निबन्ध : नेपाली संगीत हिँडेको बाटो

~राप्रउ पोखरेल~raprau-pokharel

१)

नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्र्दा त्यस्तो निचोडमा पुगिन्छ । झ्याउरे वा झामरे गायन त पश्चिमका मगर, गुरुङदेखि पूर्वका राई, लिम्बू, तामाङ र खस भाषी समुदाय, यथा बाहुन, क्षत्री, दमाई, कामी र पहाडे मुसलमान समुदायसम्ममा लोकप्रिय रहेको पाइन्छ । समाजको प्रारम्भसँगै मनुष्यको जैविक रुचि र प्रकृति अनुरूप साहित्य कलाको प्रादुर्भाव भएको पुष्टि विश्वको सर्वप्राचीन ग्रन्थ ऋग्वेदको सामगायनले गर्छ ।

२)

नेपालको पहाडी समाजमा नेवार, मगर, गुरुङ, राई, लिम्बूजस्ता जातीय समुदायका आ-आफ्नै मातृभाषाका गीतहरू अहिलेसम्म थोरै भए पनि प्रचलित नै छन् । इतिहासको प्राचीन कालखण्डमा दक्षिणबाट लिक्ष्वी र पश्चिमको पर्वतीय क्षेत्रबाट मगर, गुरुङ र खस समुदायको किराँत क्षेत्र नेपाल खण्डमा आगमन र पूर्वी पर्वतीय क्षेत्रमा विस्तार भएर खस भाषा द्वितीय भाषाको रूपमा स्थापित हुन पुगेको थियो । यसरी मिश्रित जातीय बसोबासले कालान्तरमा धार्मिक, सांस्कृतिक, सामाजिक, भाषिकजस्ता आधारभूत सम्बन्धमा नेपाली जातीय एकताको रूप लिएको हामी पाउँछौं । नेपाली संगीतको स्रोत गाउँले कृषक समाजको सहजीवनमा खोज्नुपर्छ । पहाडी समाजमा झ्याउरे र असारे भाकाका गीत पूर्णतः कृषि जीवनसित सम्बन्धित छन् ।

३)

संवत् १८७१-७२ को नेपाल-अंग्रेज युद्धपछि ब्रिटिस गोर्खा भर्तीको इतिहास सुरु हुन्छ । त्यससँगै नेपाली संगीतमा ‘पप’गायन भन्न सकिने परम्परागत झ्याउरेको नयाँ एवं परिस्कृत गायनको युग पनि सुरु हुन्छ । फौजको एकांकी र निरस जीवनको दैनिकीमा आफ्नो किशोर वयको माया-प्रीति र रोमान्सिक क्षण सम्झेर गोर्खा जवानहरू झ्याउरेका नयाँ भाकाहरू झिकेर वा पुरानै भाकामा भए पनि गाउने गर्थे ।

बागलुङ राङखानीका गोर्‌या सिरस (वि.सं.१८५३–१९५०) बागलुङ बलेवाका मनवीर खत्री (गोर्‌या सिरसका सहयात्री), लमजुङ घनपोखराका माक्रुम गुरुङ ,पल्लो किराँत इलामका जयदेव राईहरूले ईस्वीको १९ औं शताब्दीको सुरुदेखि नै झ्याउरे गायनमा नयाँनयाँ भाका हाल्न थालेका थिए । गण्डकी क्षेत्रको ‘सालैजो’ भाकाको लोकप्रिय गीत माक्रुम गुरुङ (जंगबहादुरका समकालीन)ले निकालेका थिए । बीसौं शताब्दीको प्रारभ्भदेखि नेपाली भाषामा लहरी साहित्यको निर्माण हुन थालेको थियो । आनन्द लहरी, मदन लहरी, प्रेम लहरी, मन लहरी जस्ता गीतिकाव्यहरूको रचना त्यसरी भएको हो (कालीभक्त पन्त, हाम्रो सांस्कृतिक इतिहास, २०२८) ।

४)

ब्रिटिस गोर्खाको फौजी जीवनमा रहेका पश्चिम काँगडाको भाग्सु, भारतमा जन्मिएका बहादुरसिं बरालमगर (१९४७-२०१९) र भाग्सुकै ब्रिटिस छाउनीमा जन्मेका मित्रसेन थापामगर (१९५२-२००३) नेपाली भाषा–संस्कृतिको चेतना जगाउने ठूला राष्ट्रभक्त थिए । उनीहरूको काठमाडौंमा आगमनभन्दा अघि उपत्यकामा राणाका दरबार, सेता महलका नाट्यशाला/पटांगिनीहरूमा गाईजात्राजस्ता साताव्यापी चाडहरूमा हिन्दी, उर्दु र फारसीका नाटक, गीत आदि प्रदर्शन गरिन्थ्यो (एकव्यक्ति अनेक अभिव्यक्ति, सम्पादक-प्रतापचन्द्र प्रधान, २०४१) ।
-नेपाली संगीतको स्रोत गाउँले कृषक समाजको सहजीवनमा खोज्नुपर्छ । पहाडी समाजमा झ्याउरे र असारे भाकाका गीत पूर्णतः कृषि जीवनसित सम्बन्धित छन् ।

त्यसको खास कारणमा, शिक्षित र अभिजात वर्गमा तथा सामान्य जनमा पनि राष्ट्रभाषा नेपालीमा गीत गाउन सकिँदैन र नाटक खेल्न लायकका उपयुक्त शब्दहरू छैनन्, हास्य-विनोद र स्वाङ पार्ने लायक पद्धति र बोली छैनन् भन्ने बुझाइ थियो । अझ भन्ने हो भने आफ्नो राष्ट्रिय र लोकसंस्कृतिसमेत खोज्ने, प्रोत्साहन गर्ने, सञ्चय गर्ने तत्त्वको निर्माण देशभित्र भएकै रहेनछ (कालीभक्त पन्त, हाम्रो सांस्कृतिक इतिहास, २०२८, पृष्ठ १४०) ।

यसरी विदेशी भाषामा आश्रित भइरहेको हाम्रो सांगीतिक अवस्थामा अँधेरी रातको जूनझैं बहादुरसिं बराल र मास्टर मित्रसेन थापाको नाट्य-संगीत टोलीको उपत्यकामा आगमन भएको थियो । ती दुवै शत्पुरुषले नेपाली भाषामा नाटक, गीत र प्रहसन आदिको जनप्रदर्शन गरेर भारतीय गोर्खाली समाजमा मात्रै होइन नेपाली समाजकै चेतना जगाई राष्ट्रिय स्वाभिमानलाई उकास्ने काम गरेका थिए । ती दुवै अभियानकर्ताले नेपाली भाषामा पनि नाटक गर्न, राम्रा गीत गाउन सकिने रहेछ र अभिनयका हरेक पक्षलाई प्रदर्शन गर्ने भाषिक सामथ्र्य रहेछ भन्ने प्रभाव राणा दरबार र शिक्षित वर्गमा दिन सफल भएका थिए ।

५)

यता काठमाडौंका मास्टर रत्नदास खडगी राजधानीका गाईजात्रा, इन्द्रजात्राजस्ता साताव्यापी पर्वमा डबली नाच–गान र नाटक देखाउने गर्थे । राणाकालीन नेपालमा गाईजात्राजस्ता पर्वमा देखाइने नाचगान मातृभाषा नेवारी र हिन्दी, उर्दुमा हुने गथ्र्यो । त्यो वि.सं.१९७०/८० को दशकको समय थियो । त्यतिखेर आजको झैँ रेडियो, सिनेमा वा टेलिभिजनजस्ता सञ्चार साधन छँदै थिएनन् । त्यस्तोमा काठमाडौंका हिन्दी, उर्दु, फारसीजस्ता विदेशी भाषा पढ्ने त परै जाओस्, बुझ्ने सामथ्र्यसमेत थिएन । यसरी यहाँका स्थानीयले नबुझ्ने भाषामा नाचगान र नाटक गर्ने गर्दा जो कोहीलाई अनौठो लाग्नु अस्वाभाविक थिएन ।

यसो हुनुको पछाडि राणाशासक र उनका भाइभारदारहरू जिम्मेवार छन् । उनीहरूले महलका तालिमे÷सुसारेहरूलाई संगीत÷नृत्य सिकाउन भारतका उस्तादहरू झिकाएर आकर्षक पारिश्रमिक दिएर राख्ने गर्थे । मिस नजर रोशन, प्रो.बालाप्रसाद, मिस दुलारी, पञ्चबाला दासीहरू त्यसैगरी झिकाइएका कला-शिक्षकहरू थिए (मा.रत्नदासको अन्तर्वार्ता, एक व्यक्ति अनेक अभिव्यक्ति, २०४१: सं.प्रतापचन्द्र प्रधान) । उनीहरूकै हिन्दी उर्दु भाषाका शास्त्रीय संगीतको तालिमको सिको गरेर ती जात्राहरूमा भाषा नबुझेता पनि हिन्दी उर्दुमा नाटक गर्ने र गीत-संगीत सुनाउने गरिन्थ्यो ।

६)

भारतलाई कर्मभूमि बनाएका बहादुरसिं बराल र मास्टर मित्रसेन १९९३ सालमा काठमाडौं आउँदा तिनीहरूको संगत पाएर राजधानीको त्यस्तो सांस्कृतिक वातावरणमा पनि मास्टर रत्नदासले अब उप्रान्त नेपाली भाषामै गीत संगीत गर्ने अठोट गरेका थिए । एक अन्तर्वार्तामा उनले भनेका छन्- ‘१९९३ सालमा मा.मित्रसेन र बहादुरसिं बरालसँग महिनौंसम्म खाने–पिउने, गाउने बजाउने गर्‌यौँ…मैले उहाँहरूको व्यवहारमा बडो आत्मीयता पाएँ, चुरोट आदिको कुलत मैले कहिले देखिनँ…मैले देखेँ-बहादुरसिं बरालज्यूमा नेपाली जातीय लोकसंगीत प्रति ठूलो प्रेम छ । त्यस बेला मा.मित्रसेन र म दुवैले नेपाली लोकसंगीतको उत्थानको लागि प्रण गरेका थियौं बहादुरसिं बरालको समक्ष । त्यसै बेला हिन्दी-उर्दुका गीत नगाउने प्रण पनि हामीले गरेका थियौं ।’ (जीपी शर्मासँग मा.रत्नदास प्रकाशको अन्तर्वार्ता, एक व्यक्ति अनेक अभिव्यक्ति, पृष्ठ २१३ )।

७ )

यसरी नेपाली गीतसंगीतलाई नयाँ दिशा दिएर नेपाली मौलिकतालाई संवद्र्धन गर्ने प्रेरणाका स्रोत बहादुरसिं बराल र मास्टर मित्रसेन थापामगर थिए । बहादुरसिं बरालको रचना र मा.मित्रसेनको गायनकला उच्चकोटीको थियो । उनीहरूको गायनले समाजका विकृतिहरू माथि व्यंग्य गथ्र्यो र आफ्नो मौलिक कला-संस्कृतिलाई संवद्र्धन गरेर देशभक्तिको प्रेरणा दिन्थ्यो । नेपालमा झ्याउरे गीतलाई धनाढ्य वर्गको घर बैठकसम्म पुर्‌याउने श्रेय मा.मित्रससेन र मा.रत्नदास प्रकाशलाई जान्छ ।

-विदेशी भाषामा आश्रित भइरहेको हाम्रो सांगीतिक अवस्थामा अँधेरी रातको जूनझैं बहादुरसिं बराल र मास्टर मित्रसेन थापाको नाट्य-संगीत टोलीको उपत्यकामा आगमन भएको थियो ।

राष्ट्रभाषाले जन्माएको आफ्नोपनाको गीत खास झ्याउरे नै हो । त्यसैले यस मौलिक गीतको उत्थान गरी राष्ट्रिय रूप दिनुपर्छ । जीवनगीत पनि यसैका लय अनि ध्वनि र छन्दयुक्त साहित्यबाट निकालेर बन्नुपर्छ भन्ने निष्कर्ष बहादुरसिं बराल र मा.मित्रसेनको थियो । रत्नदासले त्यो शत्विचार ग्रहण गरेका थिए ।

८ )

मा.रत्नदास ग्राम्य दोषयुक्त संगीतको साटो आधुनिक परिस्कृत संगीत दिने पहिलो कलाकार हुन् । नेपाली संगीतमा अभिजात वर्गदेखि सामान्यजनको गहिरो रुचि जगाउने श्रेय उनैलाई जान्छ । १९९४ सालमा दरबार स्कुलका छात्रहरूले ‘मुकुन्द-इन्दिरा’ नाटकको सफल प्रदर्शन गरेपछि बालकृष्ण समले बिन्तीपत्र चढाए पछि नै श्री ३ जुद्धशमशेरले अब उप्रान्त जात्राहरूमा हिन्दी, उर्दु होइन । नेपाली वा आफ्नै भाषामा नाचगान गर्ने उर्दी जारी गरे, साथै पुरस्कारको समेत व्यवस्था गरिदिए । त्यसबेलादेखि राजधानीमा नेपाली भाषामा नाटक देखाउन थालियो ।

मा.रत्नदास यौटा अन्तर्वार्तामा भन्छन्- ‘नेपाली शैली, नेपाली मुटुको ढुकढुकी र नेपाली पाराका अभिव्यक्तिले मात्र आधुनिक गीतलाई नेपाली बनाउन सक्छ । भाषामात्र नेपाली हुनु त विदेशी व्यक्तिलाई नेपाली राष्ट्रिय पोसाक लगाइदिनु जस्तो मात्र हो’ (एक व्यक्ति अनेक अभिव्यक्ति, पृष्ठ २७२) ।

९ )

२००७ सालको परिवर्तनलगत्तै रेडियो नेपालको स्थापना भयो । सञ्चार क्षेत्रको विकासमा यो एउटा फड्को थियो । आधुनिक नेपाली संगीतको विकासतर्फ अघि बढ्न यसबाट अनुकूल परिस्थिति बन्न पुग्यो । जनसमक्ष आउन नपाएका कलाकार, गायक संगीतकारले थोरै भए पनि अवसर पाउन थाले । मा.रत्नदासले वरिष्ठ कलाकारको स्थान पाए । त्यससँगै नातीकाजी, जनार्दन सम, कलानाथ अधिकारी, हरिप्रसाद रिमाल, शिवशंकर, रानुदेवी, कोइलीदेवी, कृष्णमान र अरू थुप्रै गायक कलाकारले रेडियो नेपालमा आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउन सकेका थिए ।

झ्याउरे भाकामा राष्ट्रियता, देशभक्ति र जनजीवनलाई विषय बनाएर प्रस्तुत गर्ने धर्मराज थापा सामान्यजनका लोकप्रिय कवि एवं गायक थिए । त्यस्तै रेडियो नेपालबाट झलकमान गन्धर्वको ‘डाँफे चरीको गीत’ जस्तो गाथागीत र ‘हे बरै आमैले सोध्लिन् नि…’ बज्न थालेपछि नेपाली पहाडी जीवनमा जीवित रहेको गाइने गीतले आफ्नो औपचारिक अस्तित्व जनाउन थाल्यो । झलकमान गाइने परम्पराका प्रतिनिधि पात्र हुन् ।

१० )

२०१७ सालको राजनीतिक परिवर्तनपछि नेपाली संगीतले नयाँ मोड लिनपुग्यो । संगीतको संसारमा बच्चुकैलाश, नारायणगोपाल, तारादेवी, ज्ञानु राणा, मीरा राणा, इन्द्रनारायण र अरू धेरै कलाकारहरू प्रवेश गरे । धेरैजसो कलाकारको गायन यात्रा मा.रत्नदासकै संगीत पद्धतिको प्रभावमा अघि बढेको थियो ।

उता भारतको दार्जिलिङमा नेपाली संगीतको एउटा नयाँ धारको विकास भइरहेको थियो अम्बर गुरुङको अग्रसरतामा । शरण प्रधान, कुमार सुब्बा, कर्म योञ्जन, शान्ति ठटाल, दिलमाया, अरुणा लामा, जितेन्द्र बर्देवा आदि कलाकारहरूको ठूलो समूहको उदय भएको थियो । दार्जिलिङको यो समूहले काठमाडौंको गायनशैलीभन्दा फरक गरी पाश्चात्य र बंगाली संगीतको प्रभाव ग्रहण गरेको थियो ।

११ )

बीसको दशकमा गोपाल योञ्जन र अम्बर गुरुङ नेपालमा स्थायी बसोबास गर्न थालेपछि नेपाली संगीतमा एउटा नयाँ र सुखद अध्याय सुरु हुन्छ । गोपाल योञ्जन र नारायणगोपालको जोडीले आधुनिक नेपाली संगीतलाई आफ्नो मौलिक रूपमा श्रुतिमाधुर्यसँगै भावपूर्ण गायनको गुणवत्ताले हिन्दी गीतसँग प्रतिस्पर्धा गर्न सक्नेगरी उचाइमा पुर्‌याएका हुन् ।

नारायणगोपालले आफ्नो गायनमा लोकलयमा हिन्दुस्तानी र पाश्चात्य संगीतको प्रभावलाई पचाएर एक छुट्ट रूपमा नेपाली संगीतलाई उचाइ थपेका छन् । नारायणगोपाल गीतको भावअनुसार नै स्वराभिनयका साथ संगीत भर्थे, जुन खुबी मा.रत्नदासमा थियो, अम्बर गुरुङ र गोपाल योञ्जनमा पनि पाइन्छ । ती चारै कलाकारहरू अब हाम्रा बीचमा रहेनन् ।

१२ )

अम्बर गुरुङले नेपाली संगीतलाई एउटा छुट्टै धार दिएका छन् । उनी विलक्षण प्रयोगवादी कलाकार थिए । सुरुताका उनका गीतहरू पाश्चात्य शास्त्रीय धुनहरूबाट बढी प्रभावित हुने गर्थे । तर पछिपछिका संगीतमा परिष्कारसँगै नेपालीपनको सुगन्ध पनि आउन थाल्यो । नेपाली संगीतको इतिहासमा उनको योगदानलाई चिरकालसम्म सम्झना गरिनेछ ।

बीसकै दशकमा जन्मेको ‘लेकाली समूह’ लोकसंगीतको लागि निकै लोकप्रिय बनेको थियो । यस सांगीतिक समूहले जिल्लाजिल्लामा गई कार्यक्रम प्रदर्शन गरेर आफ्नो ख्याति फिँजाएको थियो । यस समूहका अभियानकर्तामा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक, इन्द्रनारायणहरू थिए ।

१३ )

गोपाल योञ्जनमा हिन्दुस्तानी संगीतको लघुताबोध थियो कि भन्ने लाग्छ । उनले हिन्दुस्तानी संगीतमा पनि दक्खल छ भन्ने देखाउने विचारले होला ‘मेरो पाउमा आज घुँगरु बाँध मायाले मलाई बोलायो…’ बोलको गीत मीरा राणाको युगलबन्दीमा गाएका थिए । हिन्दुस्तानी शास्त्रीय विधिमा गाइएको यो गीतमा नेपाली भाषामा गाउनुबाहेक नेपालीपन पाइँदैन । तर उनैले गाएको ‘म त तिम्रो घनश्याम, तिमी मेरी राधा पियारी…’ गीतको आधार हिन्दुस्तानी संगीत भए पनि यसमा नेपालीपनको अनुभव हुन्छ ।

-नारायणगोपालले आफ्नो गायनमा लोकलयमा हिन्दुस्तानी र पाश्चात्य संगीतको प्रभावलाई पचाएर एक छुट्टै रूपमा नेपाली संगीतलाई उचाइ थपेका छन् ।

अर्का मीठो स्वरका धनी फत्तेमान राजभण्डारीले नारायणगोपालको संगीतमा गाएको ‘वनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले..’ ले उनको उच्च गायन क्षमतालाई प्रमाणित गर्छ । २०१७ सालपछिका कलाकारहरूमा बच्चु कैलाश, तारादेवी, मीरा राणा, ज्ञानु राणा उल्लेख गरिने नामहरू हुन् । कुनै समयमा लोकप्रिय बनेको ‘हात काट्यो बरै जालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले…’ गीतकी गायिका उजेली मैयाँ, ‘झलक्क हेर्दा चिनेझैँ लाग्छ, घर कहाँ तिम्रो भनन बटुवा…’ गायिका धर्मादेवी आज हाम्रो स्मृतिमा छैनन् ।

त्यस्तै, ‘परदेश जाने लाहुरे दाइ, सम्चार पुर्‌याईदेऊ;छोडेर जाने निठुरीलाई..’ गाउने सरला जोशी, ‘धेरै सम्झे धेरै हुन्छ,थोरै सम्झे थोरै हुन्छ…’ गाउने इन्द्रनारायण, कलानाथ अधिकारीका देशभक्तिका गीत, जनार्दन समका लोकधुनका आधुनिक गीतहरू अचेल सितिमिति सुन्न पाइँदैन । त्यस गीतका रेकर्डहरू रेडियो नेपालको लाइब्रेरीमा कतै धुलोको पत्रमा थिचिएर बसेको होला अथवा हराइसके । यता लोकगीतको परिमार्जित गायनमा पनि राम्रा कलाकारहरू आएका छन् ।

शम्भु राई, नारायण रायमाझी, राम थापा, इन्द्र गुरुङ, सिन्धु मल्ल, विष्णु माझी, बिमाकुमारी दुरा र अरू कलाकारहरूले गाएका लोकधुनका गीतहरूले नेपाली संगीतको लोकप्रियतालाई उचाइमा पुर्‌याएको छ । यिनीहरूकै गायनले गर्दा लोकदोहोरीले पनि प्रतिष्ठा पाएको हो ।

१४)

नेपाली संगीतको विकासमा अग्रजहरूले बसालेको जगमै पछिका पुस्ताले इँटा थप्तै आएको माथि विवेचना गरिसकिएको छ । उनीहरूले गाएका गीतहरू नयाँ पुस्तालाई परिचित गराउन रेडियो नेपालको प्रमुख दायित्व रहन्छ ।

१५)

प्रस्तुत आलेख नेपाली संगीतको सर्वपक्षीय विश्लेषण राख्ने प्रयोजन नभएर त्यसको विकासक्रम र प्रवृत्तिको ससर्ती विवेचनामा केन्द्रित रह्यो । यता आएर नेपाली संगीतमा सक्षम कलाकारहरूको प्रवेश भएको छ । त्यसमध्ये राम्रो गाउने केही नामहरू छन् यथा उदितनारायण, मुरलीधर, प्रदीपराज, आनन्द कार्की, आभासलगायत सूची लामो छ ।

गायिकाहरूमा संगीता शाक्य, संगीता राना, निशा देशार, अञ्जु पन्त, दीपा झा, मनिला सोताङ आदि सूची लामै हुन सक्छ । यिनीहरूले नेपाली मौलिक धुनहरूको संग्रह, त्यसमा शोध र परिमार्जन गरेर आधुनिक संगीतको विकासमा अघि बढुन् भन्ने नेपालीहरूको अपेक्षा रहन्छ ।

१६)

पुछारमा, भन्नैपर्ने-ओमविक्रम, हरिश माथेमाहरूको संगीतको धार नेपाली संगीतको विकासको बाटो होइन । नेपाली समाजमात्रै होइन विदेशीहरू प्नि नेपाली संगीतको मौलिकता खोज्छन् । झ्याउरे, नेवारी गीत र सोरठी, मारुनी, घाँटु आदि गाथा गीतहरू त्यस्तै, तराईका समदाउन, कजरी र झुला आदिमा खोज्छन् । हिन्दुस्तानी संगीत अर्थात् शास्त्रीय संगीतको आधार पनि उत्तरी भारतका लोकधुनहरू नै हुन्, त्यसैमध्येको एउटा राग पहाडी पनि हो ।

नेपाली संगीतलाई पनि देशभित्रकै विभिन्न भाषाका लोकधुनहरूलाई साधना, शोध र अभ्यासबाट स्तरीय बनाउन सकिन्छ । हाम्रा अग्रज कलाकारहरू मेलवादेवी, हिनादेवी, मा.रत्नदास, अम्बर गुरुङ, नारायणगोपाल गुरुवाचार्य, गोपाल योञ्जनहरूले केही त्यस्तै काम गरेका थिए र उनीहरूको प्रेरणा र मार्ग निर्देशले नेपाली संगीत विकासको यो ठाउँमा आउन सकेको हो ।

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.