~जे. एन. दाहाल~
रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका थिए।
आज ऊ उमेरमा यही दुई बिस पुगेको होला । अहिले ऊ कसैको ज्वाँइ, कसैको श्रीमान र कसैको बुवा भएको छ। तर उसलाई लाग्छ सबभन्दा प्यारो त ऊ आर.बी भएको छ ।
आर.बी र रणबहादुर दुई थरीका पात्र हुन् । आर.बी ले रणबहादुरलाई चिन्दछ तर रणबहादुर आर.बीलाई चिन्दैन।
आर. बी ले चुरोटलाई चिनेको छ, खैनी जानेको छ, वियर चिनेको छ । यती मात्र हैन खैनी च्याप्ने, चुरोट सेवन गर्ने र वियर पिउने सब खालका मान्छे चिनेको छ। साँच्चै भन्ने हो भने रणबहादुर आफैँले आर.बी लाई चिनेको रहेनछ।
भेटमा साथीसँग मोजले, काममा कामको बोझले, घरमा श्रीमतीको कचकचले बाहिर निस्केर ‘टेन्सन भो ‘ भन्दै आर.बी चुरोट सल्काउँछ। रहरमा सिकेको चुरोट अहिले तान्ने बानी बसेको छ।
एउटा भेटमा पुरानो मित्रले आर.बीलाई चुरोट छोड्न सल्लाह दियो । उसले भन्यो ,”सक्दिन यार ।” “नसके सुरुमा खैनी लिनु, बिस्तारै चुरोट बिर्सदैं जानेछौ”, साथीले सम्झायो।
घर फर्केर उसले सोही कोसिस गर्यो तर लत बसिसकेकाले यस्सै छोड्न सकेन। अनि खैनी च्याप्न थाल्यो। सुरुमा घाँटी कोक्यायो, थुकथुकी लाग्यो बिस्तारै खैनीको रस भिज्यो। तर खैनी चुरोट जस्तो मज्जाको त कहाँ हुदो रहेछ र..! थुकेको थुकै गर्नु पर्ने, पुरानो फाली नयाँ राख्नु पर्ने । आर.बीले फेरि सम्झियो खैनीभन्दा त चुरोट नै जाती। तान्नु परे त्यही तान्छु .. ऊ फेरि पुरानो नै ठाउँ फर्कियो।
यतिबेला उसलाई चुरोटले मज्जा दिए जस्तो र खैनी फिक्का भए जस्तो महसुस हुन थाल्यो। यसरी उसले केही दिन त बितायो तर चुरोट तानिसकेको केही घण्टामा खैनीको याद पनि आउन थाल्यो। अनि खैनी र चुरोट दुवै एक साथ सेवन गर्न थाल्यो।
बिस्तारै जाडो पस्न थाल्यो। चुरोट र खैनी दुवैले जाडो भगाउन सकेन। यो गरिबलाई फेरि दु:ख आर.बी सोचमग्न भयो। एक दिन कामतिर जाँदा साँल्दाइले सोधे, “जाने हो?” “जउँ भनेको तर पैसा छैन ।” “आज म लगाइदिन्छु।” भट्टीमा बसेर दुवैले वियर पिए। चुरोट र खैनीभन्दा यो अझ गजबको लाग्यो । जाडो पनि उडाउने ..!!
आर. बी कुलतमा बेस्सरी फँसेको छ। स्वास्नी चाँहीले जहिल्यै सम्झाउँछिन् तर सुन्ने हैनन्। बिरामी अवस्थामा एक दिन अस्पताल पुर्याइयो । डाक्टरले उनलाई क्यान्सर भएको खबर दिए।
अहिले उनी ओछ्यानमा पल्टिएका छन्। होस आएको बेला बर्वराउँदै भन्छन्, “रणबहादुरले मलाई गिज्याइरहेछ।”
जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )