~शुभचन्द्र राई ‘सुवास’~
खै कथाको पन्तुरो कहाँबाट फुकाउँ….? यसपालीको मेरो दशै यात्रा सुनाउँ कि नसुनाउ…..? पोहोर सालको मेरो “दशै यात्राको पीडा” यात्रा संस्मरण माइसंसारमा छापिए पछि आफ्नै घुरेनबारीमा गुरुजीलाई झण्डै घोक्राएको विषयमा पाठकहरुबाट हुन सम्मको खप्की खाए पछि थुक्क कुन दिनमा यस्तो संस्मरण लेखिएछ भन्ने लागिरह्यो। एउटा सानो नकरात्मकताले लेखको सम्पूर्ण सकरात्मकतालाई नै स्वाट्टै ओझ्यालमा पार्यो। मेरो संस्मरणको मुल मर्मलाई ख्वात्तै मार्यो। मैले सम्बन्धित पक्षलाई दिन खोजेको सन्देशलाई ह्वात्तै तल झार्यो। मैले आफैलाई नै लोप्पा ख्वाएँ इस्….तेरो लेख।
सम्झे यसपाली पनि लेख्नै पर्यो जे त होस् लुजा….। यसपाली दशैमा गाउँ जानुको मेरो विशेष उद्देश्य दशै मनाउन मात्र नभएर आफ्नो गाउँ स्तरीय “फोकुल साँस्कृतिक महोत्सव–२०६८” लाई सम्पन्न गर्नु थियो जुन मेरो सपना, परिकल्पना र निर्देशनमा आयोजना हुन गईरहेको थियो। उत्सव, महोत्सवहरु सहरमा मात्र हुँदैनन् गाउँमै पनि गर्न सकिन्छ, कला र प्रतिभा महलमा मात्र होईन गाउँको झुपडीमा पनि हुन्छन्, योग्यता र क्षमता सहरीयहरुसँग मात्र होइन गाउँलेहरुसँग पनि हुन्छ भन्ने सन्देश नै यो महोत्सवको थियो। यो महोत्सवको तस्बिर खिच्न र समाचार संप्रेषण गर्न रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर लगायतका सयकडौ राष्ट्रिय क्षेत्रीय टेलिभिजनहरु र संचार माध्यमहरु फोकुल पुग्ने सम्भावना नै थिएन किनकी त्यहाँ पँजेरो र चिल्ला गाडी गुड्न सक्दैनन् त्यसैले नेपाल पर्याटन वर्ष २०११ को अबसरमा गारिब गाउँलेहरुले आयोजना गरेका “फोकुल साँस्कृतिक महोत्सव” को चर्चा कहि भएन त्यही पहाडकै कन्दरामा कराएको आवज झै हरायो।
अब भने विषय बस्तुमा झ्वाम्मै हामफाले…..। मेरो यात्रा ठयांग्रेङ्गै ११ गते घटस्थापनाको दिन धरानबाट सुरु भयो। विहान करिब ८/९ बजे मात्र ओछ्यान छोड्ने सुताहा म पाहोर सालको सिकाईले विहान ३ः३० बजे नै आफ्ना सहान बहान सहित बस स्टेण्डमा पुगे। यसपाली भाई, बुहारी, छोरा, नाती, भानाभान्जी लगायत ६/७ जना भान्टाङ भुन्टुङ समेत गरी १६ जनाको जम्बो टोली मेरो ग्यांगमा सामेल थिए। भाले नबास्दै बस स्ट्याण्डमा पुगेकाले कटारी जाने बस प्रयाः रित्तै थियो। हामीले छानी छानी सिट ध्याप्पै रोक्यौ र छयाप्पै बस्यौ। बिस्तारै बसमा अन्य यात्रुहरु पनि भरिए। साच्चै बस हवाई जहाज भन्दा पनि ठीक समयमा कटारी तर्फ गुड्कियो।
बसको गतिलाई हेर्दा यस पल्टको दशै यात्रा भने शुभ हुने संकेत देखियो। भीड पनि पोहोर सालको भन्दा केही कम नै थियो। डाइभर सावको छेउको बोनार्डमा दुईजना चिटिक्कै परेकी चेलीहरु बसेका थिए त्यसैले पनि गुरुजीलाई अलि बढी नै फुर्ती चढेको थियो। बस मिर्चैया पुगेपछि केही किलो मिटर के उकालिएको थियो बसको पछाडीको एउटा तालुखुईले टायरले सास छोडेछ। अघिसम्मको शुभ यात्राले अशुभ संकेत गर्यो। बल्ल बल्ला अर्को टायर फेरे पछि बस पुनः चुरे उकालो लाग्यो। चुरे डाँडा काटेर बस ओरालो लाग्नै लागेको थियो तलको घुम्तीबाट एउटा मोटरसाईकल फुत्त निस्क्यो। गुरुले पनि झ्याप्पै ब्रेक हान्यो, ठूलो आवाजको साथ बसको चक्का घुमाउने एक्सल ठनक्कै भाँचियो, बस ध्याच्चै रोकियो। थुइक्क ठाँडो…..। लौ पर्यो फसाद। यसपालीको यात्रा चै शुभ होला भनेको फेरी लोधर लाग्यो। डाइभर खलाँसीहरु मर्मतमा लागे। एक जना दालभुँडे यात्रु भन्दै थिए हामी भाग्यमानी रहेछौ धन्न उकालो र ओरालोमा गाडीको एक्सल भाँचेन। गाडी बिग्रेर हामी अलपत्र परिरहेका छौ दालभुँडे भन्छ हामी भाग्यमानी….? मलाई हुन सम्मको रनाह चलेको थियो तर किन छुचो हुनु भनेर चुप बसेँ।
बल्ल करिब २ घण्टामा गाडी त बन्यो तर त्यति भरोसिलो चाहि नभएको बुझियो। गुरुजी गाडी बनाउदा बनाउदा निक्कै बिच्केको थियो। बाटोमा ठीक साईट नछोड्दा एउटा गंगटे ट्रयाक्टरलाई झण्डै ठोकी हाल्यो धन्न्न्न…..।। कटारी पुग्न करिब ३ कि.मी जतिमात्र बाँकी थियो बस खोलाको बलुवामा ल्वात्तै भासियो। ल अर्को फसाद…। गाडी न्वरानको बल निकालेर अगाडि बढ्न खोज्छ डेग चलेपो। हे दशा…..।।। बसभरीको मानिसहरुले ठेल्दा ठेल्दा गाडि फेरी निस्कियो र हामीलाई टावा पुलमा लगेर अलपत्रै छोडिदियो। पुल नभएकोले र टावखोलामा पानी बढी भएकोले केही दिन देखि बसहरु खोला तर्न नसकी वारी नै रोकिंदा रहेछन्।
भएको कुम्लो कुतुरो र भान्टाङ भुन्टुङलाई लिएर म करिब १२ः३० बजे घुर्मी बस स्टेण्डमा पुगे। हरे…. बिजोग….। स्टेण्डमा बसको दुमो छैन। यात्रुहरु अलपत्रै छन्। बुझ्दा अस्ति घुर्मी गएका बसहरु पानी परेर बाटो भत्किएर उतै थुनिएका रहेछन्। यता बाँकी रहेका थोरै बसहरु पनि बिहान यात्रु बोकेर गएका अझै फर्किएका रहेन छन्। सबैमा छिटो घर पुग्नु पर्ने छटपटी छ। मेरो त झन् १३ गते बेलुका सम्म त घर पुग्नै पर्ने वाध्यता छ। १४ गतेदेखि महोत्सव सुरु छ महोत्सवको स्टेज व्यानर देखि अन्य अत्यावश्यक सामग्रीहरु मसँगै छ। टिकट काउन्टर बन्द नै भए पनि बा टिकट खुली हाल्छ कि भनेर मानिसहरु अहिले देखि नै ठेलाम ठेल पेलाम पेल छ। त्यहाँ राज्यको उपस्थिती कही छैन, न पुलिस, न ट्रफिक। यो कस्तो देश हो गाँठे…? मलाई असाध्यै छटपटी भो। केही उपाय निस्कि हाल्छ कि भनेर म यताउता भौतारिएँ। त्यहाँ सामानहरु, खसी बाख्राहरु बोक्ने जीपहरु चाहि २,४ वटा यताउता गरिरहेका, कोही थन्क्याईएका थिए। मैले ति जीपहरु जाँदैनन भनेर एकजना जीप चालकलाई सोधे। जाने नि.. तर बसवालाहरुले जान दिंदैनन् के गर्नु? तपाईहरुले मिलाउनु हुन्छ भने त लगि हाल्छु उनीहरुलाई भनेर मिलाउनुहोस् न, भन्ने जवाफ पाए पछि भने म अलि आशावादी बने। जीपमा १५ देखि १८ जनासम्म लान सक्ने र भाडाको मोलमोलाई समेत फिक्स भो तर चाहियो बसवालाहरुको तथास्तु….।।।
त्यहाँ बसवालाहरुको दादागिरी र मनपोली रहेछ। मैले चिनेको तर उसले खासै मलाई नचिनेको एक जना चुस्स दाह्रीभएको भाईलाई आफ्नो महासमस्य देखाउदै बिन्ति बिसाएँ, जसरी हुन्छ खुसुक्कै मिलाईदिन दश औला जोडे। अन्तमा ति भाइले अन्य गाडीवालाहरुसँग पनि खुसुक्कै भित्री दामासाही मिलाए पछि मेरो ग्रुपलाई सुटुक्कै तल आउन इसारा गरे। मेरो ग्रुपसँगै केही चलाख यात्रुहरुले पनि दाउमारी हाले। भान्टाङ भुन्टुङ र त्यत्रो सामानसँग पनि जीपमा चढ्न हामीलाई ४ मिनेट भन्दा बढी समय लागेन अरु यात्रुले थाहा पाउदा नपाउँदै जीप हुरुरु कुदिगो। उनीहरु हेर्या हेर्यै भए। यति बेला भने मैले महाभारतको युद्ध जीते झै महसुस भयो। बिचरा अन्य यात्री…..।।। थुक्क स्वार्थी म…। जीप साच्चै गजब्बले कुद्यो। गुरुजीले पनि २ घण्टमै घुर्मी पुर्याउछु भनेर गफ हाकिहाले। मलाई लाग् यो अबको यात्रा शुभ छ तर जीप उकालो लागेर जंगलको बाटोलाई छिचोल्दै थियो गाडीहरको त त्यहाँ पो ताँती देखियो। एउटा बडेमानको सामान बोक्ने टडक बिग्रेर बाटोमा साँढे झै लम्पसार पसारिएको रहेछ। हरे शिव…..।।। टडकलाई ठेल्ने ठाउँ पनि थिएन पेल्ने ठाउँ पनि थिएन। अब के गर्नु। फेरी लोधर सुरु भो। अब कुर्नुको बिकल्प थिएन। मलाई यो बाटोको अवस्था, बेथिति, समस्य सम्झेर औडाहा चलेर आयो। क्वा…क्वा…रुन मन लाग्यो। धन्न हामी पुगेको करिब ४० मिनटमा टडक बनेछ। यात्रुहरु बाटो खुल्यो खुल्यो भन्दै आफ्नो सवारी साधनमा चढे। बिस्तारै गाडीहरु वारपार भए। हाम्रो जीप पनि अगाडि बढ्यो। बिहान हिंडेका बसहरुलाई हामीले टप्यौ फेरी हामी भाले भयौ।
घुर्मी पुग्न करिब २ कि.मि.बाँकी थियो हाम्रो जीप ध्याच्चै रोकियो। त्यही ठाउँमा बाटो बिग्रेकाले बसहरु घुर्मीमै रोकिएर बस्न परेको रहेछ तर ४ व्हील गियर भएका जीपहरु भने त्यो दलदललाई पार गर्न सक्दो रहेछन्। गुरुजीले त्यहाँबाट जीप लान मान्नु भएन। केही बेर डिस्कस पनि भो। हामीले अनेक बिन्तिभाउ बिसायौ तर गुरु पाग्लिएन। अब चुनौतीसँग त सामना गर्नै पर्ने भयो। हामीले जीपबाट सामानहरु र भान्टाङ भुन्टुङलाई ओराल्यौ। हाम्रा सामान बोकी दिन त्यहाँ हुरुरु भरियाहरु जम्मा भए र हाम्रो झोलाहरु उचाल्दै भाग पो लगाउन थाले बाबै…। गजब सुबिधा त त्यहाँ पो रहेछ। बोकेको कति दिनु पर्ने भनेर सोध्दा पो हामी झस्क्यौ बस स्टेण्डसम्म लगेको सामान हेरी घटीमा ४०० अरे। हे सिटामोल…। आफै बोकेर नसकिने सबै सामान भरियालाई बोकाउने हो भन घर नपुगी घुर्मी देखि फर्कन पर्ने स्थिति देखियो। अन्तमा निकै मोल तोलाई पश्चात एक जना अलि बलियो भाईलाई ३ पोका भारी जम्मा ३०० मा मिलाएर बोकाई बाँकी क्षमता अनुसारको भारी बोकी हामी शुभयात्रामा निस्क्यौ। करिब १ घण्टा ३० मिनेटको यात्रा पश्चात लात्राक लुत्रुक गलेर हामी बस स्टेण्डमा पुग्यौ। ठीक जैराम जाने बस लागि रहेको रहेछ तर बसमा सिट चाहि रहेछ खाली चाही रहेन छ। जसरी पनि जानै पर्ने भो। काउण्टरमा चिनेकै भाई रहेछ मैले केटाकेटी छन् लौ न भाई जसरी हुन्छ २,३ वटा भए पनि सिट मिलाई दिनु पर्यो भनेर बिन्ति गरे। भाईले हुन्छ त भने तर राजनितिक पार्टीका नेताको हुन्छ जस्तै भो कार्यन्वयन भएन। भित्र ठाउँ नभए पछि भाईहरु छतमा के चढेका थिए एक जना निकै खाईलाग्दा दादा स्टाईलका गाडी स्टाफले थर्काए…माथि पटक्कै हुँदैन तल झर्नुहोस्….मलाई अटेर गरेको पटक्कै मन पर्दैन है….।। झरी हाल्नुहोस्….फेरी नराम्रो होला…..।।। ए बाफरे कस्तो शासन हो यो आफ्नै घुरेनमा…..? राम्ररी मीठो बचनले सम्झाए पनि त हुन्छ नि हौ गाँठे…। साँझको ६ बज्नै लाग्यो गाडि हिड्दैन त। बस भरी मान्छे छन् तर पैसा पुगेन अरे। सप्पैले २०/२० रुपैया थपेमा बस जान्छ नत्र जाँदैन भनेर गाडीवालाहरुले घुर्की देखाए। यात्रुहरुले बिरोध गर्न खोज्दा उल्टै उनीहरुले थर्काए। अन्तमा हामी बबुरो यात्रुहरुले फेरी २०/२० रुपैया लुरुक्कै बुझाए पछि बल्ल बस गुड्यो। २०/२० रुपैया थपे पछि भने हुडमा गएर बस्ने अनुमति पनि मिल्यो। अघि हुड माथि चाहि हुँदैन है नत्र…भनेर हुकुम गर्नुहुने दादा नै सो बसको डाईभर साहेब हुनुहुँदो रहेछ। बस राती ८ बजे जैराम पुगेर रोकिए पछि भने २०६८ सालको पीडादायक मेरो दशै यात्र सकियो तर अघि दिउसो कटारीमै अलपत्र भएर बसेको यात्रुहरुको दशै यात्रा कस्तो भयो कानी? दशै तिहार जस्ता चाडको बेला सिद्धिचरण मार्गमा यात्रा गर्ने यात्रुहरुको यो पीडा अझै कति बर्ष यथावत रहने हो?…..??….??? यो बेथितिलाई नियन्त्रण गर्न राज्यको ध्यान कतिबेला पुग्ने हो……….?…………..???…….???
मेरो यो यात्रा संस्मरण सिद्धिचरण श्रेष्ठको बन्न सक्दैन, माधव प्रसाद घिमिरेको बन्न सक्दैन, कान्तिपुर टेलिभिजनको भूषण दाहालको बन्न सक्दैन त्यसैले यस संस्मरणले केही अर्थ राख्दैन, कसैलाई दुख्दैन तथापि लेखी हालेँ। अर्को साल यसरी फेरि लेख्न नपरोस्। हस् बिदा।
(स्रोत : Mysansar.com)