~टिका खड्का ‘राष्ट्रप्रेमी’~
खोजेको सबै भेटिन्न बुझ्यौ
भावीको लेखा मेटिन्न बुझ्यौ
औकात आफ्नो नभुल तिमी
हातले घाम छेकिन्न बुझ्यौ
नगरी कर्म पाइदैन फल
शिखरमा त्यसै टेकिन्न बुझ्यौ
खोजेर सुख पाउँने भए
दु:खले मान्छे रेटिन्न बुझ्यौ
जीवनमा नपाई आफुले चोट
अरुको घाऊ देखिन्न बुझ्यौ
पैसामा तिमी बिकेनी नेता
यो “राष्ट्रप्रेमी” बेचिन्न बुझ्यौ ।।
मधुमल्ला – ४, मोरङ