~रामलाल जोशी~
सबैलाई विपक्षी बनाएर गई। भन्थे सबै, जाँदा कमला नाकै कटाएर गई। मलाई सम्झ्ना छ, गाउँलेहरूले छोइछिटो गर्न बाँकी राखेनन्। आइमाईहरूले थुथुमै बगाए उसको जिन्दगीलाई। छिमेकीहरूले छाक छोड्न लगाए उसको नाममा। भाइबन्धुहरू झ्न् के कम? खल्को हाल्न लगाए उसको नाममा। यस्तो उद्वेलित अवस्थाको सामना गरेर चित्त बुझाउन सक्ने हिम्मत थिएन, साइँला काकामा पनि। परिस्थितिले मन एकोहोर्याएर ल्याएपछि मटु गाँठो पारेर काकाले घोषणा गरे, “कमला मरी आजदेखि हाम्रा लागि।”
मलाई पनि लाग्यो– हो, कमला दिदी मरी आजदेखि।
मरेको मान्छे धर्तीमा आउँदैन फेरि, गाउँमा फर्किंदैन कहिल्यै। यस्तो विचारले मनको एउटा कुना चिसो भइरह्यो हिउँजस्तै। अर्को मनले गम्यो– सबैले थुथुमा बगाएकी छडुल्नी मरे के भो? हाइसञ्चै भो। आक्रोशले उब्जाएका यस्ता तर्कहरू आवाज बनेर प्रकट भए होलान् मेरा मुखबाट पनि।
धेरै दिनसम्म कमलाको सराद्धे भइरह्यो गाउँमा– चोक–चौतारी, धारा–पँधेरा सबैतिर। राति सत्र पटक ओल्टोकोल्टो फर्किंदा सोचें– आखिर के गरी कमलाले त्यस्तो र उसका नाममा खल्को हाल्नु पर्यो? आखिर के गरी त्यस्तो र थुथुमा बगाउनु पर्यो उसलाई? आखिर नाक कसैको काटेकी थिइनँ, आँखा कसैका फोडेकी होइन। न त कसैका कान नै थुनेकी हो। सत्र लागेकी कमला हिंडिदिई, सुनार केटोसँग। बस्, उसको गल्ती त्यत्ति हो।
‘थुक्क’ भन्न मन लागिरह्यो, तर भन्नु कसलाई, भनिसक्नु कसरी?
“पोइल त सबै जान्छन् नि बाबै! कमला जाँदा कहाँको आकाश खस्यो?” बस्, एउटी पुजार्नी बज्यै बाहेक कोही थिएन कमलाप्रति सहानुभूति राख्ने। सबैको एक स्वर थियो– “गाउँको नाकै काटी राँडले।”
तर, काले सुनारको छोरा एकिन्द्रेसँग छाती चौडा गरेर हिंडिरही कमला। आखिर मायाले नै उडेकी न हो, आफ्नै जिन्दगीबाहेक कसैको पर्वाह गरिन उसले। उड्नेहरू घस्रनेसँग के धक मान्छन् र? उज्यालोमा हिंड्नेहरू अँध्यारोमा नाङ्गै बस्नेहरूसँग कहाँ लाज मान्छन् र? कमलाले त्यही गरी। उसको मयुरी चालले भुतुक्कै पार्थ्यो तन्नेरीहरूलाई। हेर्नेहरूलाई बाफिलो उसको जवानीले ठहरै पार्थ्यो। नीला–गहिरा उसका दुई आँखा स्वयम्मा दुई आमन्त्रण थिए। तिखारिंदा उसका स्तनहरूले कसलाई पो चुनौती दिएनन् र? वास्तवमा कलियुगकी करिष्मा थिई, कमला।
“थुक्क, नामर्दीपन हो यार हाम्रो। हाम्रा अगाडि सुनारको छोरालाई बहर बनाएर हिंडेकी छे यसले। मर्नु भो, यार मर्नु।”
“तँ मुला थुक निलेर बसिराख्। मनको लड्डु घिउसित खा काठा। साला ह्याउ विनाको जैरे!”
“अनि, तँ चै के हेरेर बसेको छस्? फूल पार्दै छस् झयाक्ने?”
“यसरी त यो गाउँमा बस्न सकिन्न यार दाइ। माँ–कसम मुटु सकिने भो यसलाई हेर्दाहेर्दा।”
गाउँका जवानहरूलाई यस्तो अवस्थामा पुर्याएकी थिई कमलाले। तेस्रो दिन कुमार देखिएन चौराहामा। आठौं दिनमा आशाराम आउन छोड्यो। बीसौं दिनमा वैकुण्ठ शहर पस्यो। तन्नेरीहरू लाखापाखा लागे। कमलाको आँखाको चुनौती स्वीकार्न सक्ने बुता कोसँग थियो र? जोसँग थियो उसले उडायो। कमला, कमला नै भएर हिंडिरही, सुनारकी जोई भएको कहिल्यै देखिइनँ। गल्ती गरेको अपराधबोधमा लुचुक्क परिनँ, बरु छाती उचालेरै लच्की रही।
आमाको मन न हो, कमला तल खोला किनारको तेर्सो बाटो हिंडिरहँदा माथि डाँडाघरबाट साइँलीकाकी निर्निमेष हेरिरहन्थिन्, देखुञ्जेलसम्म। आँखा त्यसैत्यसै पन्याला भएर आउँथे साइँलाकाकाका पनि। बा–आमाको मन भन्थ्यो, “कठै छोरी, हाम्रा लागि सर्क (सगर) को तारो भइस्। टाढाबाटै हेरेर सौंराई मेट्नुपर्ने भो। कैले भेट होला मेरी छोरी?”
आफ्नै मुटुको टुक्रालाई यसरी तृषित नजरले हेर्नुपर्ने विवशता! मलाई पर्खाल भत्काइदिने मन लाग्यो। कमलाले त्यो पर्खाल नाघिसकेकी थिई। ऊ खोलाको तेर्सो बाटोमा अलप भइसकेकी थिई।
एक वर्षपछि मुखिनी काकी पँधेरामा नयाँ सूचना सार्वजनिक गर्दैथिइन्, “कमलाले त पोइ बदली नि!”
“काँ गैछे फेरि?”
“पल्मा बजारको बूढो साउसङ्ङ गई अरे राँड।”
“एक वर्षसम्म सुनारको छोरालाई मजा लुटाएर सिंगाने बूढाको ओछ्यान बन्न गइछे पातर्नी!”
फेरि भई चर्चाकी पात्र कमला दिदी। कोही भन्थे– सुनारको जम्मै सुन लगेर टाप कसी। कोही भन्थे– सुनारले छोड्दियो अनि के गरोस् त बिचरी? खास कुरा के थियो कमला नै जानोस्। तर, ऊ गई अर्को पोइल। चर्चा भैरह्यो, गाउँमा उसको।
साइँला काकाकाकी फेरि अपमानमा पिसिए। यस्तै हो सन्तानले रुवाउँछ। साइँला झ्ोक्राइरहे, साइँली काकी रोइरहिन् धेरै दिनसम्म। भनिरहन्थिन्– “तेरै सुर्ताले परान जाने भो कमला, रुवाएरै मार्ने भइस् बा।”
तर, कमला आफ्नै पक्षमा बाँचिरहेकी, हाँसिरहेकी थिई। समय पूर्ण रूपमा ऊसँग सहमत थियो। उसलाई सामाजिक असहमतिको पर्वाह थिएन।
एक वर्ष नपुग्दै नराम्रो खबर सुनियो– बूढो साहु मास छर्न गएछ। अब बूढाका लाठे छोराहरूले कमलालाई लखेट्ने निश्चित थियो। तर, कमला त्यो दिन आउनुअगावै टाप कसी त्यहाँबाट। कुनै ग्लानि, पश्चात्ताप नभए जस्ती कमला दिदी एक वर्षपछि देखा परी एउटा जवानका साथ। उसलाई विगतप्रति पश्चात्ताप, भविष्यको फिक्री र समयसँग कुनै गुनासो थिएन। र, थिएन जिन्दगीमा कुनै असन्तुष्टि पनि। कमला पूर्णरूपमा आफ्नो जिन्दगीलाई माया गरिरहेकी थिई, समयलाई छक्याएर जीवनको मजा लुटिरहेकी थिई।
निन्दाभन्दा पर कहिल्यै रहिन कमला। नयाँ–नयाँ कुराहरू सुनिइरहन्थे उसका। अस्ति धनमान साहु, हिजो अनन्त अधिकारी, आज अर्कैसँग छे भन्ने सुनिन्थ्यो। यसैगरी उडीरही ऊ नयाँनयाँ भमराका साथमा। ऊ हावामा सुगन्ध फैलाउन फुलेको फूल हो, भमराहरू ‘मरिलानु के छ र जिन्दगीमा?’ सोच्दै समर्पित भइदिन्छन्। यस मानेमा, संसारभरका युवतीको भाग्य खोसेकी थिई, कमलाले।
एकिन्द्र सुनार, पल्मे साहु, जब्बरे विष्ट, धनमान खत्री, अनन्त अधिकारी हुँदै एकदिन कमला जमीनदार थारूकी रानी हुन पुगेको खबर सुनियो। यथार्थको भ्रम दिएर आँखा अगाडि घुमेको रिलको कुरा होइन, कमला दिदीको जीवनको यथार्थ कथा हो, यो। संसारका सबभन्दा भाग्यमानी मानिसले आफ्नै जीवनमा भोगेको कथा।
जसले जे भनून्, कमला समयभन्दा धेरै बाठी थिई। उसका लागि समय सधैं मौन रह्यो। मौन भएर बस्न नसक्ने मान्छेलाई जलाउने क्षमता राख्थी ऊ। मान्छेको मनस्थितिलाई चिसो हुन कहिल्यै दिइनँ उसले। कहिलेकाहीं मलाई भन्न मन लाग्थ्यो– “वाह्, कमला दिदी वाह्!”
लाग्दै गयो मलाई– कमला दिदीको चर्चा सुनिरहूँ। थाहा भइरहोस्– एकजुनीका लागि जन्मेका मानिसमध्ये एउटी उसको मनमाफिक चलेको छ, यो धर्तीमा। गाउँका स्वास्नी मानिसहरूले आफ्नो जीवनलाई घरको पर्खालभित्र लुकाएर राखेका छन्, तर कमला समयलाई लगाम बनाएर आफ्नो युगको घोडा हाँकिरहेकी छे।
झीरमा उनिएका मासुका चोक्टाझ्ैं पुरुषका लिङ्गमा उनिइरहनुपर्ने बाध्यता उसले तोडेकी थिई। उसले लैङ्गिक सत्ता अस्वीकार गरेकी थिई र मृत पुरुषको नाममा जीवन सुकाउनुपर्ने विवशतालाई पनि खारेज गरेकी थिई। वाह् कमला दी वाह्!
सात वर्षपछि हराई कमला एकाएक सिनबाट। फेरि सराद्धे शुरू भयो उसको। उसका कुनै अङ्ग बाँकी थिएनन्, जो सरापमुक्त रहेको होस्। खिसिटिउरीका अड्कलबाजी काटिरहे मानिसले– भिरङ्गी लागेर मरी होला कमला। कोही भन्थे– एड्स लगेर सकिई। कोही मजबूत दावी पेश गर्थे– कमलाको उत्पात सहन नसकेर जिउँदै गाडिदियो थारू जमीनदारले। कोही भन्थे– खोलामा हाम फालेर मरी, आनन्दै भो। नरहे बाँस नबजे बाँसुरी।
गाउँमा मुखिनी काकीको सूचना सही मानिन्थ्यो अरूको भन्दा। उनले भनिन्, “एउटा देशीका पछाडि लागेर गई अरे इन्डियातिर। संसार फेरेर खाने भई फिरन्ता राँड।”
जेहोस्, कमला हराइ सिनबाट। हाइसञ्चो मानेका लोग्नेमान्छेहरू भन्थे– गाउँका अरू बैकिनी (तरुनी) का दिमाग भाँड्न आँटेकी थिई, पुसको चरोझैं बेपत्ता भई, निको भो। खिसिटिउरी गर्दागर्दै समयले चौथो वर्षको नेटो काट्दै थियो। कमला कहाँ, कोसँग छे कसैलाई थाहा थिएन। चरीझैं कहाँ उडी कमला? रेडियो सुन्नेहरू कोही अनुमान लगाउँथे– बेचिदियो होला कमलालाई कोठीमा।
गाउँमा कुनै पात हल्लिंदैन कमलाका पक्षमा। तर, आखिर बाबु हुन्, साइँलाकाका। आमा हुन् साइँलीकाकी। कस्तो हुन्छ बाबुको मन? छोरा भएर अनुभूति गर्न कहाँ सक्नु! कस्तो हुन्छ आमाको मन? छोरी भएर कहाँ अनुभूति गर्न सक्नु! साइँलाकाका बाबु भएर दुःखी रहे। साइँलीकाकी आमा भएर रोइरहिन्। पर सगरमा मिल्नमिल्न खोजेको डाँडाको टुप्पोबाट ओरालो झ्रेको एउटा मान्छे घर पुग्दासम्म एकोहोरो हेरिरहन्थिन्। चेलीत्यारमा माइत आएकी कमलाकी साथी बिस्नालाई अँगालोमा कसेर रोइरहन्थिन्, धेरै बेर।
काकाको अवस्था हेरेर भन्न सकिन्थ्यो– सयौं गल्ती माफ गरेर गलामा लाउने थिए छोरीलाई। काकीको अवस्थाले भन्थ्यो– चाहे धिक्कार गरुन् गाउँलेहरूले, हजार गल्ती माफ गरेर रसाएको छातीमा टाँस्ने थिइन् बेसरी उनी छोरीलाई। आफैंबाट छुट्टिएर गएको शरीरको एक अंश पाउन जस्तो मूल्य पनि चुकाउन तयार थिए, साइँलाकाका र काकी। असह्य भइरहेको थियो, उनीहरूको यो अवस्था, तर विचरा म! गर्न के नै सक्थें र!
‘बाआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि।’ घरीघरी यो उखान सम्झ्न्थे साइँलाकाका। काकी बिर्सेजस्तो गरी मनमा गाँठो पार्थिन्, तर बिर्सन कसरी सक्दी हुन्। मामुली कुरा कहाँ थियो, सन्तानको कुरा थियो। छमछम चुराको चाल दिंदै माथिल्ला खुरकुट्टीबाट तल र्झ्छे कि भन्ने आशा साइँलीकाकीको धमिलो नजरमा आएर प्रकट हुन्थ्यो। तर, कमलालाई देख्न चाहने आँखाहरूमा छल नै छल गरेको थियो, समयले।
काकीलाई लागिरहन्थ्यो– कहाँ बसेकी होली कमला? अचेल कस्ती भइहोली? उसको केश उस्तै लामो होला त? यस दुनियाँमा कतै होली कि नहोली मेरी छोरी? मातृत्वका आलापहरू मुटुमा गुम्सिरहेका थिए। यही स्नेहको त्यान्द्रोमा अल्झ्िएको थियो, बाआमाको परान। बाबुआमालाई पुत्री वियोगको पीडामा जराजीर्ण बनाउँदै समय आफ्नो गतिमा बगिरह्यो।
बाह्र वर्षमा कालीखोलाले आफ्नो बाटो फेरेको थियो। बाँसुने गैराको पल्लो भीर खसेर थुनिएपछि गाउँको पुछारसम्मै आइपुगेको कालीखोलाले तल्लोकोटको खेतबारी खालाजस्तो गरिरह्यो। बर्खाभर उसको सङ्गीतमय ताण्डव चलिरह्यो। असोजको अन्तिम सातातिर भने पानी सङ्लिएर रहर लाग्दो बग्न थाल्यो, कालीखोला।
गढतीरका ठूल्ठूला सेता ढुंगाहरूमा आइमाईहरूले धोएर सुकाएका रङ्गीचङ्गी लुगाहरूले पूरै बगरलाई सुन्दर पार्थे। तल्लो कोटका खेतहरूमा धानका बाला सुनौला हुन थालेका थिए। गाउँमा दशंैको रौनक भित्रिसकेको थियो। घरघरमा महाकाली, महालक्ष्मी, महासरस्वती प्रवेश गरिसकेका थिए। कालीखोलामा माछा मार्न जाने योजनामा रहेका हामी अल्लारे ठिटाहरू साइँला काकाको आँगनमा जम्मा भएका थियौं।
कमला दिदी भागेको बाह्र वर्षपछिको एकदिन थियो, त्यो। त्यही दिन गाउँमा रोमाञ्चकारी दृश्य देखा पर्यो, धुलीडाँडाको साइँलाकाकाको त्यही आँगनमा, जुन सर्वथा अनपेक्षित थियो।
राजा मधुकरको जस्तै एउटा उद्याम घोडा सुरिला टापहरू बजाउँदै घरतर्फ आइरहेको देखियो। घोडाको हिनहिनाहट कम उत्तेजित र रोमाञ्चकारी थिएन। त्यसका पछाडि अरू आधादर्जन घोडा हिनहिनाउँदै आइरहेका थिए। हतप्रभ हामी हेरिरहेका थियौं– अगाडिको अरबियन घोडामाथि सवार सितारा जडित परिधानले वेष्ठित नारी आकृति क्रमशः प्रष्टिंदै आउँदैछ। लाग्थ्यो, दशैंको यो साइतमा गाउँमा साक्षात् महासरस्वती पस्दैछिन्, पछाडिका घोडाहरूमा विविध आभूषणले युवकहरू थिए।
महिलाहरू झयाल र कौसीबाट यस्तो अप्रत्याशित दृश्य हेरिरहेका थिए भने केटाकेटीहरू आँगनमा जम्मा भएका थिए। बूढाबूढीहरू गुमेको नजर आँखामा फिर्ता ल्याएर हेर्ने जोडबल गर्दै थिए भने तन्नेरीहरू जडवत् भएर हेरिरहेका थिए। सबैमा समान कौतुहल थियो– को हुन यिनीहरू? चरम कौतुहलताको पटाक्षेप हुन धेरै समय लागेन– उईईई… कमला! ओहो बाह्र वर्षमा खोलो फर्क्यो। आम्मै, ए कमला आई, … कमला आई!
आश्चर्यको सीमा थिएन। सबैका अगाडि आकाशबाट अकस्मात् झ्रेझैं भएकी कमला थिई। बदनाम पछि गुमनाम भएकी कमला थिई। सबैका हृदयमा विस्मयका काँडा उमि्रएका थिए, तर थिए सबै पुलकित।
साइँलाकाका यो अप्रत्यासित खुशीको सामना गर्न सकिरहेका थिएनन्। उनका आँखामा त्यसैत्यसै आँसु आइरहेका थिए। काकी घोडसवार युवतीमा छोरी कमला खोजिरहेकी थिइन्। उनको पनि हृदयमा भरिएको सौंराई आँखाबाट बगिरहेको थियो। छोरीको हात समातूँ समातूँ, छातीमा टाँसूटाँसू भइरहेको थियो, उनको मन।
कमलाले बाबाको अँगालोमा तातो सास फेरी, आमाको छातीमा लीन भई। संसारलाई ठाडो पारेर हेरेको शिर बाआमाका छातीमा झुकाई। एकएक आफन्त र मान्यजनलाई प्रणाम गरी। यतिका वर्षपछि पनि कमला उस्तै थिई। उसमा कुनै पश्चात्ताप, ग्लानि अथवा अभिमान थिएन। ऊ आफ्नो प्यारो गाउँको घरआँगनमा थिई, त्यसैले उसलाई असुरक्षा महसूस थिएन। उसले आफ्ना अंगरक्षकहरूलाई खाना ख्वाएर फिर्ता पठाई।
साइँली काकीको बोली फुटिरहेको थिएन, ओठ थर्थराइरहेका थिए। हृदयमा खुशी यति अटाई–नअटाई कि आँखा त्यसैत्यसै अश्रुमय भैरहेका थिए। उनी काखमा लिएर कमलालाई मुसारिरहेकी थिइन्। मातृत्वको यो धाराभन्दा पर स्नेहको कुनै सागर छैन। मिलनको योभन्दा अर्को चरम रूप छैन।
आफ्ना पाइतालाका छापहरू पहिल्याउँदै कमला दिदी गाउँमा घुमिरही। आफू पढेको विद्यालय, दुर्गा भगवतीको मन्दिर, आमा सेवा समूह, बाल सिर्जना क्लब, नारी उत्थान समाज, युवा स्वाभिमान मञ्च सबैतिर, जहाँतहीं। ती सबले कमलाबाट उदार आर्थिक सहयोग पाए। बूढापाकाहरू भन्न थाले, “धन्य चेली कमला, साकार भयो तेरो जन्म।” सुनियो– शहरमा तीनवटा ठूला उद्योग सञ्चालन भइरहेछन् उसका। शहरमा ठूलो बङ्गला छ। आफ्ना गाडीहरू छन्, ब्यांक ब्यालेन्स छ। ठूलो उद्योगपतिबाट विवाहको प्रस्ताव आएको छ। राजनीतिक पार्टीहरूबाट टिकटको प्रस्ताव आएको छ। समाजका हर मञ्च उसलाई स्वागत गर्न आतुर छन्।
“कसरी सम्भव भयो कमलाजी तपाईंलाई यत्रो सफलता?” रेडियो नयाँयुगका कार्यक्रम सञ्चालक सञ्जय विरहीले सोधे।
“मालाको फूलझैं पुरुषमा उनिएर बसेको भए म पनि आज ओइलाएर झ्रिसक्थें”, कमला दिदी आफूलाई दर्शाउँछे– “मलाई पुरुषहरूले भोग्न सकेका भए दासी बनाएर घरभित्रै थन्क्याइएकी हुनेथिएँ अथवा वेश्या बनाएर सडकमा मिल्काइएकी हुनेथिएँ, कसैको सहानुभूति, माया र आकर्षण पाउने थिइनँ। तर, मैले त्यसो हुन नदिई भोगें जिन्दगीलाई।” कमलाको यो भनाइसँग असहमत कोही थिएन। सबैले माने– कमलाले कमाल गरी जिन्दगीमा।
साइँला काकाकाकीलाई खोकी लाग्न पाएकै हुन्न डाक्टर पुग्छन् गाउँमा। महीना दिन नपुग्दै कमला आफैं हाजिर हुन्छे बाआमाका सेवामा। काकाकाकी पुलकित छन्, भगवानको घर जाने लोभ पनि छैन अब। गाउँलेहरू भन्छन्, “सन्तान होस् त कमला जस्तो।”
गाउँका युवा कमलाकै भर पर्छन्, बूढापाका आशा गर्छन्। गाउँका आमाहरूको तर्फबाट मुखिनी काकीले नै भनिन्, “भाइबैनीहरूको भविष्य तेरै भरमा छ, कमला। जसरी पार लाउँछेस्, लगा है बा!”
(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)