~अनन्त वाग्ले~
तपाईं ज्ञान र सूचनाले भरिएपछि
कुनामा थुपारेका अखबार लिन आएको म
तपाईं फिलिली हुँदा थुप्रिएका बोतल बटुल्न आएको म
र पुराना अखबारमा जब देख्छु,
काठको बाकसमा मोरिएका तपाईंका भाइभतिज
बोतल उठाउँदा उठाउँदै सम्झन्छु
ओखती नपाएर घिटघिट गाउँले
र म आँसु पुस्छु यही धोतीले
जे सम्बोधन मैले पाएको छु
मेरो लाज छोप्ने
आँसु पुछ्ने
हाँसो सम्हाल्ने वस्त्रबाट, जो फलाक्नु हुन्छ नि मलाई
‘साला धोती इधर आओ’
म सर्लाही, रौतहट या सिरहाको हुन सक्छु
या हरियाणा, मोतीहारी र बहराइचको पनि हुन सक्छु
निस्पृह तपाईं भनिदिनुहुन्छ-
‘साला बिहारी मत बोलो ज्यादा’
म तपाईंको घर प्लास्टर गर्छु,
चिल्ल्याउँछु, टल्काउँछु
स्टोभ, प्रेसरकुकर र ग्यास चुलो बनाउँछु
पानी, पाइखाना खुलाउँछु
थोत्रा जुत्ता र बोरा बटुल्छु
तरकारी र फलफूल ल्याउँछु दैलोमा
सिरक मोर्दिन्छु
डस्ना तग्दिन्छु
र तपाईं निस्फिक्री भनिदिनुहुन्छ-
‘साला देहाती ठगना मत’
मलाई थाहा छैन १९५० को सन्धि
कोसी, गण्डक वा टनकपुर सम्झौता
फास्ट ट्रयाक वा हुलाकी मार्ग
म चिन्दिनँ पशुपति छिर्न नपाएकी आक्रोशित सोनिया गान्धी
बुझ्दिनँ घोषित÷अघोषित नाकाबन्दी र मोदी मेनियाँ
म चिन्छु त पुरानो साइकल, थोत्रो टोकरी
केही थान औजार र एक जोर चप्पल
र तपाईं निर्धक्क भनिदिनुहुन्छ-
‘साला इन्डियन जल्दी करो काम’
भन्न त भनिएको थियो मलाई-
पारिको मेसमा खानु र वारि ढुंगा हान्नु
तर म खेलौना र कपडा बोकेर गाउँगाउँ पुगेँ
चटपटे र पानीपुरी लिएर फुटपाथमा उभिएँ
मेहन्दीका फूल फुलाएँ मेमसाबका हत्केलामा
सैलुनमा रङ्गाएँ तपाईंको सुनौला केश
आफ्नै पसिनाको मेस चलाएँ
कोच्चिएर धेरैजना साँघुरो कोठामा
र तपाईंले भनिरहनु भयो-
‘ओई धोती मस्त से मालिस करो नँ’
आफूले जानेको एक थान ज्यान
धानेको एक परिवार
र मानेको लालाबालाको मायाकै लागि मात्र हो
भैरहवा या नेपालगन्जका गल्लीदेखि
धुन्चे, नाम्चे र टुकुचे धाएको
अनि तपाईं प्याट्टै भनिदिनुहुन्छ-
‘साला कलुवा, सारा नेपाल खाइ दिया नँ’
र म भैया, यही धोतीले छेक्दै
डर, लाज र पिर
चप्पल पड्काउँदै लाग्छु आफ्नै बाँकी यात्रामा ।
आइतवार, असोज १६, २०७३
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)