~इश्वर बल्लभ~
(I)
म बिहान उठेर एउटा सिंगो आकाश लाइ जब हेर्छु,
त्यसको वरिपरि रातो दाग लागेका हुन्छन ; थुप्रै सुर्यहरु
अस्ताउन आँटेका हुन्,
मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन
उम्किदै गैरहेका आभास भएर,
उम्किदै गैरहेका क्यानभास हरु भएर,
आफ्ना सत्यहरु भएर,
तिमीले कहिले काहीं देखेका छौ
परको आकाशलाई अझै परको क्षितिजलाई,
अझै परको रातो रंग लाइ भने – त्यो मेरो आमा हो,
हुन त मेरो आमालाई तिमीले मार्यौ भने भनेको छैन,
उसले घांटीभरि अल्झायेका खुकुरीको घाउमा मैले
रगत थुप्रै बगे भनेर भनेको छैन,
मैले चिच्याएको छैन,
हुनत मेरो घरको एउटा कोठामा
जब पस्छु – त्यो मेरो आम हुन्छ,
सबैले वरिपरि बसेर कुरा गरिरहेका हुन्छन,
ठुलो सड्यन्त्र भैरहेको हुन्छ,
ब्यङ्ग गरेर हाँसिरहेका पनि हुन्छन
कि यसको आमाले यसकै देशमा आत्महत्या
गर्यो भन्दै,
र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु |
मेरो आमाले आफुलाई काटीसकेपछि मेरो निम्ति
यहि खुकुरी धुनलाई ‘दिनु भएको छ’
मलाई थाहा छैन, अरुका आमाहरु यस देसमा
त्यसो गर्छन गर्दैनन्
मलाई थाहा छैन मेरो पुस्ताले खुकुरीहरू पाए कि पाएनन्,
जब यौटाले आत्महत्या गर्छ
उसले नै गर्छ –
उसले भाग्छ
ऊ काथर पनि हो – त्यो काथर मेरो आमा हो
वीरता ती बिशाल महलहरुमा सम्पूर्ण सुरक्षा सहित बसेकाहरुलाई
जीवन, ती स्वप्नद्रष्टाहरुलाई
देश, ती शासकहरुलाई
खोला, ती सन्तहरुलाइ-ब्यापारीहरुलाई
देवता, ती धर्मिहरुलाई
खुकुरी, मलाई
किनभने मैले यसलाई मेरी आमाको रगतदेखिन
मुक्त गर्नु छ
मात्र फलाम बाँकी रहोस भनेर
रगत मलाई
किन भने मैले यसलाई मेरी आमाको
कायरतादेखिन मुक्त गर्नु छ
मात्र शान्ति बाँकी रहोस भनेर
अरुले सांस फेर्न पाउन भन्दै
ठुलो सन्तुस्टीसहित, ठुसो महत्तासहित, ठुलो फाँट र
आलुबखडाको रुखसहित,
मेरा खुम्चिरहेका यी निधारका छालाहरुमा
अरुको निम्ति फक्रिरहेका फुल त छैनन् छैनन्
तर ती कल्पना पनि छैनन्,
र ती व्याख्यानहरु छैनन् कितापका कागजमा गर्ने
र ती चलाख दृष्टिहरू छैनन्, नियालेर परसम्म हेर्ने
र ती रगतहरु छन्,
र ती रगतहरुसित तिमि डराउनेछौ
र ती रगतहरुलाइ मैले मेरो हातले पुलिसको लागि पुछेको छु |
भाग्दै गरेको त्यो मानिस,
एक्लै गएर कहीं बास बस्न खोज्छ
त्यसका हातभरि अझै रगतका टाटा छन्,
-ती हात मेरै हुन्
म यिनै हातले सेता कागजहरुमा
हस्ताक्षर गर्ने छु |
भन्ने छु तिम्री आमा पल्लो कोठामा
गइन अब एउटा आवाज आउने छ |
यौटा ठुलो ढिलो भैसकेपछि तिमि भन्ने छौ
यो मेरी आमाले आत्महत्या गरेको देश
यहाँ संधै त्यसै भैरहने छ |
तिम्री आमाले आत्महत्या गरेको देश
मेरी आमाले आत्महत्या गरेको देश
सबैकी आमाले आत्महत्या गरेको देश,
यो मेरो देश
यो तिम्रो देश,
कुनै कचौराको रक्सीमा एउटा प्रतिबिम्ब छ, भने
गहिरो सागर तलसम्म पुगेको हुन्छ,
त्यहाँ आँखाहरु देखिने छन् निस्तब्ध भएका
त्यो घाउ छरिएको हुने छ,
सबै अबयबलाइ चारैतिर फेंकेर
सिलिङ्गमा !
भित्तामा !
दराजमा !
भुइंमा !
चलमलाउने छन् विउंझनलाई,
चलमलाउने छन् जिउनलाई
यी सबै संघर्षहरुसित एउटा ठुलो ब्यङ्ग गर्दै
ती परका एक जमात भोज खाने मानिसहरुलाई –
देश छोडेर चराचुरुंगीहरु अज्ञात दिशातिर भाग्न थाल्छन
बासस्थान छोडेर सबै आकारहरु बरालिन थाल्छन,
जंगलका बतासहरु जस्तै रूखहरूमा हराउन थाल्छन |
डर लाग्दा बिरालेहरु कोठाभित्र आएर रगत चाटिरहन्छन,
मानिसको रगत पहिलो पालि मिठो मानेर उसका गिजाभरि
स्वादिलो किसिमले लागेको छ,
मैले धपाउन नसकेको बिरालो त्यहि थियो,
र उसले मेरो आमाको भुइंमा पोखिएको रगत खाइरहन्छ,
मृत्यु यौटा व्यक्ति भए पनि
आत्महत्या सबै व्यक्तिको हुनेछ |
अहिले सम्म इतिहासमा कहीं पनि कसैले नदिएको पुरस्कार
तिमीले मलाइ दिएका छौ
बिरालो मलाई दिएका छौ |
र दिएका छौ मलाई यौटा देश,
जहाँ मेरी आमाले आत्महत्या गरेकी छ |
आत्महत्या, कहिले फूलको कोपिला जस्तो फूल भएर
फक्रिना चाहन्छ
आत्महत्या, कहिले बिशाल गगनचुम्बी भवनहरु भएर
उभिन चाहन्छ
आत्महत्या, कहिले ठूलो पैरो भएर जान चाहन्छ
आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ
आत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ,
आत्महत्या, क्यानभासमा रातो भएर पोतिन चाहन्छ,
आत्महत्या, महान लहर भएर सागरमा बहकिन चाहन्छ
आत्महत्या, यहाँ जसले पनि जहिले पनि हुन चाहन्छ |
आत्महत्या, तिम्रो बुंइगलको सिलिङ्मा कहीं
सिउरिएको छ,
लाग्ने हतियार भएर ब्युँझने छ |
गएर हेर, – कसैले खुकुरी लुकाएको त छैन,
[सायद तिम्र आमाले लुकाएको होली,]
पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनु
त्यसबेला – तिम्री आमा मरिसकेकी हुन्छे,
उसले आत्महत्या गरिसकेकी हुन्छे,
त्यहाँपछि तिमीले खालि कोठा मात्र पाउने छौ
कहीं केहि भएको हुने छैन,
छाल पनि हुने छैन लहर पनि
निवेयक्तिक परिवेशमा लामो सांस फेरीरहेको मृत्युले
[कहीं केहि भएको हुने छैन,]
लामो सर्प त्यहीं भैरहेको हुनेछ
निल्दै बसिहरेको अग्लो रुख र ढुंगाहरुलाई
केहि भैरव, केहि रुद्र र केहि दैत्यहरु हुनेछन
रगतमा मुछिएका आवासहरु
र, अरु सभ्यहरु यो बाटो नहिंडेर परबाट
जाने छन् –
कुनै पुराणको कथा जस्तो हुनेछ,
यो मेरी आमाले आत्महत्या गरेको देश |
( I I )
विश्वासका आश्वासनहरु खोज्न थाल्दाखेरी
कुनै निर्लिप्त सत्यका स्वरूप र आकृतिको रातो
याद आएको थियो
तिमी र म त्यसै बेला अल्झिएका खोला नाला उठाएर
-सावाथको दिन,आराम गर्छौं भन्दै थियौं
तर,ती छर्किएका पवित्र पानीहरु थिएनन्,
ढोका दलिन,र भित्ताहरुमा रातो लागेका व्यक्तिगत
बलिदान जस्तो |
सहादत जस्तो |
उसको अनुहार |
तिमी र म त्यसै बेला निष्ठुर बेलालाई साथै
लिएर गइरहेका पनि हुँदा हौँ –हामीलाई थाहा थिएन
तर म तिमीलाई प्रशस्त चिन्थें
तिमी मलाई चिन्थ्यौ –
हामी यसरी चिनारी साटिरहन्थ्यौं,होइन र ?
चोकभरि ओछ्याइएका बलिदानका रगतलाई
एक एक गरी केलाएर हेरेका हौंला –कसैलाई चिनेनौं
प्रत्येक आँखालाई जाँचेर पनि हेर्यौं,
छामेर जिउलाई हेरौं
हुन त,परिवेशभरि त्यसबेला सम्पूर्ण वेदना गन्हाइरहेको थियो
किनभने ती आँखा,ती चोक,ती हातखुट्टा र गिंडहरु थिए
तिनका वरिपरि पोतिएका स्वरूपलाई
एउटा सिंगो अविश्वासले च्याहिरहेको पनि हुने थियो
बरु अहिले डढेलो नलागेको भए पनि
खान्डिवको रक्षा गर्न मलाई पठाएको हो,
त्यंहाबाट कुनै पनि तक्षकलाई उम्किन नदिनू
किन भने तिमीलाई थाहा छ-डढेलो कतिदेखिन् खुब भोकाएकी
क्यानभास जस्तो खालि छ-त्यसमा आगो लेख्यौं
पृष्ठभूमि थिएनन् भने पनि गहिरो साँझको रंग बलिरहेको छ,
हरेक दलिन बलिरहेको छ,
हरेक भित्ता बलिरहेको छ
हरेक खुकुरी बलिरहेको छ
घाँटीबाट ओर्लिरहेको राता सर्पहरु मलाई बेर्न लाग्छन् ,
तिमी त्यस बेला दरबारका ओछ्यान ओछ्याएर
सुत्ने कोसिस गर्यौं ,
भोलिको मिठो र अखण्डित दिनलाई मुखभर ,चपाऊँदै
म त्यहीं सर्पसित बसिरहन्छु
म त्यहीं,आत्महत्यासित बसिरहन्छु,
लामा लामा जिब्रो निकाल्दै आउँछन् , रातभरि,
मृत्यु पर्खिरहनु निर्वैयक्तिक भएर म सिकें,
तर परको भित्तासमेत एउटा ठुलो अनुहार टाँस्तो रहेछ,
झ्याल डरलाग्दा नंग्रा पालेर गर्जिंदा रहेछन्
आमाको लाससित बसिरहुन्जेल तिमीहरुलाई सन्तोष हुँदो रहेछ,
मलाई अनेकौं सर्पहरुको रातो र विषालु डर लाग्छ,
मलाई हिंड्न डर लाग्छ,
मलाई,ओर्लिन उक्लन डर लाग्छ,
मलाई,रगत कुल्चिन्छु कि भन्ने डर लाग्छ,
मलाई, मेरो देशमा डर लाग्छ
त्यसैले म जेसुकैलाई ‘ब्रेल’ छामे झैं छाम्छु ,
तिमीलाई तिम्र ओठनिर छामिसकेपछि चिन्न थाल्छु,
तिम्रा मरेका सबै दिनहरुलाई फेरि ब्यूँझाउन मन लाग्छ
र एउटा ठूलो रातो झण्डा दिएर तलेजुको मन्दिरनिर
एउटा ठूलो एक्लो जात्र पठाइदिन मन लाग्छ ,
त्यसलाई पर्खिनेहरुमा कोहि पनि हुने छैनन् ,
धेरैले तानेर लैजानेछन् खटमा हालेर ,
चमर, पंखा हम्किंदै रातो जुलुस
होष्टेका नाराहरु ?
तिमी सुन्नेछौ, सुनिरहनेछौँ
त्यो खटको देवतालाई सुनिरहने छ, मेरो देशभरि
यहाँ मेरो आमाले आत्महत्या गरेको हो,
त्यो त स्वयम्भूको हेरिरहने मुर्दा आँखाले देखेको छ,
तलेजुको मन्दिरले पनि हेरेको छ
भीमसेनथानको भैरवले पनि जान्दछ,
सेतो भैरवलाई रातो रगत !
कालो भैरवलाई रातो रगत !
सेतो कालीलाई रातो रगत !
रातो कालीलाई रातो रगत !
ती राता सबै दागहरु मेरी आमाले सेरिंदा लाग्छ
त्यो नीलो नदीलाई रातो रगत
जेउसलाई रातो रगत
मिनर्भालाई रातो रगत,
डाइनोसिसलाई रातो रगत,
ती राता अक्षर मेरा अक्षर हुन् ,
यस बेला ठूलो उत्सव मनाएर, ठूलो नृत्य गरे पनि हुन्छ,
अनि, गीत गाएर राता फूलहरुका ,आगो जस्ता,
उफ्रिएको खुट्टाहरु पनि होउन् ,गालाहरु,चम्केका,
आँखाहरुमा वेदीहरु टल्किउन् पर बलिरहेका
ठूलो टापु,कोलाहलको टापु,आगोको रातो टापु
मेरो आमाले आत्महत्या गरेको देश |
कहिले शून्यका सम्बन्ध एउटी कुनै बूढीले कुरा गरिरहिछ,
भर्खरै उसले माथे बुइंगलदेखिन् तल ओर्लिएकी छे भन्ने कुरा
ओहोर-दोहोर गरिरहेका रुखहरुलाई, हेर्छन् ,
र उसका हत्केलामा राखेका आँखाहरु
तिमी र म कहिले पनि उसका कुरा बुझ्नेछैनौं
ऊ त,त्यही उत्सवको देशकी बूढिया
यहाँ गुराँस देखेर आएको भनेका छन्
यहाँ बलेका बिहान र साँझ हेर्न आएको भनेका छन्
यहाँ रगतका पर्वहरु देखेर आएको भनेका छन्
एउटा उत्तानो सुतिरहेको भीमकाय दैत्यलाई
यहाँ उसले देखेर आएको भनेका छन्
म उसलाई चिन्दछु भन्ने कुरा तिमीलाई थाहा छ,
तर उसका कुरा बुझ्नेछैनौं हामी |
उसका भाषाहरु अनावृत होलान्
उसको चेहरा जस्तो
ऊ जस्तो कोही पनि छैन भनेर मैले थाहा पाएको छु,
ऊ शून्यको सम्बन्धमा समुद्र जानेको छ |
एउटा आइमाई र लोग्नेमानिसको
निर्जीव रातो मखुण्डोको बीचमा
सजीव एउटा फैलिएको रातो हात लिएर
उभिरहन्छ सिंगारिएका कथाका कथाहरु
गुलाफको रातो फूल जस्तै, झन्डैले रगत चुहिने गरी
सेतो कागजभरि
अक्षर नचिनिने पार्दै
मेट्दै बहुलाहाले जस्तै ती पुराना अनौठा सम्झनाहरुलाई
आफ्ना आकाशहरुभित्र ,
परिप्रेक्ष्यमा कहीं नीलो पहेंलो रंगका पानी
नबगेको कुरा गर्दैनन्
आफूले बोकेका सब पूजासामा समेत सिन्दूरी छन्,
आफैले लाइदिएका टीका त हुन् ती भचाखुसी
काटिन लागेकाहरुलाई लाइदिएको
महान् उद्घोष गर्दै गुम्बजका ऐनाहरु फुटुन्जेल ,
चारैतिर चोकमा, मरेका अवयवहरूमा
पानी बगेजस्तै सृजना गरिएको छ किताप अघिल्तिर
परदेखिन् बगेर आइरहेको हुन्छ
लहरमा अरु लहर र बगाइ अरु बगाइ थपेर
गहिरो पार्दै भित्ताका सबै ईंटहरुलाई
माथिको पहेंलो जूनको ज्योति पनि
अघिसम्म सिन्दूरी थियो भनेर थाह हुन सक्छ
किन सबैले रातो मेट्न खोज्छन् ?
मेरी आमाले सेरिंदा छिर्का परेको मेरो निधारमा रातो टिका
त्यो मुखुण्डो बिचको रातो हात एक्लो
मेरो बाहेक कसैको हुन सक्तैन
मैले धोएका खुकुरीहरुको सम्बन्धमा सबै गुठीयारले भन्नेछन् |
त्यो पुरोहितले पूजा गरेको,
काठको पानीको देवता,
ढुङ्गाको आवाज,
आकाशको देवता,
रिसले दाँत देखाउँदै वीभत्स हाँसिरहेका धारहरुलाई
मैले सम्झने गरेको छु ,
मैले सबै फलामलाई सम्झने गरेको छु
सधै आहालमा व्यर्थै बसिरहेको सूर्यको डोबलाई
पूर्वको रातो घाममा
मैले सम्झने गरेको छु,
त्यहाँ एक प्रकारको तांत्रिक लाखेको अनुहार
मैले सम्झने गरेको छु |
तिमी र म बसेको ठाउँमा यो लाखे
तेस्रो व्यक्ति हो,
जसलाई मैले सम्झने गरेको छु,
जसलाई मैले अचेल च्यातिदिने तर्खर गरेको छु
त्यो बूढियाको लोक-कथामा |
सानोतिनो पूर्वाभासको आग्रहलाई म रिसाउँदिन ,
रातो भनिदिएपछि म भन्नेछु
यो मेरी आमाले आत्महत्या गरेको देश हो
यसका चारैपट्टि क्षितिजहरु छैनन्
यसको माथि ठूलो गुम्बज छैन,
यसको मुन्तिर पाताल कहीं पनि छैन,
यसको ढुङ्गा छैन,
यसको कहीं पनि शब्द आउँदैन ,
यसको धरहरा र बिगुल छैन
बिउँझने गरी सबैलाई उसले भन्दैन ,
सिंगो एक्लो परिवेशलाई थाममा बाँध्ने मनसुवा
लिएर आउंदै गरेको यात्रामा
कहीं गोरेटो टुंगिएपछि
ती झरेका आगो जस्ता थोपाहरुको रंगाई
कैलनरीको उकालोमा ,लैजानुपर्ने होला
स्वतन्त्र तुल्याएर सबैदेखिन्,राजा ढुङ्गा
देवता,बोक्सी, र डाइनदेखि ,
ऊ के गर्छ भनेर कपाल कन्याउँदै सिंगै जंगल हेरिरहन्छ |
सल्किरहेको |
उचालेका अनेकन रुखहरुमध्ये,
उसको काँधमा मैले र तिमीले देखेको शिरीषको ठुलो रुख
( III )
मैले सम्झेको छु |
चिच्याएर आकाशतिर हेर्ने हो भने पनि
हेरे हुन्छ
त्यो बग्दै गरेको रातो खोला, मेरो आमा हो
यो मेरो आमाले आत्महत्या गरेको देश हो |
म गीतका पर्खाल लगाउन आँटिरहेको छु, त्यस बेला,
सूर्यका सबै घाम ओच्छिन खोजिरहेका थिए परसम्म
ओगट्न नसक्ने गरी केही राता गुराँसका पातहरु थिए
धेरै उज्यलोहरु आँखामा समेटेर अत्यन्त अग्लो उभिरहेका
धारा पानी,गलैंचामा
तिमीलाई यिनै सबै कुराहरु
म ढुङ्गाको एउटा रातो सूर्यलाई ,जन्म दिन बसिरहेको छु
यही वध्यशिलामा सबैले अनुष्ठान सहित केहि खान्छन्
र ,बलिरहेको मुस्ला काखी च्यापेर तातो चुहुने गरी नाच्छन्
आगोका राता देवताहरु भएका बेलामा
तिमीले केहि नदेखेको भए पनि तिम्रा वरिपरि उत्सव
भएको हुन्छ
नगरा बज्दै गरेका हुने छन् महान् सूचना दिंदै
महान् घोषणा गर्दै ,
चिहानमा मरेका सबैलाई पनि बिउँझाउने गर्दै,
सुतिरहेका सबै स्वर र आकृतिहरुलाई उठाउने गर्दै ,
र तिमी र म ती बाघका आँखा गन्न थालिरहेका छौं
र त्यस्तो व्यक्तिले मलाई हेरिरहेछ, भनेर थाहा छ ,
तिमीलाई पनि यस्तै थाहा छ |
ती हातको रातो खुकुरीलाई ऐनामा उभिं दिंदा म त्यो
व्यक्ति देख्छु ,
म र तिमी बाहेक त्यो,
उही आंधी आएको जस्तो , आइरहन्छ रातो आँधी
कतिओटा घर लैजाँदै ,कतिओटा किनार लैजाँदै,
म ठूलो वतास संरचना गरिरहन्छु ,त्यस बेला,
म आकृतिका दुर्बोध्य नियतिलाई संरचना गरिरहेको हुन्छु ,
परको एक्लो बोटमुनि बसिरहेको
त्यो आकृतिलाई मेरो र तिम्रो आँखाले नाभ्येका पनि त हुन्
तिमी एक्लिंदै जाँदा ,म पनि एक्लो हुँदो रहेछु ,
त्यो रातका अँध्यारा कोठाहरु जसरी एक्लो भएर
बेग्लै अनुहार बोक्दै ,आउँदा रहेछन्
मलाई लखेट्न ठूलो छाल बेलुकीपख घस्रिदै आए जस्तै
ती आइरहेका सबैलाई म सानु निमन्त्रणा दिने रहेछु ,
तिमी र म
म र तिमी अनि त्यो तेस्रो व्यक्ति ,
तेस्रो व्यक्ति अनि म र तिमी,
आदान प्रदान गर्छौं आफ्ना एक्ला सेरिएका घाँटीहरुलाई
तिमीले पर्खेको जस्तै
मैले पर्खेको जस्तै
मेरो आमाले आत्महत्या गरेको देशमा ,
कि केहि पानी र अक्षताहरु होउन् ,
कि केहि अनुष्ठान भए पनि होउन्
कि केहि राता फूलहरु होउन्
केही होउन् ,अस्ताउन आँटेका बेलुकीका आकाशहरु
मलाई त्यसैले एउटा हत्या भइराखेको हेरिरहन
मन लाग्छ,
र एउटा गोरेटो बलिवेदीमा गइरहेको हेर्न मन लाग्छ
एउटा भित्तालाई सिंगै बिच्छ्याएर
त्यसका सबै टाटाहरु सहित
घाइते पारिदिन मन लाग्छ !
ती ओच्छिएका नासोरिएका भईंहरुमा ,
ती नसमेटिएका रातो गलैंचा मैले बस्छु
कुर्दै आउन आँटेको ठूलो भूइंचालो जस्तै,
ज्वालामुखी आएको जस्तै,
नदी रगतको आउँछ,जसलाई तिमी बाँध्न खोज्छौ
म ठूलो पतवारसहित त्यहाँ भिज्न खोज्छु
त्यो मेरो आमाको रगत
मेरो रुख हो
त्यसका चरित्र सुँडमा अनेक रंगले बाँधिएको पुतली राखेको
त्यो सुतिरहेको रुपको अनुकृति समेत गहिरो छ
अनि देख्न सकिन्छ:
शरीरमा बाँडिएको केहि रातहरु भएर, खुट्टा र हात भएर
केहि सास भएर,सुक्न आँटेका जस्ता,
केहि घोडाको टाप हिंडेको आवाज जस्ता,
थोपा सुनिरहन सकिन्छ,एक्लै बसेर ,
त्यो तेस्रो व्यक्ति नभएको ठाउँमा,
सिलहट भनेर हुँदैन, कुनै सिलहट निर्वैयक्तिक हुन्छ,
आक्रमण सम्पूर्ण कालो भएर
तिमीलाई तिमी ती यात्रुहरु र बगरमा हिंड्ने उँटका
कुरा गर्नु |
त्यो आश्चर्यको रुखलाई माटोले प्रशस्त बाँध्छ
माथि उम्रन सक्दैन त्यसैले
धर्तिदेखि उम्किन नसक्ने बाध्यता
उसको तिम्रो पनि होइन,मेरो पनि
त्यसैले किन चिन्तित हुने |
बरु केहि तितेपातीका स्याउला र मंत्रले भजाएका अक्षता
चौतारीको धुलो, लिएर मान्छिन चाहन्छु यस स्वप्नलाई
म धेरै बेर रातो सपनाहरु हेर्न सक्ने छैन
नीलो त शिरीषको बोट भयो
हरियो गाउँलेको अँगेनामा भन्ने कथा भयो
पसिना पचाउनलाई |
श्रम भन्दा पसिना पचाउन गाहारो हुने कुरा मैले सुनेको छैन
एउटी चितलांगे केटीले गाउँ आँटेको गीत भएछ,
वरिपरि सखीहरू लिएर ऊ केटाहरुलाई बाँध्ने गर्थी
पुरुष जातिलाई
एक मुठी ‘स्लिपिंग टेबलेट’ खाएर लेखेका गुनकेसरी पनि
तिमीलाई मन परेको सुन्दा सम्पूर्ण बलेसी चुहिन थाल्छ
त्यो धनी फोनेसियन व्यापारीले पैसा प्रशस्त कमाउँछ
हाँस्छ,
अर्थात् मिदासको कथा |
ती सुनौला डलरहरु
म जहाँसुकै अनुपयुक्त,परिधि सानु त म ठुलो हुँदो रहेछु
परिधि ठुलो त अझै ठुलो हुँदो रहेछु |
अल्झी-अल्झी फेरिएका सासहरु मेरा कान बजिरहेका छन्
मेरो बाउ जेनेरेसनले मर्न बाध्य गरिएकी मेरी आमा
हुन त यहाँ हरेक व्यक्ति मर्न बाध्य छ
जस्तै कुनै कवि तथा कलाकार मर्दा
मानिसहरु शोक सभा गर्न बाध्य छ |
राता फुलेका केहि फूलहरु रहेछन्
कोपिला पनि त्यो बुटामा रहेछ,
एउटा टापुमा एक्लो बसिरहेको बादल अनि आकास
एउटा टापु जस्तो एक्लो हुन बाध्य छ ,
पृष्ठभूमिमा सेतो समुद्र राखेर
दूध जस्तो हुन्छ आँखाका नानीभन्दा बाँकी ठाउँहरू
निर्लज्जतापूर्ण घर्षणकामी (सैडिस्ट)छ त्यो
दूध जस्तो बेहान बनाएको काँचो गोलभेडाको तरकारी
त्यो पृष्ठभूमिको सेतो सागर यस्तै हो |
दूधजस्तो हुन्छ यहाँ न्याय गरेको,
दूध जस्तो हुन्छ छोटै अवधिमा बनेका टुंगनाहरु
दूध जस्तो हुन्छ मलाई तातो अँगेनाको भुंग्रो फ्याँकिएको
मासुको चौटा जस्तो |
दाउरा पुगेन भने मुर्दालाई त्यसै घाटमा छोपिदिनुपर्ने हो
मेरो देशमा
मेरी आमाले आत्महत्या गरेको देशमा
दूध जस्तो हुन्छ,
गोठालाले लगेको सबै रंगका वाछाहरु
अहिलेसम्म फर्किन आएका छैनन् |
त्यसैले अलिकति अचानोलाई हाँसो ,
अलिकति हाँसो,कुखुराको खोरलाई
अलिकति हाँसो बिरालोको ढिपी र उसका शोणित लोलुपतालाई
अलिकति हाँसो तिमीलाई र मलाई |
म हाँस्न सकेको मेरी स्वास्नीले मलाई धोका दिएपछि
मैले प्रशस्त माया गरेको आस्थाले नै
मलाई ‘जोकर’ बनाएको तिमीलाई थाहा छैन
हुन त तिमीलाई सबै कुरा थाहा छ,
फाल्ट पानी जस्तो हुन्छ,यहाँ विश्वास गरेको
छर्किदै वरिपरि घुमाएर उसलाई दाग लगाउँदै रातो
उसको जिन्दगी तैपनि जाँदैन त्यसैले उत्सव बाँकी छ ,
म बाँकी छु खुकुरी बाँकी छ,धार बाँकी छ |
मलाई त्यो हतियार हेर्ने इच्छा छ,कसैले दिंदैनन्
ती भोका धारहरुमा रेट्ने शक्ति जाँच्ने इच्छा छ
मेरा यी अनौठा इच्छाहरु तिमीलाई राम्रा लाग्ने छन्,
सबै कुरा राम्रा लाग्ने छन्,
परका क्षितिजहरु,
परका भैंचम्पाका फूलहरु,
परका चौताराहरु ,
परका गोरेटाहरु,
परका आकांक्षाहरु,
र मेरो आमाले आत्महत्या गरेको देश
कतै कुनै पनि दाग लागेको छैन भनेर भन्ने गरेका छौं
मेरो सामु ओच्छिएको त्यो रंगिन परिवेशमा
सेतो तन्ना ओच्छिएको छ
केहि अनुष्ठानका आभाशारू छन् त्यहाँ,
म उही खुकुरी माझ्न व्यस्त छु,
म उही उत्सवमा व्यस्त छु
मेरा अनेकन सपनाका खोलाहरुलाई
शुभकामना दिनेहरु
तिमीहरु,मेरो आमाको लास हेर्न आएको भीड हौ
तिमीहरुलाई सबैको सहानुभूति छ,
सबैको सहानुभूति छ किन भने मेरी आमा मरेकी छ,
त्यो तेस्रो व्यक्तिले मलाई विस्तारै सुम्सुम्याउँछ
किन भने मेरी आमा मरेकी छ,
उसको ममाथि सहानुभूति छ |
त्यसैले,
ऊ मलाई केहि हातहरुमा,मासुका चौटाहरुमा
लुछेर बाँड्न सक्छ
ऊ मलाई केहि कलेजोहरुमा,केहि हाड र छालाहरुमा
भाग लगाउन सक्छ,
केहि गजबार छिट्कनी र आग्लोहरुमा थुन्न सक्छ,
तिनका भागिरहेका आकृतिहरुलाई
तिमीले समात्न सकेनौ भनेर म दुखी छैन
म दुखी छैन ठुलो सागरको बीच कहीं पनि त्यो रातो
छैन भनेर
जुन पनि रातो टाटो ठूला ठूला लडाईहरुमा मेटिन्छ
थुप्रा लासहरुमा हराउँछ मेरो आमाको लास जस्तै
कथाहरुमा बिलाउँछन् ती पीर र पीडाहरु
धूवाँ भएर अलिकति माथिसम्म उभिन्छन् दाउरा भएर
म र तिमी यस बेला कुनै कठोर र निर्मम कथा भन्न सक्छौं
जुन कथामा कसैको नाम छैन |
ती चहर्याउने घाउ पनि छैनन् |
दुख्दैनन् |
अँध्यारो र उज्यालो वियोग भएको धेरै दिनपछि,
एकै ठाउँमा तिनलाई मैले समातेको छैन,
संघर्षका र मृत्युहरुका राता रंगहरु भएर केहि हुने छैन
तिनीहरु काठले बनाएका पांग्रामा हिंड्ने खट हुन्,
देवी देवतालाई माथि लिएर सहरको परिक्रमा गर्न
नसजाइएका कुनामा परेका आवासहरु जस्तै
नबनाइएका घरका आयोजनाहरुजस्तै,
तिनका ‘आगोका घर’
दक्षिणपट्टि खोलिएको झ्यालको उज्यालो
मन परेको थिएन,तिमीले पनि बन्द गर्यौ
त्यस अँध्यारोमा
मैले मेरा यात्रुहरुलाई निमन्त्रण गरेको थिएँ
उनीहरु आएनन्, पर्खिरहें तिमीले पनि
यो ‘आगोको घर’लाई जलाउने इच्छा छ,
बग्दै गइरहेको पुरानो काठको देवल जस्तै
कोठाबाट आएको मृत्युको आवाजमा
मन्दिरको महान् अनुष्ठान हुँ सक्छ |
( IV )
कति बिघ्न विश्रामहीन; आँखाहरु !
केही हेरिरहेका छैनन्,मात्र कुनै विन्दु टुल्टुल्ती देखिरहन्छन्
र, मुर्दाको आँखा त्यस्तै हुने छन् मैदानमा विभिन्न थरिका
हरियोपन लिनेकोलाई
म बेग्लै कुरा गर्ने,तिमी बेग्लै कुरा गर्ने,त्यो तेस्रो व्यक्ति जस्तो
अर्थात् हामीले कुरा गरिरहेको उसले सुन्ने छ,
र,उसलाई आफू कागज हुन इच्छा लाग्ने छ,
केही नीला आकासहरु खुम्चिंदै उभिंदै
म पल्लो रातो किनार जस्तो रहेछु,प्रतिबिम्बित देखेको
तिमी पल्लो स्वर जस्तो,मैले देखेको
लामो भएर निबन्ध हुन आँट्ने भय उसलाई भएछ,
मौन कथा एउटा बोल्न नसक्ने
केवल उत्तानो परेर घाँटीमा घाउ लिएर फैलिरहेको
निरावृत घाउ,
धेरै युगहरुले एकै ठाउँमा जम्का भएर आफूलाई
भित्रसम्म जसका केहि गहिरो पीडा छन्
हरियो पीडा सन्तापका स्वप्न,
म गोरेटो खोजिरहेको छु,तिमीसित मिसिएर
तेस्तो मानिस कोही थिएन,तिमीसित मिसिएर
बाक्लो थाक लागेर पोल्छ मेरो इच्छाहरुलाई
सबै बस्तीहरु
सबै गाउँहरु
सबै परिवेशहरु
बल्छन्
ती पराकाष्ठालाई मात्र केहि हत्केलामा बटुलेर
बाँड्दै जाँदा रहेछन् पाल्चामा बत्ती बाल्दै रातभरि
हरेक देउता देवीका अघिल्तिर
ती उज्याला घेराहरु मैले रुचाएको हुँ
हुन त, तिनीहरु नितान्त एक्ला र एकलास थिए
हुन त, तिनीहरु नितान्त टाढा र परदेशी थिए
हुन त, तिनीहरु नितान्त उदासीन र पराया थिए
मैले लिन खोजेका आश्रयहरु पनि,धोका दिन खोज्छन्
नितान्त निर्दोष भएर
मैले माझ्न खोजिरहेका खुकुरीका राता धारहरु
अझै पोल्दछन् पूरा क्षितिजको बेलुकीतिर
बगरको ग्रीष्महरुले जस्तै
बगरका बालुवाले जस्तै
पुरस्कार जस्ता हुँदा रहेछन् ती राता फलामहरु
तिमीलाई दिइएका अरनाका रिस जस्ता
सजाएर पूजसामा झैं,
हरेक दोबाटोको देउतालाई पाल्चा दिएका हुन्
तिनीहरुले अँध्यारोमा बसेको धेरै दिनदेखिन्
केहि पनि देख्न नसक्ने भैसकेर
बालांग-छदको पश्चिमी महाद्वीपमा जन्म लिने हो भने
किनारमा त्यस पोखरीका घोडा र घोडीहरु चर्छन्
नजाऊ, नजन्म,
धन र ऐश्वर्य भए पनि त्यो पापी छ
त्यहाँ नपस्नू |
उत्तरीय महाद्वीपमा नजानू,
धेरै दिन बाँच्न सके तापनि त्यहाँ पाप छ
दामिनयान नपस्नू,
लुपाको पूर्वी महाद्वीप नजानू
भाले र पोथी पौडी खेलिरहेका हाँसका छन्
त्यहाँ पाप छ नपस्नू,
नाकमा दुखका गीतहरु सुन्नुपर्ने छ |
काला घरहरुका ठाउँ
पीडाहरुका ठाउँ
सेता घरहरुका ठाउँ
पृथ्वीका अँध्यारा प्वालहरुका ठाउँ
काला बाटोहरुको ठाउँ, नपस्नू,
आफुलाई सबै पर्खाल र बारहरुले छेकेर बाँधुन्
जाडो प्रशस्त हुने छ,
तातो पनि हुने छ, नपस्नू,
प्रेमहरुले लखेट्ने छन्, नपस्नू,
नपस्नू त्यस्ता पुलहरूमा जहाँ आत्महत्या गर्न बाहेक केही
गर्न सकिन्न ,
नपस्नू, ती ढोकाहरुमा बलिया साँग्लीहरुले बाँध्लान्
नपस्नू, रुखका महान् टोड्काहरुमा
नपस्नू, ती जाल लगाएका माकुराका हातहरुमा
नपस्नू, अक्टोपसले आहाल बसिरहेको कालो खोलामा
तिमीलाई निल्ने छन् राता घाउहरुले
जम्मै पानी रातो भएर रङ्गिउन्जेल ,
तिम्रा रगतहरु बगिसकेका हुने छन् |