~आषिश श्रेष्ठ~
आधारातमा झ्यालको चरबाट बाटो गरेर,
एक झोंक्का बतास जोडतोडले सिट्टी मार्छ,
तालुमा ठोकिन्छ,गिदि जम्ने गरि ठन्डिले सेक्छ र भन्छ,
वडादशैंको शुभकामना !!!
दुनियाँभरको हाँसो,रोदन,आवाज बोकेर डुल्छ बतास,
सुसेलिमा बात गर्छ,साउती मार्छ मसँग,
जिउभरी मेरो काँडा उमारि भन्छ,
तँलाई हेर,मलाई हेर,बेला हेर,बाहिर हेर !!!
म अझ बेस्सरी शिरक च्याप्छु,
पर्दा पन्छाएर बाहिर हेर्छु,
सडक छेउमा ओच्छ्यान हालेर,लमतन्न कोहि पल्टिरहेछ,
पर्दा छोडेर कोल्टे फेर्छु,तालु छोपेर प्रश्न गर्छु,
के साच्चैं दशैं लागेकै हो त ???
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)