~भुपाल राई~
वर्णमालाका मैदानमा
खेलिरहका हुन्थे
मजस्तै कलिला
कपुरी ‘क’
आँखे ‘ख’
र, अरु थुप्रै नानी—वर्णहरु
लाग्थ्यो,
तिनका पनि मेरैजस्ता आमा होलान्
बाबा होलान्
होलान् साथीसँगीहरु
गुरूले उप्क्याएको हिज्जेसँग
कोठा थर्किनेगरी बोलाउथें
तिनीहरुलाई— आफूतिर
यसरी उक्लिन्थें
‘क’ देखि
गाँठो ‘ज्ञ’ सम्मका फुच्चे पहाड…
तर, उक्लिँदा उक्लिँदै
जहिले पनि
म अक्सर त्यो आरोहमा पुगेर अल्झिन्थें
जहाँ रौद्र मुद्रामा
उभिरहेको हुन्थ्यो
एउटा क्षेत्री ‘क्ष’
एक्कासी मेरा आँखामा
नाच्न आइपुग्थ्यो
एक मुठा जुँगाका उद्दण्ड जट्टा
र, पल्ला गाउँको माइला मुखियाको क्रुर अनुहार
जो मानौं, पुस्तकमा अंकित कुनै राजा महाराजाको
सादृश्यीत तस्बिर हो
र, जसले हातमा तरवार लिएर
छेकिरहेको होस्
मेरो घरको बाटो
जीवनका ती प्रथम—प्रथम लय
जसलाई क्षेत्री ‘क्ष’ का हिज्जेसँग
कुनै वर्जित रागझैं
जसरी मैले गाउन सकिनँ
सायद त्यहीँनेर गुमाएँ
मैले एउटा कलिलो साथी
गुमाएँ
जीवनको प्रथम संगीत
न उतिखेर
न अहिले
कसैले सोधेको छ
किन हुन सकेन किराती ‘क’ ?
किन गाईजस्तो ‘ग’ का सट्टामा
हुन सकेन गुरुङ ‘ग’ ?
किन हुन सकेन तामाङ ‘त’ ?
थारु ‘थ’
मगर ‘म’
राउटे ‘र’
सेर्पा ‘स’
किन ?
के अछूत लाग्थे
ती अभिजात वर्णहरुलाई
विजातीय ओंठको कलिलो स्पर्श ?
या टुक्रिन्थ्यो
क्षेत्री ‘क्ष’ द्वारा पालित
तिनीहरुको अखण्ड देश ?
यतिखेर ती हज्जारौं मान्छेहरु
जसले मजस्तै
नितान्त साम्प्रदायिक वर्णमाला जपेर
आफ्नो बाल्यकालको चिहान खनेका छन्
म तिनै चिहानहरुका उत्खनन गरिरहेछु
सत्तासीन भाषाको अँध्यारो सुरुङमा
गुमेको त्यही आफ्नो चीर—संगीत
म सम्झिरहछ… ।