निबन्ध : चौकीमा रक्सी

~गुरुङ सुशान्त~gurung-sushant

अन्ततः चौकीमा रक्सी पिउने भइयो ।
औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थियो । यस्तो मौकालाई सानो मुठ्ठीमा कैद गर्न चाहन्थेँ म । र, उत्सुक साथीहरूका अगाडि सगर्व शानको औंला नचाउँदै भीषण बयान गर्न चाहन्थेँ । भर्खरभर्खर बैंसालु उमेरको सिँढीमा पाइला राख्दै थिएँ । स्कुल, टोल, समाजका आंशिक लोकप्रिय दाइहरूको सिको गर्नु हामीजस्ता आलोकाँचो अनुयायीको परम कर्तव्यजस्तो लाग्थ्यो ।

समाजमा केही नौलोपन र परिवर्तनकारी काम गरेर देखाउने हुटहुटी उमेरजन्य स्वभावको हिस्सा नै थियो । अहिले सम्झँदा लाग्छ, अनेक विरोधाभास र अज्ञानताका पेटारो बोकेर यताउता गर्ने जमात थियौं हामी । केही नयाँ त गर्न चाहन्थ्यौं । तर, त्यो नौंल्याईको अनुहार र स्वरूपबारे अनभिज्ञ थियौं । लाग्छ, युवा रगतले रोज्ने जोशिला प्रयोगको खोजीमा थियौं । त्यसैको उच्चतम् अवसर थियो, चौकीमा रसरङ । त्यो रसरङ यस्सै लहडमा तय/सम्पन्न भए पनि कार्यकारण पृष्ठभूमिमा राजनीतिक मनोविज्ञान छँदै थिएन भन्न सक्दिनँ ।

१३/१४ वर्षको त्यो अल्लारे उमेरमा कसोकसो राजनीतिको डोरी समात्न पुगेको थिएँ । नेकपा एमालेको भ्रातृ संगठन अखिलको प्राक सचिव थिएँ । न जनताको बहुदलीय जनवादको गुह्यबारे बोध थियो, न त माक्र्सवादका आधारभूत सैद्धान्तिक ज्ञान थियो हामीसँग । तर, हामीलाई कम्युनिस्टहरू जनताको पार्टी भएको र एमालेले मात्र गरिब जनताको जीवनोस्तर उकास्न सक्छ भन्ने कुरा रटाइएको थियो । हामी आज्ञाकारी सुगा बनेका थियौं ।

हाम्रो रटाइमा हुन्थ्यो, ‘गरिब जनता र एमाले !’ तीनचार वर्षअघिको दासढुंगा काण्डलाई हामी ठूलो षड्यन्त्र भन्थ्यौं । तर, भीरपाखामा घाँसदाउरासँग जीवनको खुसी बटुल्ने गौप्राणीलाई षड्यन्त्रबारे के थाहा ? वामपन्थी हुनु नयाँ लयको गीत गाउनुमात्र थिएन, काँग्रेस र राप्रपाविरुद्ध उभिनु पनि थियो । हामी उभिने उन्नत चेष्टा गर्दैथ्यौं । त्यो चेष्टा आफ्नो परिवार र आफन्तीजनको विपरीत बाटो हिँड्नु पनि थियो ।

रसुवाको ठूलोगाउँ, डाँडागाउँ र पैरेगाउँमा गुरुङहरूको बाक्ला बस्ती छन् । मेरो जन्मथलो ठूलोगाउँ गुरुङ संस्कृतिको केन्द्रजस्तै छ । चाडपर्वका सामान्य मेलाबाहेक पनि वर्षमा तीनचारवटा महामेला लाग्छन् हाम्रो गाउँमा । घाटु, मारुनी, रोधीजस्ता सांस्कृतिक झलकले ठूलोगाउँलाई आकर्षक बनाएको छ भेगमा । हाम्रो संस्कृतिमा फुपू–चेला, मामा–चेलाको दोहोरो बिहेवारी चल्ने हुनाले रक्तसम्बन्धको लहरा तीन गाउँ काटेर नुवाकोटका गुरुङ बस्तीहरूसम्म फैलिएको थियो/छ ।

दलगत राजनीतिले आफन्त–आफन्तको पारिवारिक आकाशमा मौन प्रतिद्वन्द्विताको बादल मडारिएको थियो । तर, त्यो बादलमा वैचारिक संचेतनाको अंश नहुनु सबैभन्दा दुखद थियो । हामी भर्खरभर्खर ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिराले’ सुन्ने÷गुनगुनाउने भएका थियौं । अखिलका कार्यक्रममा भने जीवन शर्मा बजिरहन्थे ।

आफ्नो गाउँको साँघुरो घेरा नाघेपछि मात्र जीवन शर्मा र वामपन्थी राजनीतिबारे सुनेको हुँ मैले । गाउँको भूमेदेवी निमाविबाट डाँडागाउँ माविमा पुगेर ८ कक्षाको पाना पल्टाउन थालेपछि नै मलाई नयाँपनको अनुभूति भएको थियो । डाँडागाउँ बाहुनक्षेत्री समुदाय पनि घुलमिल भएको बस्ती हो । विकास पनि हाम्रो गाउँमा भन्दा राम्रो थियो । त्यस समयमा भेगकै एकमात्र मावि, स्वास्थ्यचौकी, प्रहरीचौकी र भेटेरेनरी पनि डाँडागाउँमै थिए ।

कविता, निबन्ध प्रतियोगितामा सरिक हुन थालको थिएँ । हरेक प्रतियोगितामा रित्तो हात बस्नु परेन मलाई । जिल्लास्तरीय प्रतियोगितामा पनि पुरस्कृत हुन थालेपछि केही सरले ‘कविजी’ भन्थे मलाई । तर थाहा छैन, त्यो सम्बोधनमा प्रोत्साहन र व्यंग्यको मात्रा कतिकति थियो ? हाम्रो गाउँमा गन्धसमेत नआएको वामपन्थी राजनीति डाँडागाउँमा विस्तारै फैलँदै थियो । सिन्धुलीबाट आएका शिक्षक रामप्रसाद कोइरालाले विद्यार्थीलाई गुप्त रूपमा प्रशिक्षित पनि गर्थे । म उनै कोइराला सरको स्कुलिङमा हुर्किरहेका सिनियरहरूको संगतमा परेँ । र, अखिल भएँ ।

स्कुलका सरहरू पनि राजनीतिक रूपमा विभाजित छन् भन्ने सुनिन्थ्यो । तर, मैले त्यति धेरै सोधिखोजी गरिनँ । हाम्रो गाउँबाट जानेमध्ये तीनजना अखिलमा थियौं– अजय लामा, विजय गुरुङ र म । अखिलमा जिल्ला तहसम्म राम्रो पहुँच थियो अजयको । तामाङ टोलको भए पनि मितेरी साइनोबाट मेरो आफन्त भएकाले अजयसँग म विशेष नजिक थिएँ । सानैमा भारततिर गएर हन्डर ठक्कर पाएको थियो उसले ।

उसको एउटै अर्ती दोहोरिन्थ्यो, ‘केटा हो ! नपढे दुःख पाइन्छ । पढेर समाजका लागि केही गर्नुपर्छ ।’ डाँडागाउँकै एउटी गुरुङसेनीसँग उसको गुप्त प्रेमपत्र आदानप्रदान हुन्थ्यो । बफादार हुलाकी मै थिएँ । मैले अखिलको सचिवको पद पाउनुमा हुलाकी भूमिकाको हिस्सा पनि थियो कि ?

सामाजिक सम्पर्कमा खुब रुचि बढेको थियो मेरो । बिनाकाम पनि स्वास्थ्यचौकी जान्थेँ । अहेव भए पनि राम्रो डाक्टरका रूपमा प्रशंसित तराई मूलका ‘जुलुम’ सरसँग कुरा गरिरहन्थेँ । उनीसँगको सानिध्यताको फाइदा उठाउँदै केही औषधि लिन्थेँ । बेलाबेलामा ‘चाहिएजति लानुस्’ लेखिएको बाकसमा हात घुसार्थें र साथीहरूलाई नचाहिँदो रूपमा बाँड्थेँ । स्कुलमा क्यान्टिन हुन्छ भन्ने हामी धेरैलाई थाहा थिएन । स्कुल छेउकै पसलमा चियाचमेना पाइन्थ्यो ।

ती बाबुराम भट्टराई भनिएका मानिसको श्री कतै गुमेको भान हुन्थ्यो । भीडमा कसैले भन्यो, ‘अलि–अलि मगज खुस्किएजस्तो छ ।’ असई भन्दैथे, ‘अनेक भेषमा आउँछन् माओवादी । पागल बनेर पनि हिँड्न सक्छन् ।’ ती मान्छे खसीबोका किन्न बेसीबाट गाउँ उक्लिएका रहेछन् । कसो आफैं बलिको बोको भएनन् । डराउँदै ती ओरालो झरे । तर, आँखामा त्यो अनुहारको भूगोल छाप्पिएर बस्यो । सोचेँ, बाबुराम भट्टराई तिनै मान्छेजस्तै होलान् ।

पैसा हुँदा अलिअलि खाजा खाइन्थ्यो । कहिलेकाहीँ उधारो पनि चलाइन्थ्यो । पसलतिरै भेट हुन्थ्यो, प्रहरीसँग । प्रहरी र डाँडागाउँलेलाई हेर्ने ठूलोगाउँलेको नजर उति राम्रो थिएन । कारण थियो– प्रहरी र स्थानीय युवतीहरूको सम्बन्ध । कति प्रहरीले डाँडागाउँतिरै घरजम गरेका थिए, कतिका सन्तान बाबुको थर बोकेर मामाघरमै हुर्किरहेका थिए । डाँडागाउँका साथीहरू पनि हामीलाई ‘ठूलोगाउँले’ लवजका आधारमा खिस्याउने गर्थे । तर, जति नै निरपेक्ष रहन खोजे पनि हाम्रोजस्तो बन्द र विकट बस्तीमा शक्तिकेन्द्र थिए– मास्टर र पुलिस । विस्तारै म तिनै शक्ति केन्द्रनजिक हुँदै थिएँ ।

माओवादी ‘जनयुद्ध’बारे बिस्तारै चर्चा हुन थालेको थियो । तर, प्रभाव उति बलियो देखिँदैनथ्यो हाम्रो भेगमा । अनेक किस्सा सुन्नमा आउँथे । हल्लाको जरा कसरी खोतल्नु ? तर, ती अनकन्टारजस्तै पहरामा पनि हल्लाका लहराबेहरा झ्यांगिँदो थियो । एउटा लहराले हामीलाई पनि छोयो । लहराले यसो भन्यो, ‘तीनवटा पीएचडी गरेका बाबुराम भट्टराई नेपालका ठूला विद्वान् हुन् । उनी सदरमुकाम धुन्चेमा आएका छन् रे ।

दिनमा गिट्टी कुट्छन् र रातमा मान्छेहरू बटुलेर माओवादको प्रशिक्षण दिन्छन् रे ।’ यस्ता हल्लाले हामीलाई भित्रभित्रै हल्लाउँथ्यो । यो हल्ला वास्तविकताको हावापानीमा हुर्किएको थियो कि थिएन आजसम्म थाहा छैन । एक दिन हाफटाइममा अर्को सनसनीपूर्ण हल्ला चल्यो, ‘तल पसलमा बाबुराम भट्टराई आको छ ।’ पसलमा एकजना दुब्लोपातलो मान्छे केही गाउँलेबाट घेरिएर बसेका थिए ।

झ्याप्प दाह्रीजुँगा पालेका ती व्यक्तिले मैला सर्टपाइन्ट र प्लास्टिकको चप्पल लगाएका थिए । आफैंमा कतै हराएजस्ता ती अल्पभाषीलाई जिज्ञासुहरू अनेक प्रश्नका तीर सोझ्याउँदै थिए । यत्तिकैमा स्कुलभन्दा दुई कान्लामुनि रहेको चौकीबाट सिपाहीसहित हतियारधारी असई आए । उनले पनि अनेक प्रश्न कुटिल शैलीमा राखे । तर, ती बाबुराम भट्टराई भनिएका मानिसको श्री कतै गुमेको भान हुन्थ्यो । भीडमा कसैले भन्यो, ‘अलिअलि मगज खुस्किएजस्तो छ ।’ असई भन्दैथे, ‘अनेक भेषमा आउँछन् माओवादी । पागल बनेर पनि हिँड्न सक्छन् ।’ शरीरको हल्का खानतलासी भो ।

भीड बढ्दै जाँदा एक स्थानीय टाठाबाठा गुरुङ दाइ बीचमा आइपुगे र बोले, ‘यो त नुवाकोटे हो । तुप्चेको सोझो बाहुन । मैले देखिरहेको मान्छे ।’ त्यसपछि ती एकछिनका बाबुरामको अनुहार उज्यालो हुँदै गयो र अलि बोल्न थाले । ती मान्छे खसीबोका किन्न बेसीबाट गाउँ उक्लिएका रहेछन् । कसो आफैं बलिको बोको भएनन् । डराउँदै ती ओरालो झरे । तर, आँखामा त्यो अनुहारको भूगोल छाप्पिएर बस्यो । सोचेँ, बाबुराम भट्टराई तिनै मान्छेजस्तै होलान् ।

कहिलेकाहीँ पारि कालिकास्थानदेखि विद्यार्थीहरू अखिल क्रान्तिकारीको संगठन गर्न आउँथे स्कुलमा । उनीहरू चौकीको ठीक विपरीत भिरालो चौरमा बसेर मसिनो स्वरमा क्रान्तिकारी कुरा गर्थे । भेउ पाउन गाह्रो हुन्थ्यो, उनीहरू साउती मार्दैछन् कि गफ गर्दैछन् ? तर चौकीतिर पनि चनाखो आँखाले हेरिरहन्थे । छिनछिनमा कसिलो मुठी उचाल्थे पनि । मेरा केही आफन्ती दाइहरू त्यस संगठनमा रहेको संकेत थियो । उनीहरू प्रायः कुरा गोप्य राख्थे ।

कहिलेकाहीँ हाम्रा सांस्कृतिक कार्यक्रमहरू जुध्थे या जुधाइन्थे । म सानैदेखि नाच्न अघि सर्ने मान्छे । स्कुलका धेरै कार्यक्रममा नाचिसकेको थिएँ । अखिल र अखिल क्रान्तिकारीबीचको नाचगान भने उत्तर–दक्षिण फरक हुन्थ्यो । क्रान्तिकारीहरू टाउकोमा रातो रुमाल बाँधेर कराँते काँता र आगो प्रयोग गरी नाच्थे । गीतमा युद्ध र बन्दुकजस्ता शब्दमा विशेष जोड हुन्थ्यो । अनि मलाई आफ्नै नाच फिक्का र सपाट् लाग्थ्यो ।

हामी भन्थ्यौं, ‘सबै कम्युनिस्टको उद्देश्य साम्यवाद हो । बाटोमात्र फरक हो ।’ यस्तै बोल्न सिकिएको थियो । तर माओवादी एमालेभन्दा बढी क्रान्तिकारी हुनुपर्छ भन्ने लाग्न थालेको थियो मलाई । मनको भण्डारको कुरा मुखसम्म ल्याउने अराजक आँट भएन । मनको कुरा भित्र कतै गाँठो परिरह्यो ।

मेरो कलिलो दिमागमा एउटा भ्रम छिप्पिँदै थियो– कुनै दिन सबै कम्युनिस्ट पार्टीहरूको एकीकरण हुनेछ ।

सधैंझैं शुक्रबार आधा खुसीको दिन थियो । हामी खुसीलाई सम्पूर्णता दिन तयार भयौं । अलिअलि फूर्ति लाउने बहाना मिल्दै थियो । स्थानीय शक्तिसँगको रसिलो सम्बन्धको इन्द्रेणी प्रभाव त छँदैछ । स्कुलमा भलिबल खेल्दाखेल्दै रसरङको कार्यक्रम तय भएको थियो । छुट्टीपछि साथीहरू ४० मिनेट हिँडेर घर फर्किए । म डाँडागाउँमै थन्किएँ । अजय, पहलमान, कुमार, रमेश र दुईजना प्रहरी मिलेर चौकीमा रक्सी खाने पक्का भो । अजयलाई पछिल्लो समय डाँडागाउँ यसैयसै प्यारो हुँदै थियो । सायद कार्यक्रमको प्रस्तावक र योजनाकार पनि ऊ नै थियो ।

मेरो लागि रक्सी नयाँ–नौलो नभए पनि अभ्यस्त थिइनँ पिउन । ब्राह्मण कन्याहरूसँग धेरै घुलमिल हुने र जाँडरक्सीदेखि टाढै रहने हुनाले मलाई गुरुङसेनी मित्रहरू ‘बाहुनको ज्वाइँ’ भनी जिस्क्याउँथे । पढ्ने मान्छेले रक्सी पिउनु राम्रो होइन भन्ने मेरो सोचाइ पहिलोपटक आफ्नै प्रयोगशील साहसले भत्काउँदै थिएँ । सबैभन्दा सानो भएकाले हुनसक्छ, जोडजामको व्यवस्थापकीय जिम्मेवारी मैले लिनु परेन । झमक्क साँझ परिसक्दा लोकल कुखराको एउटा जब्बर भाले, जर्किनको १० बोतल कोदोको रक्सी, एकाध सिसी बजारु मार्फा, तास र मादल हाम्रा साथमा थिए ।

उता चौकीको भान्साबाट हरहर वासना आइरहेको थियो, यता साथीहरू राजसी छाँटमा तिघ्रा ठटाउँदै तास थुत्दै र पछार्दै थिए । बीचमा कोही सुसेली हाल्थे । सुसेली हाल्नु बतास बोलाउनु हो भन्ने ग्रामीण विश्वास थियो । दिनको २ बजेपछि डाँडागाउँमा यस्सै पनि मुटुमा भाला रोप्ने चिसो स्याँठ चल्न थाल्थ्यो । डाँडामै अवस्थित चौकीमा घच्चीको टुकी बालेर तास खेलेका साथीहरू सुसेलीकारलाई आँखा तर्दै थिए । तासमा रुचि, योग्यता र अनुभव नपुगेकाले म एक्लो दर्शक बनेँ ।

हामीसँग गफ मिल्ने दुई प्रहरी मात्र थिए चौकीमा । सायद अरु घरबिदा या सदरमुकामतिर गएका थिए । सँगै बसेर रक्सी खानु आत्मीयताको प्रतिविम्बन पनि मानिन्छ । प्रहरीसँग नजिकको सम्बन्ध रहेको देखाएर चुरीफरी गर्नु थियो हामीलाई । प्रहरीहरूलाई स्थानीय युवासँग घुलमिल भएर रमाइलो गर्नुका साथै सम्भावित भिडन्तको भयलाई कम गर्नु पनि थियो सायद । तर, हामीले आआफ्नो मनोविज्ञानलाई अनेक सहज भंगिमाले छोप्दै थियौं ।

चियर्सको दोहोरी चलिरह्यो । घुँडा गल्दै आएपछि थाहा पाएँ, रक्सीको ताकत मेरो नशामा बग्दैछ । विस्तारै टोलीले स्वरलाई उच्च बनाउँदै लग्यो । मोटो राजनीतिक गफको वर्षाबीच अंग्रेजी असिना पनि फाट्टफुट्ट झर्दै बिलाउँदै गर्न थाल्यो । राजनीतिक मनसुनमा एमालेलाई परिवर्तनकारी देखाउने घनघोर बादल ओहोरदोहोर गथ्र्यो । गर्जन गतिलै थियो । लाग्थ्यो, चट्याङ झार्नेवाला छ । कतैकतै युद्ध अनावश्यक रहेको तर्कले पनि महत्त्व पाउँथ्यो ।

कोदोको सुरम्य रसको बलमा प्रहरी पनि थपिहाल्थे, यो युद्ध माओवादीले जित्न सक्दैन । तर, युद्धको प्रसंगमा फुत्केका बोलीको स्वाभाविक स्केलचाहिँ खस्केर बेसीमै पुग्थ्यो । मानौं, स्केल उच्च भएमा अग्लाअग्ला पहाडका कानमा अनुरणन हुँदै मैदानमै पुग्छन् शब्दहरू ।

प्रहरीको ओछ्यानमा ढल्किएका मानव छायाहरू लर्खराउन थालेका थिए । चिल्लो काठको टेबुलमा ढुक्कले उभिएर मोटो सलेदोबाट टुकीले घुर्मैलो उज्यालो फालिरहेको थियो । मादलको खरी रन्किन थालेको थियो । नाचगानमा रस बसेको म उठ्न नसक्ने भएँ । विस्तारै तीन वर्गमा विभक्त भयौं हामी । पहिलो टोलीले राजनीतिक गफको डन्डीबियो खेल्न थाल्यो । टोली नेताले माक्र्सवादी बियोको टुप्पोमा एमालेको मोटो डन्डीले हिर्काएर हावामा पुर्‌याउँथ्यो भाषणखेल ।

नेताले बियो भुइँमा झर्न दिँदैनथ्यो । ऊ कहिले मदन भण्डारीलाई सम्झेर भक्कानिन्थ्यो, कहिले माधवकुमार नेपाल भनेर मुठ्ठी दह्रो पाथ्र्यो । सीपी मैनाली, वामदेव गौतम र मनमोहन अधिकारीका नाम पनि चुरोटको धुवाँमा रङमग्गिएर झ्यालको काप हुँदै बाहिरिन्थ्यो । र, प्रहरीको तिघ्रामा प्याट्ट हान्दै भन्थ्यो, ‘अब गरिबको दिन आउँछ ।’ यही टोली केटीको मनमोहक किस्सा पनि घुसाइहाल्थ्यो संवादमा । र, गफ थप रोचक मोडमा हुइँकिन्थ्यो ।

दोस्रो टोली मादलको बिटमा आफ्नो गीतको लय मिलाउन खोज्थ्यो । तालमेल नमिल्दा उनीहरूको अनुहारमा पोतिएको ऐतिहासिक हैरानी हेर्नलायक हुन्थ्यो । हैरानीको उकालीमा पसिना चुहाइरहेका ती सिसिफसले छेउका साना सिसीलाई रित्ता बनाइसकेका थिए । तेस्रो टोली एकदम निष्क्रिय श्रोता÷दर्शक थियो । त्यो टोलीको नेता तथा कटिबद्ध कार्यकर्ता फगत म एक्लो थिएँ । मेरो रुचि भने पहिलोतिर बढी थियो । सोच्दै थिएँ, म परिवर्तनशील संगठनमा छु । केही त पक्कै गरिन्छ जिन्दगीमा । एकाएक गर्विलो छाती पिट्ने मन हुन्थ्यो । तर, अल्छी लाग्थ्यो हात चलाउन ।

जीवनमा पहिलोपटक यसरी रक्सी पिइँदै थियो । नौलो आनन्दको आँगनमा उभिँदै थिएँ । लाग्दैथ्यो, म कतै अँध्यारो र गहिरो ओडारतिर जाँदैछु ।

बिहान बिउँझँदा अस्तव्यस्त ओछ्यानमा जाडो मौसमको अल्छी घामले पनि न्यानो उपस्थिति जनाइसकेको रहेछ । निधारवरपर हल्का दुखाइको अनुभूति भो । जीउमा एक मुठी ऊर्जासमेत थिएन । म यो लामो रातमा कुन उपत्यकाको स्वप्निल यात्रामा थिएँ ? मैले ठम्याउन सकिनँ, यो ‘क्रान्तिकारी’ ठिटोको होशले राति कति बेलादेखि हिउँदे छुट्टी लियो ? बेहोशीको आयु सकिएपछि होशको पाठो सुस्तरी धमिलो खोला तरेर वारि आइपुग्यो ।

होशको सनातन नाकमा केही अप्रिय गन्धको भालाले आक्रमण गर्न थाल्यो । वरपर आँखा डुलाएपछि पत्तो पाएँ, हिजोका टोली सदस्यहरूमध्ये कसैले रक्सीको आवेगी ऊर्जा पचाउन सकेन । र, जताबाट पियो उतैबाट बलात् अवकाश दियो । दुईवटा बेडका तन्ना र सिरकभरि छ्यालब्याल भएको लघु नरककुण्डले एक्कासि तनाव दियो । त्यो त्यति बेलाको सबैभन्दा विद्रूप दृश्य थियो । गाडीको झ्यालबाट कसैले वाकेको देखेमात्र पनि नाइटो बटारिहाल्ने यो मनुवालाई चौकीको कोठामा अनौठो खालको यातनाजस्तो भयो । लाग्यो, धरतीकै कुरूप हर्कत हो यो ।

हर्कतकर्तासँग भकारीभरिको रिस थुप्रियो । यसो हेरेँ साथीहरूलाई । नजिकै घर हुनेहरू हामीसँग थिएनन् । बाँकीले सुन्ने गरी कराएँ, ‘हत्तेरी के हो यो ? कसले हो ? ‘

कथाले त अकस्मात् वियोगान्त दृश्य संयोजन गर्दै लग्यो । त्यहाँ उपस्थित जिउँदा साक्षीहरू फरक आवाज तर एउटै लयमा भन्दैछन्, ‘तिमीले राति बोर गर्‌यौ नि यार । पचाउन नसक्नेले त्यसरी खान नहुने । लात्तीले हानेर टुकी फुटाल्यौ, मट्टितेल पोखायौ । हाम्रो नाचगान र रंगरस्सी सबै रोकियो । तिमीले यस्तो झ्याउ गर्‌यौ ।’ म अवाक् भएँ । हिजो राति विस्तारै ओडारतिर धकेलिँदै गएपछिका कुनै पनि दृश्य मसँग सजीव छैनन् । म सबैभन्दा सानो मान्छे भए पनि केही बेर जिद्दी गरेर भनेँ, ‘मैले हुँदै होइन ।’ तैपनि कोही टसमस भएनन् । अन्तिम अस्त्र प्रयोग गर्दै बोलेँ, ‘यत्ति धेरै म एक्लैले कसरी गर्छु ? ‘ हार स्वीकार गर्नुको विकल्प मसँग थिएन ।

एक घन्टापछि चौकीको चर्पीमा बाटा राखेर वासनादार पूजा साबुनको पातलो फिँजमा केटौले क्रान्तिकारिता मिच्दै थिएँ । एमालेगिरी पखाल्दै थिएँ म । मेरो जुझारु मेन्टर अजय लामा मुन्टो बटार्दै पानी हाल्दै थियो । बेला बेला थुक्दै पनि थियो ऊ । के उसले आफैंलाई पनि थुक्दै थियो ? कि हाँसो लुकाउन अन्त हेर्दै थियो ?

कहिलेकाहीँ त्यो घटना सम्झन्छु । र, एक्लै हाँस्छु । चौकीमा मैले एमालेगिरी धोएको वर्ष दिन नपुग्दै विभाजनको सिकार भयो एमाले । महाकालीको पानी–कसम खाएर केन्द्रदेखि जिल्लासम्म धेरैले धेरै कुरा वमन गरे पार्टीभित्र । चौकीको त्यो चिसो बिहानीमा भन्दा धेरै दिगमिग लाग्न थाल्यो मलाई । केही साथीसँग मैले पनि घुर्की लाएरै भनेँ, ‘अब म एमालेमात्र होइन, राजनीतिबाटै सन्न्यास लिन्छु ।’ आफ्नै ‘घोषणा’ आफैंलाई जोकजस्तो लाग्छ अचेल । स्मृतिको डायरीमा लिखित चौकी–पर्वको निक्कै वर्षपछि मात्र मैले मदिरालाई आमन्त्रण गरेँ आफूभित्र । सोच्छु, आफैं डुब्ने बराबर पिइसकेँ होला । तर, कहीँ–कतै मैले बितन्डा मच्चाएको रेकर्ड छैन ।

मनमा प्रश्न अझै जिउँदो छ, चौकीको त्यो हर्कत साँच्चै मेरैमात्र थियो त ? कि मेरो नै थिएन ?

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.