~ए.पी. सुमन~
सवेरै झिसमिसेमै दाउराघाँस गरेर,
अरुले झैँ क, ख, ग, घ, पढ्ने आश गरेर,
आमाले सिलाइदिएकी,
जसोतसो मिलाइदिएकी,
कुनै १९औँ शताब्दीको
झोला भिरेर
मुटु भरि उत्साहको खोला भिरेर,
भर्खरै स्कुल जान थालेका,
मेरा गाउँका नानीहरू
मीठो सपना पालेका,
मेरा गाउँका नानीहरू,
अहँ जान्दैनन्,
ए, वि, सी, डी, जान्दैनन्,
अहँ सुन्दैनन्
१,२,३,४ सुन्दैनन्,
अहँ बुझ्दैनन्,
कपुरी “क” बुझ्दैनन्,
मात्र नानीहरू,
“भ”बाट भोक बुझ्दछन्,
“र”बाट रोग जान्दछन्,
“श”बाट शोक सुन्दछन्,
यस्तो लाग्छ नानीहरू,
सबथोक सुन्दछन्,
बन्दुकको गोली सुन्दछन्,
फाटेको चोली सुन्दछन्,
गड्याङगुडुङ्भन्दा चर्को
साहुको बोली सुन्दछन्,
मेरा गाउँका नानीहरू,
एक अनि अर्का बुझ्दछन्,
उस्तै पीर मर्का बुझ्दछन्,
ऐना हेरेर घण्टौँ टोलाउँछन्,
साँच्चै निधारका धर्का बुझ्दछन्,
मेरा गाउँका नानीहरू,
वेदनाको मर्म जान्दछन्,
फुटेको कर्म जान्दछन्
मन्दिर र मस्जिद छुट्ट्याउँदैनन्,
साँच्चै नानीहरू धर्म जान्दछन्,
मेरा गाउँका नानीहरू,
नारायणीको तीर चिन्दछन्,
देवचुलीको भीर चिन्दछन्,
दैला माथि झुण्डाईएको,
बाबाको तस्विर चिन्दछन्,
अनि सोध्दछन् अबोध नानीहरू,
माम खाने वेलामा,
स्कुल जाने वेलामा,
“आमा, बाबा कैले आउनुहुन्छ ?”,
सधैँ एउटै जवाफको पतिक्षामा,
छोरी ! तिमीले अँझ एक गाँस खाएपछि,
छोरी ! तिमी स्कुल गएर आएपछि,
छोरी ! तिमीले कलम समाएपछि,
छोरी तिमीले कलम समाएपछि ।
(स्रोत : मझेरी डट कम)