छन्द कविता : मधू–मिलन

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

मीठो यौवनमा गुराँसहरुले लाली चढाईदिए ।
लाली जोवनमा बुकी पनि फुले वास्ना बढाईदिए ।।
बैंशालू मनमा सुनाखरि फुले हाँगा सबै रङ्गिए ।
मेरो अन्तरमा उनी पनि फुलिन् आहा ! म नै रङ्गिएँ ।। १ ।।

वास्ना अन्तरको छरी मगमगी उन्कै मधू–यादमा ।
एक्लो यो परदेशमा कलम ली सम्झी बसेँ साँझमा ।।
एक्लो साँझ छ यो उराठ मनमा के के कुरा खेल्छ खै ।
साटौँ यी मनका कुरा पनि भने साथी कतै छैन क्वै ।। २ ।।

साथी कागज साथमा कलम यो यिन्कै सहारा लिई ।
लेख्दै यी मनका कुरा बिरहले बित्छन् बिलौना दिई ।।
उन्कै त्यो छवि देख्छु कागज भरी साथै छ जो हातमा ।
काँडा हुन् जसरी बिझे समय ती एक्ला चिसा रातमा ।। ३ ।।

कैले आँउछ त्यो घडी मिलनको पर्खाइको अन्त खै ।
पोख्ने यी मनका कुरा जति सबै कैले हुने शान्त खै ।।
कस्तो मौसम हुन्छ त्यो समयको कस्तो हुने हो गति ।
लामो अन्तरको मधू–मिलनमा आनन्द मिल्ला कति ।। ४ ।।

डा. हेमनाथ घिमिरे
बाहुन डाँडा ५, लमजुङ् ।
हाल : मैमना, अफगानिस्तान

(स्रोत : Nepalikorea.com)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.