कथा : सहिद बिर्खबहादुर

~नोवल निरौला~Nobal Niraula

शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो।

जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, कतै नभए पनि टिभी र रेडियोहरुमा । छ्यापछ्याप्ति खुलेका टिभी रेडियोहरुका लागि यस्ता दिन त दशैं जस्तै हुन्छन्, सय जनाको समूहले नारा लगाउन नपाउँदै सम्पूर्ण सहरलाई त्यसको समाचार सुनाएर हजारौँ जनाको उपस्थिति भएको समाचार सुनाउँदै जनतालाई “साँचो सूचना” को अधिकार दिलाउन तत्पर देखिने गर्छन् समाचार माध्यमहरु। जनता र सरकार त्यही “साँचो सूचना” लाई आधार मानेर आन्दोलन व्यापक चर्केको लख काट्दै थिए।

जता-जता धुँवा निस्कन्थ्यो प्रहरीहरु तत्कालै सक्रिय भै हाल्थे, आधाघन्टा नबित्दै ती स्थलहरुमा पुगेर। यसरी छरिएको प्रहरी बलले सहरमा उनीहरुको उपस्थिति बाक्लो पारेको थियो र सरकार भनिरहेको थियो प्रहरीहरुलाई संयमित भएर काम गर्ने निर्देशन दिइएको छ – यस्तो लाग्छ अरु बेला संयमित नभई काम गरे पनि हुन्छ भन्ने निर्देशन दिइएको हुन्थ्यो। नत्र यो कुरा फलाक्नुको कारण बुझ्न सकिन्नथ्यो।

दिन ढल्कदै साँझ पर्न लाग्दा आन्दोलनकारीहरुको उपस्थिति मुख्य चोकतिर बढ्दै गयो। सरकारले निषेधित क्षेत्र घोषणा गरेका कारण प्रहरीबलहरु परिस्थितिलाई नियन्त्रणमा लिन निकै तम्तयार भएर बसेका देखिन्थे। झमक्क रात पर्न लागेको के थियो एक्कासी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा बर्साउन थालिहाले। सडकका बारहरु सदाको बन्दमा झै भाँचिन थाले। प्रदर्शनकारीले प्रहरीबललाई केही पछि हट्न बाध्य तुल्याए। यसबाट प्रदर्शनकारी झन् हौसिए र प्रहरीमाथि अझ प्रहार गर्न लागे। पटक-पटकको बन्दको अनुभव बटुलेका प्रहरीहरु पनि के कम, उत्तेजित प्रदर्शनकारीलाई अश्रुग्याँसले प्रहार गर्न थाले, हवाई फायर गर्न थाले । यसपछि त्यहाँ भागाभागको स्थिति बन्यो। कसैका चपल कसैका जुत्ता यत्रतत्र छरिएका देखिन्थे।

भोलि बिहानै १ दिने बन्दको समिक्षा गर्न र जनताको व्यापक समर्थन एवं सहभागिता भएको कुरा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो। अबदेखि बन्द, आन्दोलन र हडताल नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेकोले गरेको यो पार्टीले यो ‘१ दिने छोटो बन्द’ आयोजना गरेर प्रतिवद्धतामा केही भएपनि अडिग रहेको भान जनतालाई दिइएको बताइने अपेक्षा गरिरहँदा हिजो रातिको प्रहरी दमनमा आफ्नो १ जना सक्रिय, निस्ठावान कार्यकर्ताको ज्यान गएको घटनाको विरोधस्वरुप उक्त व्यक्तिलाई सहिद घोषणा नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुको कुराले फेरि पनि सहरवासीलाई दुःखी तुल्यायो। आज पनि सहरले उस्तै सास्ति भोग्नु पर्ने भयो। के थाहा, भोलि पनि यस्तै हुने हो कि, सबै जना माखो मार्दै र सिन्को भाँच्दै घरैमा बस्न बाध्य भए।

बन्द खुलाउन अनुभवी सरकारले समस्या समाधानको लागि दिउँसो नै एक समिति गठन गरी आन्दोलनकारीहरुलाई वार्तामा बोलायो। करिब २ घन्टाको वार्तापछि अबदेखि प्रहरी दमन नगर्ने प्रतिवद्धता जनायो साथै मृतक बिर्खबहादुरलाई सहिद घोषणा गरी आश्रित परिवारलाई १० लाख दिने घोषणा गर्‍यो । यसका साथै आन्दोलनकारीले तत्काल लागू हुने गरी बन्द फिर्ता लिने सम्झौता भएको पनि घोषणा गरियो।

बन्द खुलेको घोषणा पस्चात खुसी सहरवासीहरु बजारतिर किनमेल गर्न लागे। शनिबारको आधा दिन नै भएपनि पसल, व्यापार, रेस्टुरेन्ट आदि खोल्न थाले। यसैबीच ७ – ८ जनाको समूह एक रेस्टुरेन्टमा छिर्‍यो। उनीहरु सानो स्वरमा गफ गर्दै थिए:

“यार, तैंले पार्टी दिनुपर्छ आज”

“किन पार्टी दिनु नि ?”

“पार्टी त दिनै पर्छ नि । धन्य भोलिपल्ट बन्द थियो र बिहीबार राति तेरो कारले किचिएको त्यो ‘कुत्ता’लाई सहिद बनाएर सम्मानित गर्न पाइयो। नत्र ज्यानमारा भएर कति वर्ष जेलमा बस्नुपर्थ्यो। अनि तैंले पार्टी नदिए कस्ले दिन्छ त ?”

“त्यो त हो यार। अलिक ओभर पिइएछ त्यो रात। पार्टी त दिन्छु जसरी पनि। तिमीहरुलाई थ्याँक्स है, धन्न बचियो यो ‘केस’बाट।”

“वाइ द वे, त्यो कुत्ता भाग्यमानी रै छ। कहिल्यै पनि सोचेका थिएनन् होला भरियाका सन्तानले दश लाख हातमा आउँछ भनेर। ऊ आफै पनि सहिदको नामले कहलिने भो । भाग्यमा लेखेरै आएको रै’छ” – चुरोटको ठूटो सल्काउँदै कसैले भन्दै थियो।

“केटा हो, आज पनि ओभर दिने कि ?”

“हुन्न यार, अब त चेतिनु पर्छ। फेरि भोलि बन्द छैन यार, नत्र त…”

“हा हा हा….”

यसरी बिर्खबहादुर सहिद भएपश्चात् इतिहासले उसको पानामा एक नयाँ सहिद थप्यो, पार्टीले बाँकी दिन आधा झन्डा झुकायो र (केही) जनताले रेस्टुरेन्टमा खुसियाली मनाए। उता दैनिक काम गरेर जिविका गर्ने ‘सहिद बिर्खबहादुर’को परिवार ‘जलिरहेको-मनको-राप’मा निरन्तर बगिरहेको ‘आँसुरुपी-पानी’को सहायताले पाक्दै गरेको ‘सम्झनाको-च्याँख्ला’ छड्किएको आवाज मुखहरुबाट निकाल्दै थियो: ‘क्वाँ-क्वाँ’ र ‘सुँक्क-सुँक्क’ को तरङ्गमा।

*** समाप्त ***

नोवल निरौला / फ्रान्स

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.