कविता : मेरा घरका भित्ताहरु

~ए.पी. सुमन~A P Suman

बराजु देखि बाजे हुँदै
बाजे देखि बा हुँदै,
पुर्खौली सम्पत्तिको नाउँमा
मेरा काँधमा आइपुगेका
२/४ कित्ताहरू,,
त्यसैमा बलजफ्त्ती उभ्याइएका
जीर्ण घरका जीर्ण भित्ताहरू,
मलाई सिन्दूर पुछिएका
विधुवा जस्ता लाग्छन्,
जो शताब्दी पहिले वराजुको मृत्युमा
सती जानबाट चुकेका थिए,
लुकाइएका थिए, लुकेका थिए,
कुनै रातो माटोको रंगभित्र,
कुनै सुन्दर महलको अंगभित्र,
मेरा घरका भित्ताहरू।

मैले सानोमा सिसाकलमले
कोर्ने गरेका प्रीतिहरू,
बाछिटाले छोडेका आकारहरू बटुलेर
वा आफै उप्किएर बनेका आकृतिहरू,
अँझै जीवन्त लाग्छन् यी भित्ताहरूमा,
जहाँ मेसोपोटामियाको सभ्यतादेखि
कोशीका तिरहरू समेटिन्छन्,
जहाँ लालीबेलाका चर्चहरू देखि
काष्ठमण्डपका मन्दिरहरू भेटिन्छन्,
जहाँ मारियाना टे«न्चहरू देखि
सगरमाथाका शिरहरू देखिन्छन्
जहाँ इलियाड र ओडेसे देखि
मुनामदनहरू लेखिन्छन्
विश्वकै आठौँ आश्चर्य जस्ता यी भित्ताहरू
मुटुभरि धुवाँलोको कालो बोकेर
छातीभरि माकुराको जालो बोकेर
कुनै व्यस्त सडकविच ठीङ्ग उभिँदा
मलाई कुनै स्पाइडरम्यानको
सुटिङ्ग स्पटभन्दा कम लाग्दैनन्,
यी भित्ताहरू
मलाई वामियानको पर्खालभन्दा फरक लाग्दैनन्,
चाइनाको ग्रेटवालभन्दा अलग लाग्दैनन्,
विश्वकै आठौँ आश्चर्य जस्ता यी भित्ताहरू. ।

१९९०मा भूकम्प थामेका यी खम्बाहरू
आजकल सडकमा कार हुईँकिँदा हल्लन्छन्,
मेरो बाजेको गोल्डस्टार चिनेका यी पिँढीहरू
कसैले रिबकको बुट बर्जादा तर्सन्छन्,
रेडियो नेपालमा नारायण गोपाल सुनेका
यी भित्ताहरू,
मैले उफरमा पिटबुल बजाउँदा थर्कन्छन्,
हनी सिङ् बजाउँदा चर्कन्छन्,,
तैपनि यी भित्ताहरू, कति धेरै शान्त छन्
मेरो वास्तविकता जान्दछन्,
हरेक वर्ष छातीमा नयाँ पात्रो भिरेर
शरीरमा उही वराजुको कात्रो भिरेर
१९५०तिर फर्कन्छन्,
वर्खाभरि दर्कन्छन्
अनि हिउँदो भरि पर्खन्छन्,
मात्र एक चिम्टी सिन्दूर सिउँदो भरि पर्खन्छन्,
मात्र एक चिम्टी सिन्दूर सिउँदो भरि पर्खन्छन्,
मेरा घरका भित्ताहरू

(स्रोत : मझेरी डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : मेरा घरका भित्ताहरु

  1. dhruba thapa says:

    धेरै राम्रो kabita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.