~सुवास खनाल~
मलाई जप्नु छैन
हरेकक्षण
सन्ध्या मन्त्रजस्तो
अन्धराष्ट्रवादको नारा
वा
कन्ठ गर्नु छैन
रुढ राष्ट्रिय गानको
हरेक शब्द र वर्णहरू
के यसपछि
म
अनागरिक
वा देशद्रोही ?
देखेर
पसिनाले गल्दै गर्दा माटोका डल्लाहरू
मलाई अत्यधिक सन्तोष हुन्छ
फैलिँदै गर्दा आकाश छोएर
माटोको सुगन्ध
म हर्षविभोर हुन्छु
म जान्दिन
राखेर
सिरानीमा राष्ट्रिय झन्डा
हरदिन राष्ट्रिय सपना सुनाउन
म सक्दिन
हरक्षण बदलिइरहेको
राष्ट्रवादको परिभाषा घोक्न
जब हेर्छु
आफ्नो भूगोलका मान्छेहरूको स्वप्नील
अनुहार
अङ्कुरण भइदिन्छ
प्रेमको बीज
जब सम्झिन्छु
पुर्खाहरूको
बलशाली इतिहास
कहीँदेखि भरिएर आउँछ
शक्तिको अनौठो स्वरुप
म
सक्दिन
बेसुरा बर्बराउँदै हिँड्न
देशको नाम
र मलाई
टाँसेर
केही गर्नु छैन
आफ्नो टोपीमा
यो देशको नक्सा
तर
मलाई यो देश
प्राणजत्तिकै प्रिय छ ।