~सञ्जु शिल्पकार~
बजारमा धेरै थरी पुस्तकहरू आइरहन्छन् तर समयको दिशाबोध गर्ने थोरैमात्र पुस्तक भेट्टिन्छन्। जसले देश, काल र परिस्थितिको प्रतिनिधित्व गर्छ त्यसले समाजलाई पथप्रदर्शन पनि गर्छ। त्यसैमध्ये समावेश गर्न सकिने पुस्तक हो, नयनराज पाण्डेद्वारा लिखित कथासङ्ग्रह चकलेट। देशलाई चकलेट बनाएर बाँडिरहेका छन् नेताहरू।
यही अवस्थाको प्रतिबिम्ब हो कथासङ्ग्रह चकलेट। देशको भूगोल बिर्सेका आत्मकेन्द्रित, नेता भनिएका बहुलहदीहरूकै कारण अवस्था दिनदिनै जर्जर छ। गुलियोमा भुलेका चरित्रका नेताहरू आश्वासन, सत्ता र कुर्सीकै गुलियो चकलेटमा भुलेर राजधानी सहरलाई नै देश ठानेर आफ्नो इमान बेचिरहेका छन्। देश नेताको गोजीको चकलेट बनेको छ। केटाकेटी आए गुलेली चलाए मट्याङ्ग्राको सत्यानास भनेझैं बनेको महानगरमामानवीय संवेगहरू हराएका छन्। मान्छेका मनबाट मान्छे हुनुको अर्थ हराएको छ। मान्छे हराएको छ। त्यसैले नै यो महानगरमा आफन्तले आफन्त चिन्दैन। सहयोग र सहयोगी हात बिरानो बन्छ। स्खलित भइरहेको मानवता ओढेर उभिन्छ सहर। यही यथार्थको तस्वीर हो, कथा ‘महानगर’ स्खलित मानवता, स्वार्थीहरूको भीडलाई शासन गर्नेहरू प्रतिबद्धतामात्र गर्छन्। देश जलेको हेर्छन्। चिन्तित मुद्रा देखाउँछन्। समाज फेरिनुपर्ने, देश फेरिनुपर्ने कुरा गर्छन्। अब केही गर्नुपर्छ भन्छन्। हात बाँधेर बस्नु हुन्न भन्छन्। देश अँध्यारोमा डुब्नुहुन्न भन्छन्। जनता–जनता लडाएर, देश जलाएर त्यहीं तातोमा न्यानो थाप्छन् र फेरि पनि प्रतिबद्धता गर्छन्। अब केही गर्नैपर्छ। अनि मजाले निदाउँछन्। कथा ‘तातो’ प्रतिबद्धताको खाटले तातेको छ।
तर यही देशमा थुपै्र–थुपै्र दयारामहरू छन्। जो सुन्दर भविष्यको सपना देख्छन् र धेरै धेरै तीर्थालुहरू छन्। जो बाँड्छन् सुन्दर–सुन्दर सपनाहरू र दयारामहरूकै सपनाको भाग बेचेर मासुभात खान्छन्। चियाले गर्जो टार्ने थुपै्र दयारामहरूको जीवनमा त्यसैले फूलहरू सुन्दर बन्दैनन्र बन्नेछैन जबसम्म तिनका सपनामाथि तीर्थालुहरू विजनेस गर्नेछन्।
नयनराज पाण्डेका कथाका पात्रहरू दुःखले जर्जर बनेकाहरू हुन्– असर्फी, दयाराम, रमेश, मुना र थुपै्र हर्कबहादुरहरू। उनका कथामा रिक्सावाला, मजदुर, ड्राइभर र निमुखाहरू नै प्रमुख बनेर उभिएका छन् र तिनैका जीवनवृत्त असरल्ल भेटिन्छ। वैभव र सम्पन्नहरूको एउटा भीड, बिहान कमाई बेलुकी छाक टार्नेहरूको भीडमा गर्हौं परिरहेको यो समय, यी कथाहरू प्रत्येक चेतनशील मान्छेहरूको मनलाई बेस्सरी चिमोट्न र निचोर्न सफल छन् भन्न सकिन्छ।
पाठकले आफ्नै भोगाइ, समाज र देशलाई निकै सरल, स्पष्ट, छरितो भाषामा पढ्नमात्र होइन सदृश्य हेराइको अनुभूति पाउँछन्। निमुखाहरूको बाँच्नुमा पनि यो शासनले चाबुक लाउँछ। अस्पताल पुग्न नपाउँदै थुपै्र टेम्पो ड्राइभरका छोराहरू मर्छन्। कोही अभावले बाँच्न पाउँदैनन्। सत्ताको भागबण्डामा धेरै धेरै हर्कबहादुरहरू र तिनका छोराहरूको जीवन बन्द गरिदिन्छ। उनैका जीवनमा बार्ह बजिरन्छ सधैं किनकि यो शासन र त्यसका खेलाडीहरूको सामु हर्कबहादुर र उनका छोराको जीवनको कुनै मूल्य छैन। कसले सुन्छ र पुच्छ्र्रे चङ्गाजस्तै चेट हुनेहरूको क्रन्दन, आँसु र चोट? कुर्सी मोहमा नेताहरू व्यस्त भइरहँदा, राजनीतिक दाउपेचमा अल्भि्करहँदा, मर्दा लैजाने कात्रो पनि किन्न नसक्ने अनि नदिने यो व्यवस्था कसरी निमुखा जनताको प्रजातन्त्र, गणतन्त्र हुनसक्छ। प्रश्न उठाएका छन् लेखकले। मामको लागि कामको विकल्प दिन नसक्ने सरकारले साधारण जनताका हरेक कामलाई गैरकानुनी घोषणा गर्छ र खोस्छ तिनका सपना, काम, माम अनि जीन्दगी। यो व्यवस्थालाई उदाङ्गो पारेको छ, कथा पुच्छे्र्र चङ्गाले।
नेपालीहरूको चेतनामा भइरहेको विदेशी संस्कृति, स्वाद र संस्कारको आक्रमणबाट सुस्त सुस्त बिलाउँदै गएको हाम्रो आफ्नोपन, स्वाद, सन्तुष्टि, संस्कार, सम्बन्ध, परिवेश सबैको प्रतिनिधि बनेर उभिएको छ, असर्फी कथा ‘आक्रमण’ मा। असर्फीको घर तराई हो तर उसले हिमालका, पहाडका सिङ्गो नेपाली जनताको प्रतिनिधित्व गरेको छ। हामीबाट आफ्नोपन हराउँदै गएको छ। अझ भनौं विमुख पारिंदै छौं।
यसरी नै आक्रमणको शिकार भएको हाम्रो समाजमा मानवीय संवेगहरूको किनबेच हुने गरेको छ। हुने गरेका छन् मान्छेका सपनाहरूको, बाध्यताहरूको लिलामी। मूल्य–मान्यता र भावनाहरू सस्तो खेलौनाको बजार बनेको आजको समाजको सजीव चित्रण हुन्, मुनामदनको नयाँ कथा, सुकुमेल, बाठो। परिवर्तनका, समानताका र आदर्शका कुरा गर्ने अनि पिठ्यूँपछाडि धोखा, छल र कुटिल राजनीति गर्नेहरूलाई राम्रो झापड हो कथाहरू साले बलबीरे, संसद सुरु, निदाएँ जगदम्बा।
असल, स्वाभिमानी, देशभक्तिका आदर्श बाँड्दै हिंड्नेहरू स्वयम् भने देशलाई तीव्र घृणा र निशानाले ग्रस्त भएर विदेश पलायन हुने गर्दछन्। त्यस्ता मुकुण्डोधारीहरूले जनताको स्वाभिमानलाई बन्धक बनाएका छन्। ‘बेबकूफ’ कथा यस्तै एउटा प्रतिनिधि कथा हो।
खेल–खेलमा कहिले, कसरी, कुन विन्दुमा जनताको जीवनमाथि चुनावका नाममा कस्ता–कस्ता घृणित र कुटिल खेलहरू खेलिन्छ। अत्तोपत्तो रहन्न कथा खेलमा झैं।
देश भागिरामको घरजस्तै भएको कुराको सटिक र स्पष्ट वर्णन हो कथा ‘देश’। भागिराम र उसको परिवार मुसा खाने लोभले छानो, भित्ता सब–सब भत्काउँछन्। देशका नेताहरू देशलाई भागिरामकै घर बनाइरहेका छन्। देश भागिरामको घर बनिरहेको छ।
सबै कुराको यथार्थ चित्रणमात्र गरेका छैनन् लेखकले। ‘तपाईं असल मान्छे हैन ‘कथाले उसरी नै प्रश्न पनि उठाएको छ– प्रत्येक पाठक र नेपाली जनताप्रति। अनि सोच्न बाध्य तुल्याउँछ, के हामी साँच्चै असल मान्छे हौं? होइन भने किन केही बोल्दैनौं? प्रतिक्रिया जनाउँदैनौं? मूर्तिवत् किन छौं? सबै सबै कुराप्रति।
अन्यायविरुद्ध किन बोल्दैनौं? शोषणविरोधी भाषण गर्ने अनि घरमा कमलरी राख्नेलाई नै किन हामी भोट दिन्छौं? चुनाव जिताउँछौं। झक्झकाएको छ, कथा ‘तपाईं असल मान्छे हैन’ ले। समाजविरोधीहरूलाई प्रश्रय दिइरहने जनताको चेतनालाई पनि पेचिलो तवरले उत्तिकै प्रहार गरेका छन्, नयनराज पाण्डेका कथाले।
यथार्थतः विवशता, शोषण, अन्याय सबै कुराहरू छर्लङ्ग हुँदा पनि प्रतिरोधमा उठ्न नसकूञ्जेल समाज र देश निरन्तर शोषण गर्नेहरूकै पोल्टामा रहनेछ। त्यसैले प्रश्न अनुत्तरित छ, के हामी असल मान्छे हौं। यदि हांै भने अब शोषणको विरोधमा समाजविरोधीहरूलाई बहिष्कार गर्न अघि बढ्नैपर्छ। गुनिला कथाहरूको सङ्ग्रह ‘चकलेट’ स्वादिलो र उत्तिकै पेचिलो पनि छ।
नयनराज पाण्डे र साङ्ग्रीला प्रकाशनबाट यस्तैयस्तै सर्वसाधारण जनताका कथाहरूको अपेक्षासहित साधुवाद।
(स्रोत : मजदुर दैनिक)