।
‘अँ भन् ।’ मोबाइलमा बोल्यो ऊ ।
‘म आफै जानुपर्ने ? के मुर्गा भीआइपी हो ?
‘ए… अनि कति पेटी हो ?’
‘एक खोका !!! ओके डन ।’
ऊ जुरुक्क उठ्यो । तौलियाले कम्मरमुनिको भाग बेर्यो र ड्राइ सौनाको कक्षबाट बाहिरियो । म पनि बाहिर आएँ । सावर लिएँ र फेरि बेडमा पल्टिएँ ।
मैले झोलाबाट आइपड र मोबाइल झिँके । कानमा एअरफोन घुसाएँ र सेन्टिमेण्टल गीतहरु सुन्न थालें । गीत सुनेर दिमाग अलि फ्रेस भइसकेपछि मैले आइपड सुन्न बन्द गरें । मोबाइलमा एउटा नम्बर थिचें र कानमा लगाएँ ।
‘हेलो… डन नं. १ इज डेटएक्सपायर्ड । डिष्ट्रोय हिम इम्मिडियट्ली !’
झण्डावाल गाडीमा घर फर्किरहेका बेला मेरो सुरक्षा गार्डले भन्यो : ‘हजुर भर्खरै यहाँ एउटा मान्छेको गोली हानी हत्या भएछ । त्यो मान्छे जिम गरेर फर्किदै थियो रे !’
मैले नसुने झैं गरें । मैले कुनै चासो नदिएपछि गार्ड चुप लाग्यो ।
सधैं झै म अर्को दिन जिमखानामा गएँ । एक घण्टा जिम गरिसकेपछि स्टिम बाथ लिन गएँ । वेट सौनामा लामा लामा केसराशी भएको एक खाइलाग्दो ब्यक्ति बसिरहेको थियो । ऊतिर हेर्दै म मुस्कुराएँ ।
ऊ मोबाइलमा कसैलाई आदेश दिनमा व्यस्त थियो । यो मेरो नयाँ डन थियो, जो मलाई चिन्दैनथ्यो कि म उसको बडा डन हुँ ।
अस्तु
(स्रोत : अनलाईनखबर डट कम)