~आर.बी. राई~
मेरो झण्डा खोस्न
झण्डासँगै मलाई आत्मसमर्पण गराउन
उनीहरू आए
धम्काएर गए/ धेरैपल्ट
म टसकोमस नहुँदा उनीहरू
फेरि आए/ आखिरीपल्ट/ उनीहरू आए
गोली-गट्ठा
खुकुरी तरवार
भिरेर आए/
मलाई कुटपिट गरे
मेरो बाली-नाली फाँडे
गाई-बस्तु मारे
धन-सम्पत्ति लुटे
मेरा बूढा बा र बुढी आमालाई लछारपछार पारे
मेरी पत्नीलाई समाए
चिच्याईरहेको मेरो कोक्रोको नानीलाई
मेरो घरसँगै जलाए।
मेरो झण्डा हत्याउन उनीहरूले
बाकस फोरे, लुगाफाटा च्याते
आल्मारी पल्टाए
घरका भित्ताहरू भत्काए
पटाइ र सिलिङ खोले
गोजी, भित्रीगोजी छामे
पोल्टा छामे
टोक्री, थुम्से, डोको उघारे
ढिकी-जाँतो उखाले
गाग्रा-लोहोटा घोप्टाए
अगेना खने, घडेरी कोट्याए
पूजाकोठा, आँगन चहारे।
खोज्दाखोज्दा
मेरो झण्डा कहीँ नभेट्दा
आखिर उनीहरूले आफैलाई धिक्कारे
आफैलाई दुत्कारे/ र
मलाई मारे/ अनि
‘यहीँ हुनुपर्छ, यहीँ हुनुपर्छ’- भन्दै
बरा उनीहरूले
मेरो छाती चिरेर
छातीभित्रको मेरो झण्डा
हेरे।
आर.बी. राई अर्थात रत्न वान्तवा राई-ले रवीन्द नाममा कविता लेख्ने गरेका थिए
(स्रोत : पुस्तक ‘आर.बी.राई, कविताहरूमा’ बाट लिइएको)