कविता : त्यही लेख्छु

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

म सबै जान्दिन
निपूर्ण ठान्दिन
आफ्नो पनले तिखार्छु
मनले निखार्छु
साँचो म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
संसार यो बुझ्दैछु
भिडमा खुल्दैछु
दुखेको ओकल्छु
लुकेको खोतल्छु
सत्य म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
खुशीमा रमाउँछु
वसन्त बोलाउँछु
काँचो म जोगाउँछु
बहार रोजाउँछु
सत्य म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
दु:खीको दशामा
म सहनाई बजाउँछु
सुखीको सासमा
म शब्द कजाउँछु
सत्य म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
काली र भेरीले
गाएको म लेख्छु
जोगीले त्यो फेरी
लाएको म लेख्छु
सत्य म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
विशाल नापेर
नशा झैं म टेक्छु
रहस्य जाँचेर
रसिलो म लेख्छु
सत्य म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
यथार्थ छोप्दिन
गाम्भिर्य रोक्दिन
यी हात फैलाउँछु
बन्धुत्व बोलाउँछु
साँचो म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
** **

03/25/2009

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.